मैले सधैँ झैँ उनीहरूलाई रुटिन सम्झाएँ। हात धोएर खाजा हुनेहरूले खाजा खाने अनि मात्रै खेल्ने। ज्याकेट खोल्दै मरीले भनी, ‘मिस आरती, मैले लन्च स्कुलमा खाइसकेँ।’
मैले सोधेँ, ‘तिमीसँग अरू खानेकुरो छ?’
‘मसँग दही छ तर अहिले खान मन छैन, भरे खान्छु’ भन्दै ऊ हात धुन गई। हात धाएपछि स्टिकर बुक बोकेर आई अनि सोधी, ‘मिस आरती, आज मसँग स्टिकर बुक छ। त्योसँग खेल्न मिल्छ?’
मैले ‘कस्तो स्टिकर बुक हो? हेरौँ’ भनेँ।
स्टिकर बुक समुचित रहेछ। त्यसैले मिल्छ भनिदिएँ। उसले लिजा र मिलानालाई ‘तिमीहरू मसँग खेल्छौ?’ भनेर आफ्नो योजना सुनाई। उनीहरूले तुरुन्तै खेल्छौँ भनिहाले। मरीको योजना सुनिरहेको क्यामडनले ‘मरी म पनि तिमीहरूसँग खेल्न चाहन्छु, नाम लेख्न सघाउँछु’ भन्यो।
लिजा र मिलानाको सहमतिमा मरीले उसलाई पनि ग्रुपमा सामेल गराई। मरीले ‘तिमीहरू नोटबुकमा नाम लेख, म कसलाई कुन स्टिकर मनपर्छ सोध्छु’ भनी।
उसले कोठाको एउटा कुनामा घरसँग खेलिरहेकी जोहीका छेउमा पुगेर स्टिकरको पेज देखाउँदै सोधी, ‘जोही, तिमीलाई यी मध्ये कुन स्टिकर मनपर्छ? स्टार, फ्लावर, फ्रुट्स वा एनिमल?’
पेजलाई राम्रोसँग नियाल्दै जोहीले ‘स्टार’ भनी। जोहीसँगै खेल्दै गरेकी हेजलले, ‘वाउ! मलाई क्याटको स्टिकर मनपर्यो’ भनी। थ्याङ्कु भन्दै मरी त्यहाँबाट गई।
हेजल क्याम्डनकी बहिनी हो। नोटबुकमा उसकी बहिनीको नाम लेख्यो। मरीले त्यसमा हेजलले मन पराएको स्टिकर टाँसी। मेरीले भनी, ‘क्याम्डन जोहीको नाम लेख।’
क्याम्डनले जोहीको नाम लेख्यो। मरीले जोहीले मन पराएको स्टिकर टाँस्न लागेकी थिई। त्यही बेला लिजाले भनी, ‘स्टिकर नटाँस। जोहीको नाम मिलेको छैन। जोहीको नाममा दुई वटा ओ हुन्छ।’
मिलनाले भनी, ‘क्याम्डनले लेखेको ठिक छ। एउटा मात्र ओ हुन्छ।’
लिजाले आफ्नो भनाइलाई पुष्टि गर्दै भनी, ‘मैले जोहीले नाम लेखेकी देखेको छु। नपत्याए सोध।’
नाम लेख्ने विषयमा लिजा र मिलानाको कुरा नमिलेको देखेर पनि उनीहरूको गतिविधि नजिकबाट नियालिरहेकी मैले त्यसमा कुनै प्रतिक्रिया देखाइनँ। सकेसम्म आफ्नो काम आफै गर्नुपर्छ। गर्न नसकेको अवस्थामा मात्र ठुलाको सहयोग लिनु पर्छ भन्ने उनीहरूलाई थाहा छ। सहयोग चाहिएमा उनीहरू सोध्न हिचकिचाउँदैनन्। निर्धक्क सहयोग माग्छन्। त्यसैले नराम्रो अवस्था सिर्जना नभएसम्म उनीहरूले गरेका काममा हस्तक्षेप गर्न मिल्दैन।
क्यामडनले भन्यो, ‘मलाई थाहा भयो नाम कसरी लेख्ने?’
