अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेका पाँच जना पूर्वमन्त्रीमध्ये दिपकचन्द्र अमात्य पनि एक हुन्।
विशेष अदालतमा आइतबार दायर मुद्दामा पूर्वमन्त्री अमात्यमाथि के अभियोग लगाइएको छ त?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन अध्यक्ष अमात्यले आफ्नो पद तथा ओहोदा दुरूपयोग गरी कुनै पनि बोलपत्र सारभूत रूपमा प्रभावग्राही नभएको भनी मूल्यांकन समितिको प्रतिवेदन प्राप्त हुँदासमेत कानुनी रूपमा रद्द नगरेको अभियोगपत्रमा छ।
अभियोगपत्र अनुसार उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिमार्जित लागत तथा डिजाइन अनुसार कार्यान्वयन गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने भनी २०७१ कात्तिक ९ गते निर्णय गरी प्रस्ताव समेत पेस गरेका थिए।
उनले आफ्नो तहबाट निर्णय प्रक्रियामा संलग्न भई प्रक्रिया अघि बढाउँदा जानीबुझी बदनियत राखेर चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङलाई लाभ हुने गरी अस्वाभाविक रूपमा मूल्य बढाउने काम गरेको अभियोगपत्रमा उल्लेख छ।
यसरी प्रस्तुत मुद्दामा पूर्वमन्त्री अमात्यको कसुरका आधारमा बोलपत्र आह्वान गर्दाको बखत स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख अमेरिकी डलरभन्दा अस्वाभाविक रूपमा बढेर २४ करोड ४० लाख डलर कायम गरी खरिद सम्झौता गरिएको अभियोगपत्रमा उल्लेख छ।
यो भ्रष्टाचार प्रकरणमा पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ।
भ्रष्टाचार मुद्दा दायर भएका पूर्वमन्त्रीमा पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्य छन्।
विशेष अदालतमा आइतबार दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ बिगो कायम गरिएको छ।