धेरैलाई सुन्दा आश्चर्य लाग्ला कसैकी श्रीमती भइसकेकी व्यक्ति कसरी पहिलो जन्मदिन मनाउन गइरहेकी छिन् भनेर! हो, सबैको आश्चर्य लाग्ने घटनापछिको नयाँ जीवनपछिको पहिलो जन्मदिन मेरी श्रीमतीका लागि जीवनकै पहिलो जन्मदिन हुन पुगेको छ।
एउटा कहालीलाग्दो दुर्घटनामा चमत्कारिक ढंगबाट बँचेकी मेरी श्रीमती सुजाता पोखरेलको मैले पहिलो जन्मदिनका रूपमा शुभकामना दिने अवसर पाएको छु। घटना हो, २०८२ जेठ ३१ गतेको। म पेसाले पत्रकारिता गर्ने भएकाले घरपरिवारभन्दा बढी समय पेसा र समाजका लागि दिने गर्दछु। श्रीमती शिक्षिका हुन्। उनी विद्यावारिधि गर्दैछिन्। जसका कारण काठमाडौँ जाने आउने क्रम चलिरहन्छ।
यसै क्रममा जेठ ३० गते उनी काठमाडौँ जानु पर्ने भयो। मसँगै जान नसक्ने भएपछि साथी छोरा सक्षम लिएर उनी काठमाडौँ गइन्। आफ्नो काम सकेपछि उनीहरू फर्किने तयारी गर्दै थिए। म नेपाल पत्रकार महासंघ बागमती प्रदेश महिला पत्रकारहरूको कार्यक्रम सकेर भरतपुरको एक होटलमा चिया पिउँदै थिए। मसँगै निकुञ्ज विभागका तत्कालिन महानिर्देशक डा. रामचन्द्र कँडेल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित र उहाँका श्रीमान् तथा पत्रकार साथी तिलक रिमालसँगै थियौँ। त्यही क्रममा दिउँसो ३ बजेतिर छोरा सक्षमले हामी माइक्रो बस चढ्यौँ भनेर फोन गर्यो।
मैले चिया पिएर सक्न नपाउँदै उसको फेरि फोन आयो। यो फोनले मलाई जुरुक्क उठायो। छोरो भन्दै थियो, 'बाबा! हामी आएको माइक्रो भिरमा खस्यो, रुखमा अड्किएको छ। हामी गाडीभित्रै छौँ।' मैले छोराका सबै कुरा सुन्न सकिनँ। त्यहाँ भएका साथीहरूसँग बसिरहेको ठाउँबाट उठेर, के गर्ने कसो गर्ने भन्ने अन्यौलमा परेँ। सुरुमा तत्कालीन प्रहरी महानिरीक्षक दीपक थापालाई टेलिफोन गरेर उद्धारका लागि अनुरोध गरेँ।
यही क्रममा बसिरहेका अन्य अग्रजहरूलाई घटना विवरण सुनाएर साथी तिलक रिमाललाई लिएर काठमाडौँ जान घरतर्फ लागेँ। होटलबाट निस्किँदै गर्दा गेटैमा व्यवसायी विनोद पोखरेल भेटेँ। उहाँसँग केही रकम मागेर म घरतर्फ लागेँ। म मेरो गाडीमा र पछिपछि तिलकजी आफ्नो स्कुटरमा आउँदै हुनुहुन्थ्यो। यो बीचमा मैले बुद्ध एयरको काउन्टरमा टेलिफोन गरेर, म काठमाडौँ जान आउँदै छु भनेको थिएँ। जहाज पाँच मिनेटपछि ल्यान्ड हुन्छ भनिएको थियो, यो यहाँबाट जाने अन्तिम जहाज थियो। जहाजको अतिरिक्त टिकट थिएन। मैले जसरी पनि जानु पर्यो भनेर अनुरोध गरेपछि ‘हुन्छ आउनुहोस्’ भनेका थिए। घर जाँदै गर्दा मैले मेरो जेठीसासूको छोरा सचेत सुवेदी काठमाडौँबाट फर्किँदै गरेको थाहा पाएर फोन गरेँ। ऊ श्रीमतीसँगै मुग्लिन नजिक आइपुगेको थियो। एकै सासमा घटना विवरण सुनाएँ र माइक्रोबाट झरेर फर्किन भनेँ।
घरमा आएर गाडी राखेर तिलकजीलाई विमानस्थल छोडिदिन भनेँ। म पुग्दै गर्दा जहाजका सबै यात्रु चढिसकेका थिए। म हतार-हतार जहाजमा चढेँ। त्यति बेला मलाई छोराको फोन आयो, ‘बाबा, हामी आर्मी अस्पताल जाँदै छौँ।’
जहाज उड्यो। त्यही क्रममा मैले धेरै कुरा सोच्न पुगेँ। त्यहाँ भन्ने मान्छे कोही थिएनन्, न त सुन्ने नै थिए। छट्पटिनु बाहेक मसँगै कुनै विकल्प थिएन। जहाज काठमाडौँमा ल्यान्ड हुँदै गर्दा फेरि छोराको फोन आयो, ‘बाबा, हामी सशस्त्र प्रहरी अस्पताल पुग्यौंँ।'
