साइकल होस् कि मोटरसाइकल वा गाडी लिएर घरबाट निस्क्यो कि गल्ली–गल्लीका सडकमा डोरी तानेर बसेका साना केटाकेटी वा किशोरहरूले शिवको धुनी जगाउने भनी केही रकम मागे भने मान्नुहोस्– आज शिवरात्रि रहेछ। गाउँघरतिर त घरघरबाट मुढा वा दाउरा जम्मा गरेर भए पनि धुनी जगाउने, गाँजा भाङ खाने, घोट्टा खाएर मदमस्त हुन्छन् कति जना यस दिनमा। तर सहर बजारतिर मुढा किन्नु पर्छ भन्छन् ती बाटो छेक्ने केटाहरूले र राति के–के खाएर मस्त रहन्छन्।
बेलुका चोक–चोकमा आगो बालेर हलुवा, आलु कबाब अनि अलि वयस्क भएपछि थोः र एइला (जाँड रक्सी) पनि थपिन्थ्यो शिवरात्रि मनाउन। शिवरात्रिकै दिन टुँडिखेलमा सेनाले रौँ ठाडो गराउने खालका क्रियाकलाप गर्ने गर्छन्। मलाई भने टुँडिखेलको प्रदर्शन हेर्न कहिले जाँगर चलेन, भिड हुने कारणले। यही शिवरात्रिलाई सेनाले आफ्नो दिवस भनी भव्य तवरले मनाउने गर्दै आएको छ विभिन्न कार्यक्रम गरेर।
नेपाली सेनाले २०७९ सालको सेना दिवसको अवसरमा पर्सा राष्ट्रिय निकुञ्जमा साइकल यात्राको आयोजना गर्ने भएको थाहा पाएँ। म साइकल यात्रामा रमाउने मान्छे, भाग लिन मन लाग्यो। मैले मेरो इच्छा मेरा दुई मित्र सिंह र दीपकलाई सुनाएँ र उनीहरू त्यसमा सरिक हुने भए।
रुचि लागेर खोजी गर्दा गुगलले जानकारी दियो– पर्सा राष्ट्रिय निकुञ्ज दक्षिण–मध्य नेपालको तराईमा पर्सा, मकवानपुर र बारा जिल्लामा ६२७ वर्ग किलोमिटरमा फैलिएको छ र शिवालिक पहाडमा ४३५ देखि ९५० मिटर सम्मको उँचाइमा छ। सन् १९८४ मा वन्यजन्तु आरक्षको रूपमा स्थापित भएकोमा २०१७ यसले राष्ट्रिय निकुञ्जको मान्यता पाएको थियो। यसको उत्तरमा पूर्वी राप्ती नदी र शिवालिक पहाड छन्। पूर्वमा हेटौँडा–वीरगन्ज राजमार्ग छ; दक्षिणमा, वन सडकले पार्कको सीमालाई छुट्टाउँछ। पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज छ।
यो राष्ट्रिय निकुञ्जमा साइकल चलाउन निकै उत्साहित भइयो। काठमाडौँबाट एक ग्रुप सो र्यालीमा भाग लिन झन्डै २० जना साइकले जाने भए। म, दीपक र सिंह त्यही समूहमा सामेल भयौँ। पर्सा बजारसम्म जान बसको व्यवस्था रहेछ। पर्सा बजार पूर्व-पश्चिम राजमार्गको पथलैया र वीरगन्जको बिचमा पर्ने बजार हो। साइकल यात्रामा भाग लिने अन्य सहभागीहरू अन्यत्रका केही सहरबाट आएका थिए। मुख्यतः भैरहवा, धरान, वीरगन्ज, नेपालगन्ज अनि चितवनका थिए।
शिवरात्रिको अघिल्लो दिन सबै साइकले निश्चित स्थानमा बस चढ्न भेला भयौँ। व्यवस्थापकले बसको छतमा साइकलको ठाडो चाङ लगाए। दुइटा साइकलको बिचमा स्पन्ज राखे– फ्रेम एक आपसमा नघस्रियोस् भनेर। अनि डोरीले मज्जाले बाँधे– सिपालु रहेछन् यस काममा! बस हिँड्न भनिएको समयभन्दा आधा घण्टा ढिलो गर्यो। यो कुनै ठुलो कुरो थिएन नेपालमा।
