भारतीय निर्देशक एस.एस राजामौलीको बहुप्रतिक्षित फिल्म 'वाराणसी' को कथावस्तु (प्लट) लिक भएको छ।
एक भिएफएक्स कम्पनीले सार्वजनिक गरेको विवरणमार्फत फिल्मको कथाबारे जानकारी बाहिर आएको हो।
विवरणअनुसार फिल्म एक समय यात्रा (टाइम ट्राभल) मा आधारित साहसिक कथा हो। कथामा एक भगवान शिवका भक्तले अपार शक्ति भएको ब्रह्माण्डीय वस्तुको खोजीमा समयको विभिन्न चरणहरूमा जोखिमपूर्ण यात्रा गर्छन्। यस क्रममा उनी प्राचीन रहस्यहरू उजागर गर्दै जान्छन्। कथाले पछि मोड लिँदै देखाउँछ कि उनलाई उक्त यात्रामा पठाउने शक्ति नै विश्व नियन्त्रण गर्ने योजनामा लागेको एक खतरनाक योजनाकार हुनसक्छ।
भारतीय संचारमाध्यमका अनुसार प्रसिद्ध भिजुअल इफेक्ट कम्पनी सिनेसाइटले सार्वजनिक गरेको सिनोप्सिसमार्फत कथा लिक भएको हो। कम्पनीले राजामौलीको फिल्मलाई आफ्नो पोर्टफोलियोमा थप्दै फिल्मको कथाका मुख्य तत्वहरूको छोटो विवरण साझा गरेको जनाइएको छ। यद्यपि, कथाबारे निर्माण टिमले अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन।
फिल्ममा महेश बाबु 'रूद्र' नामक पात्रको भूमिकामा देखिनेछन्। प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन पनि मुख्य भूमिकामा देखिनेछन्। पृथ्वीराज खनलायकको भूमिकामा देखिने बताइएको छ।
'वाराणसी' फिल्ममा भारतीय पौराणिक कथा, समय यात्रा र ग्लोबल एड्भेन्चरको मिश्रण देखिने अनुमान गरिएको छ।
यो मेगा–बजेट फिल्मको पहिलो झलक नोभेम्बर २०२५ मा सार्वजनिक भएको थियो। त्यसबेलादेखि फिल्मबारे अनुमानहरू गरिँदै आएका छन्।
एसएस राजामौली 'बाहुबली' र 'आरआरआर' जस्ता सुपरहिट फिल्महरूका लागि परिचित छन्, त्यसैले दर्शकहरूले 'वाराणसी' बाट पनि उच्च अपेक्षा राखेका छन्।
यो फिल्म सन् २०२७ मा प्रदर्शन हुने जनाइएको छ।