त्यसपछि मैले सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक तीर्थ पौडेललाई फोन गरेर सहयोग मागेँ। त्यति नै बेला इञ्जिनियर साकार लामाको फोन आयो। उनलाई पनि मैले घटना विवरण सुनाएँ। अरू केही साथीहरूसँग पनि कुरा गर्दै थिएँ, केहीबेरमा जवाफ आउन थाले। सोध्ने र बुझ्नेहरूले छोरालाई ठिकै छ, सुजाताको टाउकोमा गम्भीर चोट छ भने। म झन आत्तिएँ। जहाजपछि विमानस्थलमा गाडीबाट झरेर पठाओमार्फत् मोटरसाइकल बुक गरेँ।
विमानस्थलबाट अस्पताल टाढा थियो। बिदाको दिन भएर सडक खाली थियो। त्यतिबेला श्रीमती र छोराको फोटो प्रहरी महानिरीक्षक दीपक थापाले पठाइसक्नु भएको थियो। त्यो हेर्दै र चिनजानकालाई फोन गर्दै म अस्पताल पुगेँ। त्यहाँ पुग्दा श्रीमती अचेत अवस्थामा लडिरहेकी थिइन्, टाउकोमा लामो चोट देखिन्थ्यो। मैले उनको टाउको सुम्सुम्याएँ। उनले आँखा हेरिन्। मेरो आँखाभरि आँसु भयो। उनले देख्छिन् कि भन्ने डरले पछाडि फर्किएर आँसु पुछेँ। उनले आँखा बन्द गरिन्। त्यसपछि म छोरालाई खोज्न सिटीस्क्यानतर्फ गएँ। त्यहाँ सुजाताका दिदी र छोरी पुगिसकेका थिए।
छोरा सचेतको सासू र सालो पनि आइसक्नु भएको रहेछ। उहाँहरूले आमाछोरालाई आवश्यक सहयोग गरिरहनु भएको थियो। छोराको खुट्टा सुन्निएको थियो। निकै आत्तिएको थियो। ऊ आफूलाई भन्दा पनि ममीलाई के हुने हो भन्ने चिन्तामा देखिन्थ्यो। म पुग्नासाथ उसले भन्यो, 'ममि भेट्नु भयो?' मैले भेटेँ नआत्तिए भनेँ। त्यसपछि म छोरालाई त्यही छोडेर सुजाता भएको तिर गएँ।
सिटी स्क्यानको रिपोर्टको कुराइमा चिकित्सक थिए। म सिधा उभिन नसकेर बेडको छेउमा समातेर बसेँ। त्यति नै बेला टाउकोको सिटीस्क्यानको रिपोर्ट आयो। त्यसलाई फोटो खिचेर मैले डा. हरिश्चन्द्र न्यौपाने र तिलक रिमाललाई पठाएँ। त्यहाँ पनि चिकित्सकहरूले हेरिरहनु भएको थियो। केही बेर हेरेपछि चिकित्सकले टाउको भित्र रगत नछिरेको र भित्री चोट नरहेको बताउनुभयो। यसले मलाई निकै हल्का बनायो। त्यसपछि डा. हरिश्चन्द्र दाइको फोन आयो। उहाँले पनि त्यही कुरा भन्नुभयो। तिलक जी र डा. कुमार पौडेलले पनि यही कुरा बताएपछि म भित्री चोट नभएकोमा बाहिरी चोट निको हुनेमा ढुक्क भएँ।
केहीबेरमै चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिश्चन्द्र न्यौपाने आइपुग्नु भयो। त्यसको केही बेरमा सुजाताको खुट्टाको सिटीको रिपोर्ट आयो। रिपोर्ट त्यहीका चिकित्सकले हेरिरहनु भएको थियो। छेउमै उभिएर डा. हरिश्चन्द्रले पनि रिपोर्ट हेर्नुभयो। त्यहाँका डाक्टरले भाँचिएको शंका गरेर प्लास्टर गर्ने भने। त्यसपछि टाउकोमा टाँका लगाउने र प्लास्टर गर्ने काम सुरु भयो।
यसैबीचमा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारी आइपुग्नुभयो। उहाँले दिउँसोको घटनामा आफूले फोटो पठाएको र उद्धारमा जुटेको बताउनुभयो। उहाँले भन्नुभयो, 'त्यो भिरको रुखले माइक्रोलाई नअट्काएको भए के हुन्थ्यो भन्न सकिन्न। रुखलाई त सबैले पूजा गर्नुपर्छ।’ दिनभरको घटनाको फेहरिस्त बताउँदै उहाँले चिनजान नभएका कारण ढिलो थाहा पाएँ भन्नुभयो।