विभिन्न उमेर समूहका विभिन्न पेसा गर्ने मानिसको एउटै परिचय थियो सहभागी साइकले। ठुलो सानो पदलाई पानीले झैँ एकै सतहमा उभ्याएको थियो। खुलेर गफगाफ भइरहेथ्यो। म अलि अन्तर्मुखी स्वभावको छु तर पनि बसभित्र संकोचबिनाको गफको माहौल अति रमाइलो लाग्यो। दीपक र सिंह दुवैलाई चिनेको ३/४ वर्ष भइसकेको थियो।
दीपक भेट्रान साइकले हुन्। ४० सालतिरबाट नै साइकल चलाउन थालेका उनी नेपालका सबै कुनाकाप्चा साइकलबाट पुगिसकेको बताउँछन्। सहयोगी स्वभावका, धेरै कुराको जानकारी राख्ने व्यक्ति मान्छु म उनलाई। सिंह पनि सारै असल, आँखामा राखे पनि कहिल्यै नबिझाउने खालका! मैले साइकल यात्राका लागि रोज्ने साथीहरू प्रायः अब्बल नै हुन्छन् अन्यथा यात्रा रमाइलो हुन्न।
हाल एउटा टिकटकमा भाइरल भएको एक प्रसङ्ग यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ होला– त्यसमा भनिएको थियो नेवारहरूलाई नजिस्क्याउनु, उसले रिसमा गाली गर्न सक्छ अनि तिमी रातोपिरो अनुहार लाएर जिल्लिनु पर्ने हुन्छ। त्यो बसमा पनि अधिकांश नेवार थिए। जिल्ल पर्नु पर्ने मानिसहरू एकाध मात्र थिए। ती शब्दहरू खुब प्रयोगमा आए। म आफू नेवार नै भए पनि यस्ता शब्दहरू प्रयोग नगरेको धेरै समय भइसकेकाले त्यति सहजै प्रयोग गर्न सकिनँ। अलि बिरानो रहेछन् ती शब्दहरू!
निकै रोमाञ्चक बसभित्रको माहौल, नौबिसे पुगेको पत्तै भएन। बस रोकियो ब्रेकफास्टको लागि। चना, आलु, उसिनेको अण्डा, चियाको भयो ब्रेकफास्ट। कसैले त त्यस बेलै बियर दन्काए। आधा घण्टाको विश्रामपछि गाडी बाइरोडको बाटो (त्रिभुवन राजपथ) लाग्यो। काठमाडौँलाई नेपालको अन्य ठाउँ जोड्ने पहिलो सडक। सम्झेँ यो बाटो हुँदै सानो छँदा २०३० सालतिर वीरगन्ज, रक्सौल हुँदै भद्रपुर, झापा रेल चढेर गएको। पहिले टाटा ट्रकको च्यासीसलाई बस बनाएको हुन्थ्यो। त्यति बेला नेपालको पूर्वी तथा पश्चिमी भागमा भारत हुँदै जानु पर्थ्यो। तर हवाईजहाजबाट भने भद्रपुर जाँदा चन्द्रगढी विमानस्थल प्रयोग गर्न सकिन्थ्यो।
थाक्रे भन्ने ठाउँ बाटोमा पर्छ यो सडकको। नेवा: संस्थाबाट आधा दर्जन खानेपानी तथा सरसफाइको योजनाको सिलसिलामा पटक पटक आएको छु। गाउँमा बास पनि बसेको छु। नेवाःको सहयोगमा सञ्चालित एउटा खानेपानी तथा सरसफाइ योजनाको उद्घाटनको लागि तत्कालीन युवराज दीपेन्द्र आएका थिए २०४९ सालतिर। विगत सम्झेर रमाइलो हुँदै थियो।
पालुङ, टेस्टुङ, सिमभन्ज्याङ, हेटौँडा हुँदै पर्सा बजार बेलुका ६ बजे पुर्यायो बसले। एउटा कोठामा दुई जना सुत्ने गरी व्यवस्था गरिएको रहेछ। बेलुका दाल, भात, मासु आयोजकको, बियर तथा अन्य अल्कोहलको खर्च आफ्नो। यो र्यालीमा भाग लिन नेपालका विभिन्न ठाउँबाट झन्डै ६०० साइकल यात्रीहरू आएका थिए र भिन्नभिन्न होटेलमा बसेका थिए। हामी बसेको होटेलमा ४०/४५ जना थियौँ। र्याली सुरु हुने थियो शिवरात्रिको बिहानदेखि।
