बलिउडमा अहिले फरहान अख्तरको फिल्म 'डन ३' को पात्र चयनसँग सम्बन्धित अड्कलबाजीहरू चर्चामा छन्।
रणवीर सिंह यो फिल्मबाट बाहिरिएपछि उनको ठाउँमा अभिनेता ऋतिक रोशन देखिने चर्चा थियो। तर ऋतिकले यो अफवाह मात्र रहेको बताएका छन्। भेराइटी इण्डियासँगको कुराकानीमा उनले 'डन ३' का लागि आफूलाई कहिल्यै सम्पर्क नगरिएको बताएका हुन्।
ऋतिकले मिडियामा फैलिएको यस किसिमको जानकारी भ्रामक र निराधार रहेको बताएका छन्। यसले कलाकारहरूमा अनावश्यक भ्रम सिर्जना गरेको उनको भनाइ छ।
ऋतिकले भनेका छन्, 'म स्पष्ट पार्न चाहन्छु कि मलाई कुनै पनि समयमा 'डन ३' को लागि सम्पर्क गरिएको थिएन। म मिडियालाई त्यस्ता कुनै पनि अप्रमाणित रिपोर्टहरूबाट टाढा रहन अनुरोध गर्दछु।'
'डन' (२००६) र शाहरुख खानसँग 'डन २' को ठूलो सफलतापछि निर्माताहरूले रणवीर सिंहसँग 'डन ३' को घोषणा गरे। तर 'धुरन्धर' को ठूलो सफलतापछि रणवीर निर्देशक जय मेहतासँग आफ्नो आगामी फिल्म 'प्रलय' मा केन्द्रित हुन 'डन ३' बाट अलग भएको बताइएको छ।