घटनाअनुसार नागढुंगाबाट चितवनतर्फ आउँदै गर्दा माइक्रोबस ओरालो सडकमा असन्तुलित भयो। सडक छेउको शौचालयमा ठोक्काएर रोक्न खोज्दा शौचालयसहित गाडी करिब दुई सय मिटर तल भिरमा गएर रुखमा अड्कियो। रुखबाट तल छङ्गाछुर भिर रहेको छ। भिरको बीचमा ढल्किएको रुखमा गएर माइक्रो अड्किएको हो। माइक्रो अड्किएपछि दुवैतर्फका झ्यालका सिसा फुटेको ठाउँबाट छोराले ममीलाई बाहिर निकालेको हो। त्यसपछि टाउँकोबाट धेरै रगत बगेपछि सलले बाँधेर भिरमा रहेको घाँस एउटा हातले समाउँदै अर्काे हातले ममीलाई तान्दै माथि लैजाने क्रममा प्रहरी उद्धारका लागि पुगेको थियो। प्रहरीले झारेको डोरी समातेर उनीहरू सडकमा पुगेका थिए। त्यहाँ एम्बुलेन्स चढ्दै गर्दा कम्बाट ड्रेस लगाएका मानिस देखेपछि छोराले सेनाको अस्पताल जाने भन्ने बुझेको रहेछ।
माइक्रो बस शौचालयमा नठोक्काइएको भए, गुडेर नझरेको भए र रुखमा नअड्किएको भए, के हुन्थ्यो होला? उक्त माइक्रोबस भरि यात्रु थिए, चालकको दोस्रो सिटमा रहेका सुजातासँगैका सबैको टाउकोमा चोट थियो।
लामो समय अस्पतालमा सँगै रहेर आश्वस्त पार्दै डा. हरिशचन्द्र दाइ र एसएसपी अधिकारी फर्किनु भयो। उहाँहरूले केही परेमा तत्काल खबर गर्न भन्नुभयो। त्यसपछि सहसचिव भरतमणि पाण्डे र उहाँको म्याडम आउनुभयो। उहाँहरूले पनि स्वास्थ्य लाभको कामना गर्नुभयो। यो बीचमा टाउकोको टाँका लगाइसकिएको थियो। खुट्टाको प्लास्टर हुँदै थियो। त्यसपछि उनलाई सघन उपचार कक्षमा लगियो। म छोराको एक्सरे रिपोर्ट हेर्न लागेँ। चिकित्सकहरूले राम्रो छ भने। राति छोरा दिदीकोमा जान सक्ने भयो। सुजाता राखिएको ठाउँमा अर्काे मान्छे बस्न नपाउने भएर, बाहिर कुर्न पर्ने भयो। अब जे भए पनि श्रीमती बाँच्ने भइन् भन्ने भएपछि मलाई भोक लाग्न थाल्यो। नजिकै गएर सबैलाई खानाको व्यवस्था गर्न थालियो।
भोलिपल्ट खुट्टाको सिटीस्क्यान गर्न बाहिर जानु पर्ने भयो। त्यसपछि मैले चितवन रिफर गर्न भनेँ। दिनभरको प्रयासपछि दिउँसो अबेर सबै काम भ्याएर घाइते लिएर चितवन आएँ। यहाँको चितवन मेडिकल कलेजमा खुट्टाको सिटीस्क्यान गरियो। सिटीस्क्यानले खुट्टा भाँचिएको नदेखिएपछि प्लास्टर खोलेर राति घरमा ल्याइयो। अस्पतालमा एक सय हाराहारी शुभचिन्तक भेट्न आएका थिए ‘पुनर्जन्म’ भनेर।
एक महिनासम्म घरमा भेट्न आउनेको भिड नै थियो। यसरी नयाँ जीवन पाएपछिको पहिलो जन्मदिन आज हो। यसलाई मैले पहिलो जन्मदिनको रूपमा उनलाई शुभकामना दिइरहेको छु। त्यसो त घटनापछि आजसम्म आफै सवारी चलाउन सकेकी छैनन्। म बाहिर हुँदा एक्लै निदाउन सक्दिनन्। चर्काे बोल्दा आँखाभरि आँसु पार्छिन्।
उपचारका क्रममा सहयोग गर्नुहुने सशस्त्र प्रहरी अस्पताल, चितवन मेडिकल कलेज र मौलाकालिका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासक एवं स्वास्थ्य लाभको शुभेच्छा गर्नुहुने इष्टमित्र, आफन्त, साथीभाइ र पत्रकारहरूमा ऋणी छु।
(चितवनका पत्रकार अधिकारी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्।)