तिहारको समय छ। यो चाडमा काग, कुकुर, देवी लक्ष्मी, गाई, गोरू, आफ्ना दाजुभाइ र आफू स्वयंलाई पूजा गरिन्छ। झलमल्ल बत्ती बालेर घर उज्यालो पारिन्छ।
लिम्बू समुदायकी मिजोकको घरमा तिहार छैन। चाडको यो सबै रौनक नभए पनि मन उज्यालो छ। किनभने, उनी बुबा र फुपूसँग पूर्वी जिल्ला इलामको फिदिम जाँदैछिन्।
लेखक निरञ्जन कुँवरले उनको यात्रा समेटेर किताब लेखेका छन् — मिजोक ट्रिप।
सान्द्रा पब्लिकेसनबाट प्रकाशित यो किताबको नामले नै भन्छ — यसको विषयवस्तु मिजोक नामक पात्रले गरेको एक यात्राबारे छ।
निरञ्जनले यो किताब ८ देखि १२ वर्ष उमेर समूहका केटाकेटीका लागि लेखेका हुन्। किताब मिजोक नामक बालिकाले आफूलाई अनि आफ्नो जरा अर्थात् समुदाय चिन्दाको कथा हो।
मिजोकको पितापुर्खाको जन्मथलो हो फिदिम।
त्यहाँ उनले सुम्जिरी मन्दिर र किरात समुदायका महागुरू फाल्गुनन्दबारे थाहा पाउँछिन्। त्यहाँको समुदाय अनि राजनीतिबारे धेरैथोरै बुझ्छिन्।
अनि सबभन्दा बढी आफूलाई चिन्छिन्।
मिजोकलाई फुटबल खेल्न मनपर्छ। तर नयाँ समुदायका केटाहरूले उनलाई खेल्न दिँदैनन्। त्यो कुरा उनको अवचेतन मन हुँदै सपनामा झल्किन्छ।
यात्रामा उनले दुइटा सपना देख्छिन् जसमा फाल्गुनन्द महिला स्वरूपमा हुन्छन्।
पहिलो सपनामा महिला फाल्गुनन्दले फुटबल बोकेकी छन् भने दोस्रोमा जर्सी र मिजोकलाई मनपर्ने सुन्तला रङको स्ल्याक्स लगाएकी छन्।
फिदिमबाट झापाको बिर्तामोड, सुनसरीको इटहरी हुँदै धनुषाको जनकपुर घुमेर मिजोक बुबा र फुपूसँग काठमाडौं फर्किन्छिन्।

यो यात्राले उनलाई आफ्नो पितापुर्खाको जन्मथलो र महागुरूसँग त नजिक बनाउँछ नै, आफैसँग र आफ्नो मनपर्ने खेल फुटबलसँग पनि नजिक बनाउँछ।
लेखक निरञ्जन कुँवरलाई पहिलो पटक मैले उनको आत्मसंस्मरणात्मक किताब 'बिटविन क्वीन्स एन्ड द सिटिज' मार्फत चिनेकी थिएँ। यो किताब उनले आफूलाई चिन्दा र चिनाउँदासम्मको कथा हो।
निरञ्जन समलिंगी हुन्। १८ वर्षको हुँदा इन्टरनेटमार्फत उनले आफ्नो यौनिक पहिचानबारे थाहा पाएका थिए। जहाँ–जहाँ उनी पुगे, त्यो ठाउँ अनि त्यहाँ भेटिने मान्छे र भोगाइलाई समेटेर उनले उक्त किताब लेखेका हुन्।
करिब पाँच वर्षपछि बालबालिकाको किताब निकाल्दा पनि आफूलाई चिन्ने 'थिम' लाई उनले निरन्तरता दिएजस्तो देखिन्छ।
निरञ्जनलाई मानिसको सम्पूर्ण जीवन नै आफूलाई चिन्ने प्रयत्नमा बित्छ भन्ने लाग्छ। जसरी एक दिन उनले आफू समलिंगी हो भनेर चिने, त्यसरी नै आफूलाई साहित्य अनि लेखनप्रति झुकाव भएको थाहा पाए।
सुरूमा 'ललित' नामक पत्रिकामा 'चार्ली चौलागाईं' नामबाट आफ्ना लेखहरू छपाउने निरञ्जनले किताब 'बिटविन क्वीन्स एन्ड द सिटिज' पछि आफ्नो नाममा लेख्न थालेका हुन्।
हाल उनी विभिन्न पत्रिकामा रिपोर्ट, लेखहरू लेख्छन्। लेखक अमर न्यौपानेको किताब 'सेतो धर्ती' अंग्रेजीमा अनुवाद पनि गरिरहेका छन्।
निरञ्जनलाई सानैदेखि साहित्यप्रति झुकाब थियो। यसलाई मलजल गर्ने काम कक्षा १२ पछि भयो। यसमा पनि अमेरिका बसेर पढ्दाको क्षणलाई उनी विशेष मान्छन्।
'म पढेको अमेरिकाको कलेजमा लिबरल तरिकाको पढाइ थियो। नेपालमा कक्षा १२ पुगेपछि नै विज्ञान कि व्यवस्थापन विषय पढ्ने भन्ने तय हुन्छ। तर अमेरिकामा आफ्नो रूचि पर्गेल्नुपर्छ भन्ने धारणा थियो,' उनले भने, 'त्यहाँ परीक्षा बरू वैकल्पिक थियो, इन्टर्नशिप भने गर्नैपर्ने नियम थियो।'
