'डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता २०८२' का लागि कथा आह्वान गरिएको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो।
नेपालको कथा लेखन प्रतियोगिताको सबभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा कात्तिक ३० गतेसम्म कथा पठाउनुपर्नेछ।
'सम्पूर्ण प्रतियोगीहरूले 12Kharibooks@gmail.com मा इमेल गरेर कथा पठाउनुपर्नेछ,' विज्ञप्तिमा उल्लेख छ, 'नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्नेछन्।' कथा लेखनको सम्वद्र्धन र प्रवद्र्धनमा बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।
सातौं बाह्रखरी कथा प्रतियोगिता २०८२ को निर्णायक समूहमा नाट्यकर्मी तथा साहित्यकार श्री अशेष मल्ल छन् भने सदस्यहरूमा वरिष्ठ कथाकार श्री मञ्जु काँचुली तथा कथाकार श्री अभय श्रेष्ठ छन्।
बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा आन्तरिक समूहले छाट्ने काम गर्नेछ। आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ।
ती कथाहरूमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै 'उत्कृष्ट कथा २०८२' पुस्तकका लागि थप २२ समेत गरी २५ कथा छानेर पठाउनेछ। निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ। अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रूपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। यो पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो। संग्र्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रूपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ।
यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८२ पुस दोस्रो सातासम्ममा सार्वजनिक गरिनेछ।