पर्सा बजारबाट झन्डै २० किलोमिटर पर पर्सा राष्ट्रिय निकुञ्जको द्वारमा पुगियो। बाटोमा पथलैया चोक पर्छ। यो पूर्व पश्चिम राजमार्गको एउटा प्रख्यात चोक पनि हो– त्यसैले हामीले सम्झनाको लागि फोटो पनि खिच्यौँ। औपचारिक कार्यक्रम सेनाको नेतृत्वमा भएको थियो। औपचारिक कार्यक्रमपछि र्याली सुरु भयो ८ बजेतिर। जंगलको बाटो साइकल चलाउन पाउँदा निक्कै उत्साहित थिएँ। सँगै गएका साथीहरू अघि पछि हुँदै सकेसम्म सँगै रह्यौँ।
जंगलको ठाउँ-ठाउँमा सेनाका पोस्टहरू थिए। पानीको व्यवस्था ठाउँ-ठाउँमा गरिएको थियो। यो निकुञ्ज तराईमा पर्ने भएकोले बाटो समथर नै थियो। उकालो ओरालो अलिअलि मात्र थियो। खुट्टा चलाएको चलाई गर्नु पर्ने। एक प्रकारले रेस गरे जस्तै गरी कुदाएका थिए सबैले साइकल। आफू पछि पर्न भएन– निर्बल ठान्लान्!
बाटोमा जंगल कतै बाक्लो थियो भने कतै पातलो। यस निकुञ्जमा सालका रूखहरू लगभग ९० प्रतिशत जति रहेछ। नदी र खोलाहरूको छेउमा खयर, सिसौ र रेसम कपासका रूखहरू छन् गुगलले बतायो। आफूले यात्रामा अरू जातका रुखहरू देखे पनि चिनिएन, अभ्यस्तताको कमीले। साना-ठुला खोल्साहरू थिए बाटोमा। कतै लामा बगर थिए। बालुवा तथा सा–सानो ढुङ्गाको बगरमा साइकल चलाउन अलि गाह्रै भयो। आधाउधी दूरी पार गरेपछि खाजाको व्यवस्था गरिएको थियो। लाइन लागेर लन्च प्याक लिइयो। केरा, फ्रुटी, स्यान्डविच थिए। ४५ मिनेट जतिमा खाई वरी एक दुइटा फोटो पनि लिइयो। कोही बेन्चमा बसे कोही खुट्टा तन्काएर घाँसे मैदानमा बसे।
यो ठाउँमा एकजना काठमाडौँबाट आएको साइकले पनि भेट्टियो। उनी पहिला युएसएआइडीमा काम गर्थे रे। अवकाशपछि सपरिवार अमेरिका बसाइँ सरेछन्। सुन्नमा आएअनुसार छोराछोरीसँग कुरा नमिलेर नेपाल नै फर्केछन्। उनको पौरखले छोराछोरी उता गए, अहिले आफै यता फर्कनु परेछ। गोलो पृथ्वी, गोलो पारिवारिक सम्बन्ध; घुमिफिरी जहाँको त्यहीँ! पेट भरियो, ऊर्जा थपियो। फेरि स्याडलमा चढेर पेडल मार्न थालियो।
साइकल चलाउँदा ध्यान अलि एकत्रित गर्नु पर्ने हुनाले मैले विगत सम्झेँ। २०५५ सालतिर यही निकुञ्जमा एकजना सेनाका उच्च अधिकारी चिनेको भएर एक रात बस्न आएको थिएँ। त्यो बेला हरिणको मासु खाएको सम्झन्छु सैनिक कमान्डरको पाहुनाको हैसियतले। मैले सम्झेँ– त्यति बेला गाइँगुइँ कुरा गरेको– 'बाघले हरिण मारेको रहेछ। आरक्षको हाकिमलाई पनि भाग दिनु पर्छ नि, सबैतिर मिलाउनु पर्छ।’