त्यहाँको पढाइले नै निरञ्जनले कलेजको शिक्षा विद्यार्थीलाई 'कम्फर्ट जोन' बाट बाहिर आउने माध्यम हुनुपर्ने बुझे।
उनले बुझेको अर्को कुरा हो — विद्यार्थीहरूले किताबी ज्ञानसँगै प्रदर्शनीहरू चहार्नुपर्छ। फिल्म अनि नाटकहरू हेर्नुपर्छ। सिर्जनशील गतिविधिमा सहभागी हुनुपर्छ।

'ममा कलेजको शिक्षाको प्रभाव अझै छ। त्यही प्रभावका कारण आफूलाई के कुरामा चासो रहेछ भन्ने कुरा मैले राम्ररी महसुस गर्न सकेको हुँ,' उनले भने।
त्यही शिक्षाको प्रभावले निरञ्जनलाई नेपालमा प्रशिक्षकका रूपमा काम गर्न प्रेरित गरेको हो। निरञ्जनले १९–२० वर्षको हुँदा नै चार–पाँच वर्षका बालबालिकासँग प्रारम्भिक बाल केन्द्रमा काम गर्ने मौका पाएका थिए।
नेपाल फर्किएपछि उनी अमेरिकी दूतावासको 'बुक बस' कार्यक्रममा जोडिएका थिए। त्यस अन्तर्गत सरकारी एवं सामुदायिक स्कुलसँगको सहकार्यमा उनी काम गर्थे।
हाल विशेषगरी निजी स्कुलका शिक्षकहरूलाई उनी लेखनबारे साताको एक पटक प्रशिक्षण दिन्छन्। विद्यार्थीहरूलाई पनि आख्यान र गैर–आख्यान लेखनबारे तालिम दिन्छन्। कलेजका विद्यार्थीहरूको पढ्ने बानी विकास गर्नुका साथै लेखन शिल्प विकास गर्न कार्यशाला चलाउँछन् र छलफल गर्छन्।
'म कक्षाकोठामै गएर विद्यार्थीहरूलाई लेखनबारे डेमो (नमूना प्रस्तुति) दिन्छु। दुई–तीन वटा फरक कथाहरूमा हामी महिनौं काम गर्छौं,' आफ्नो प्रशिक्षण तरिकाबारे उनले जानकारी गराए।
विद्यार्थीसँगको काम र संगतले नै निरञ्जनलाई बालकिताब लेख्न प्रेरित गरेको हो। तर गैर–आख्यानका लेख र रिपोर्टहरू लेख्ने उनलाई आख्यान लेख्न सक्दिनँ कि भन्ने लागेको थियो। लेख्दै जाँदा रस बस्दै गयो।
'अब म मिजोकको अर्को सिक्वेल लेख्छु होला,' उनले भने।
आख्यान लेख्ने चुनौतीसँगै निरञ्जनले लिएको अर्को चुनौती आफ्नो भन्दा एकदम फरक लिम्बू समुदायको कथा लेख्नु हो।
न उनी त्यो ठाउँ पुगेका छन्, न त्यहाँको समुदायसँग धेरै घुलमिलमा छन्। सो समुदायबारे बुझ्न उनलाई रिपोर्ट र लेखहरूले सहज बनायो। उनले लेख्दा पात्रहरूलाई पनि सामान्यीकरण गरेका छैनन्।
अलिना छन्त्यालको 'इलुस्ट्रेसन' हेर्दा पनि त्यो कुरा देख्न सकिन्छ।
मिजोक केटी हुन् तर उनको कपाल किन छोटो? मिजोककी आमा कहाँ छिन्? के फाल्गुनन्द महिला हुन सक्दिनन् — यस्ता कुरा उनले खुला नै छाडेका छन्।
लिम्बुवान कस्तो समुदाय हो, त्यहाँको सामाजिक–राजनीतिक अवस्था कस्तो छ — यो जान्ने कुतूहलता पनि किताब पढ्ने बालबालिकालाई जाग्ला!
'साना बालबालिकालाई आफ्नै देश, समुदाय अनि मानिसहरू चिनाउने किताबहरू धेरै छैनन्। भए पनि धेरैजसो नेपालीमा छन्। आजकालका अधिकांश बालबालिका अंग्रेजी बोल्छन्, पढ्छन्। उनीहरूले किताब पढ्न खोजे भने पनि विदेशका पढ्नुपर्छ,' निरञ्जनले भने, 'त्यसैले यो किताबले केही हदसम्म त्यो अभाव पूर्ति गर्ला। स्कुलबाट लगिने शैक्षिक यात्रामा पूर्व नै जाँदै हुनुहुन्छ भने त्यस ठाउँ र त्यो समुदाय धेरैथोरै बुझ्न यो यो किताबले सघाउला।'
'मिजोक ट्रिप' पढेर बालबालिकाले आफ्नो ज्ञानको दायरा फराकिलो बनाउन सक्छन्। मिजोकबाट प्रेरित भएर पितापुर्खाको घर जान सक्छन्। आफ्नो जरा चिन्ने र बुझ्ने अवसर पाउन सक्छन्।
