बलिउडको चर्चित फ्रेन्चाइजी फिल्म 'डन' को तेस्रो शृंखला 'डन ३' को छायांकन विभिन्न कारणले ढिला हुँदै आएको छ।
यस फिल्मबाट अभिनेता शाहरूख खान बाहिरिएपछि अभिनेता रणवीर सिंहलाई अनुबन्ध गराइएको थियो।
अब यो फिल्मबाट रणवीर पनि बाहिरिएको खबरहरू आएका छन्। उनको बहिर्गमनपछि यसको मुख्य भूमिकामा को हुने भन्ने चर्चा यतिबेला छ।
मुख्य भूमिकाका लागि अहिले हृतिक रोशनतर्फ निर्माताको ध्यान केन्द्रित भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। समाचारअनुसार हृतिकलाई ‘डन’ को प्रतिष्ठित भूमिकामा ल्याउने सम्भावना सुरूका चरणमा छलफल भइरहेको बताइएको छ। यद्यपि, अन्तिम निर्णय अझै निश्चित भएको छैन।
फिल्मफेयरले एक स्रोतलाई उद्धित गर्दै लेखेको छ, 'रणवीरको बहिर्गमनपछि ऋतिक भूमिकाको लागि एक बलियो दावेदारको रूपमा देखा परेका छन्। छलफलहरू अझै धेरै प्रारम्भिक चरणमा छन्। ऋतिकले काम गर्छन् कि गर्दैनन्, यो हेर्न रोचक हुनेछ।'
यो फ्रेन्चाइजको मुख्य पात्रका लागि सक्षम, अनुभवी र स्टारडम भएको कलाकारको खोजीमा निर्माता देखिन्छन्। किनकि यस पात्रको इतिहास लामो छ। मूल सन् १९७८ को फिल्ममा अमिताभ बच्चनले भूमिका निर्वाह गरेका थिए भने सन् २००६ को 'डन' र २०११ को 'डन २' मा शाहरूख खानले अभिनय गरेका थिए।
मिडिया रिपोर्टअनुसार रणवीरले 'धुरन्धर' को ठूलो सफलतापछि 'डन ३' छाडेको बताइएको छ। निर्माता वा अभिनेता दुवैले भने यसबारे आधिकारिक पुष्टि गरेका छैनन्। रणवीरले जय मेहताको आगामी फिल्म प्रलयमा आफ्नो ध्यान केन्द्रित गरिरहेको बताइएको छ।
फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म 'डन ३' निर्माण घोषणासँगै चर्चामा छ।