त्यस बेला हरिणको मासु खाएको सम्झेर यस पटक पनि हरिण देखिन्छ कि भनेर आँखाले तन्काइ–तन्काइ हेरेँ। देखिएन, मानिसको हुल देखेर जनावरहरू ज्यान बचाउन अरूतिर लुक्न गए होलान्। हरिण लगायत कुनै चारखुट्टेको के कुरा, एउटा वनकुखुरा समेत भेटिएन, सुनियो मात्र केही चराचुरुङ्गीको आवाज। बाघ र भालुसँग त जम्काभेट नहोस् भन्ने चाहेकै हो, त्यस्तै भयो पनि।
झन्डै ४० किलोमिटरको यात्रा पार गरेपछि चिने चिनेको अनुहारमा आँखा टक्क अडियो। उनी अरू कोही नभएर विश्व साइकल यात्री पुष्कर शाह थिए। उनीसँग एउटा फोटो खिचाऔँ भन्दा उनको पनि कदर हुने मेरो लागि पनि एउटा सम्झना हुने भन्ठानेँ। नमस्कारपछि सँगै फोटो खिच्ने प्रस्ताव राखेँ। उनले हुन्न त के भन्लान् र भन्ने लागेको थियो। उनले जवाफ फर्काए हुन्छ भनेर तर एउटा बियर खुवाउनु पर्छ पनि भने।
फोटो खिचियो। पक्कै ठट्टा गरेको हुनु पर्छ भनेर मैले पनि ठट्टैमा जवाफ फर्काएँ, ‘तपाई पूर्वी टिमोरमा साइकलमा आउँदा पनि त्यहीँ थिएँ अनि हामी नेपालीहरूले चन्दा उठाएर तपाईँलाई सहयोग गरेका थियौँ नि।’
त्यसपछि उहाँले बियरको कुरा फेरि उठाएनन्। लामो यात्रामा हाँसो ठट्टा गर्ने व्यक्तिसँगको भेट अविस्मरणीय हुन्छ। यात्राको अन्त्यमा राम्रै नन-भेज दालभातको व्यवस्था थियो। यति भव्य र्यालीको समापन समारोह पनि रहेछ। हाम्रो साथी सिंहबहादुर त अतिथिको रूपमा मञ्चमा नै बोलाइए सशस्त्र प्रहरीको महानिरीक्षकको हैसियतले। मलाई कसैले खासै चिन्दैनथे किनकि म सरकारी पदको उच्च ओहोदामा पुगिन, अरू संगठनमा पुगे पनि। कसैले नचिन्दा फाइदा पनि छ– व्यक्तिगत स्वतन्त्रता हुन्छ, अरूका आँखा र ध्यान खासै खिचिँदैन आफूतिर।
समापन कार्यक्रमपछि हामी जंगल परिसरबाट निस्केर होटेल फर्कियौँ। जंगल घुमाइको रमाइलोलाई निरन्तरता दिन, बेलुका रमझम गर्न, सेकुवा खान अमलेखगन्जतिर लाग्यौँ। कोठामै कुँजिएर बस्न मन लागेन। यो साइकल यात्रा नितान्त नौलो अनुभव थियो। जंगलभित्र यति लामो ५५ किलोमिटर, त्यो पनि हिंस्रक जनावरको साम्राज्य हुँदै साइकलबाट पार गरेको अनुभव गर्न पाउनु एक साइकल यात्रीको जीवनमा पनि पटक पटक आउने कुरा होइन।
नेपाली सेनाले आयोजना नगरेको भए हामी तीन जनाले न आँट्थ्यौँ, न त अनुमति नै मिल्दो हो। यही उपलब्धिबाट रोमाञ्चित हुँदै नयाँ अनुभव बटुलेर भोलिपल्ट हामी ५ जनाको समूह हवाईजहाजबाट काठमाडौँ फर्कने योजना मुताबिक साइकल चढेरै सिमरा विमानस्थल गयौँ– त्यही बाटो हुँदै बसमा फर्कन मन लागेन। साइकलको दुई वटै चक्का निकाल्यौँ, हावा फुस्कायौँ, जहाजको नियम रे। काठमाडौँ पुगेपछि साइकल यात्रीले के ट्याक्सी चढ्नु, साइकलमै घर पुगियो रमाइलो सम्झना बोकेर।
-1765185895.jpg)
-1765185896.jpg)
-1765185897.jpg)
-1765185894.jpg)