मरीले सोधी, ‘कसरी लेख्ने? मिस आरतीलाई सोधेर लेख्ने हो?’
क्यामडनले भन्यो, ‘सोधिरहनु पर्दैन। जुत्ता राख्ने ठाउँमा भएको नाम हेरेर सार्दा भइहाल्छ।’ उनीहरूले सहजै समस्या समाधान गरे। त्यसमा सबै सहमत पनि भए।
मरी हातमा स्टिकरको बुक बोकेर सबै साथीहरूलाई स्टिकर देखाउँदै सोध्दै गर्न थाली। लिजा र मिलानाले उनीहरूलाई मन परेको स्टिकर उनीहरूको नामको छेउमा टाँस्न सहयोग गरे।
कोठामा भएका सबैको पालो पुगेपछि अब मिस आरतीको पालो भनेर मरी मेरो छेउमा आई अनि सोधी, ‘मिस आरती, तिमीलाई कुन स्टिकर मनपर्छ?’
मैले उसको हातमा भएको पेजलाई हेरेर फूल भनेँ। प्रसन्न हुँदै उसले मेरो पनि फेभरेट यही हो भनी।
कक्षा २ मा पढ्ने मरी र लिजा अनि कक्षा ३ मा पढ्ने मिलना र क्यामडनले पिक्चर हेरेको आधारमा अथवा साउन्ड आउट गरेका भरमा सजिला शब्दहरू मात्र पढ्न, लेख्न सक्छन् भन्ने मलाई थाहा छ। त्यसैले मेरा नाम कसरी लेखे होला भन्ने कौतुहलता नहुने भन्ने कुरा भएन। कौतूहल मेटाउनको लागि मैले मरीसँग उसको नोटबुक मागेँ। उनीहरूले अरू बेला जस्तै अक्षरहरू उल्टोपाल्टो लेखेका थिए। थाहा नपाए झैँ गरेर मैले सोधेँ, ‘मेरो नाम कसले लेखेको?’
लिजाले, ‘क्यामडनले लेखेको’ भनी। उनीहरूले गरेको गल्ती देखाउँदै मैले मेरो नाम सच्याएँ। तिमीहरूले लेखेका नाममा अक्षरहरू छुटेका छन्। यी अक्षरहरू उल्टा लेखेका छौँ भनेर देखाएँ। क्यामडनले तुरुन्तै ‘इस ओके, आइ ट्राई माई बेस्ट’ भन्यो। मरी अनि मिलानाले पनि क्यामडनलाई सपोर्ट गर्दै ‘इट्स ओके, वि डन्ट केयर। साथीहरूको नाम छँदै छ। त्यति भए पुग्छ’ भने। उनीहरूलाई खेल्नुसँग मतलब छ। नाम गल्ती सारेकोमा कुनै हतोत्साह छैन।
मरीले सोधी, ‘मिस आरती, मैले यो किन लेखेकी थाहा छ?’
मैले भनेँ, ‘तिमीले नभनी कसरी थाहा हुन्छ?’
उसले भनी, ‘मेरो बर्थडे पार्टीको कार्ड दिनको लागि साथीहरूको नाम चाहिएको छ, त्यसैले लेखेकी।’
मैले सोधेँ, ‘ए, साँच्चै तिम्रो बर्थडे कहिले पो हो?’
उसले खुसी हुँदै ‘बर्थडे शुक्रवार हो तर बर्थडे पार्टी आइतबार छ। ममीले १५ जना साथीलाई बोलाउने भन्नुभएको छ। हामीले गुडी ब्याक पनि तयार पारिसकेका छौँ। गुडी ब्यागमा के-के छ? भरे भन्छु ल’ भनी। मैले टाउको हल्लाएर हुन्छ भनेँ।
बर्थडे पार्टी आयोजकका तर्फबाट केटाकेटीलाई दिनको लागि एउटा ब्याग तयार पार्छन्। जसमा केही चकलेट अनि खेलौनाहरू हुन्छन्। त्यसलाई गुडी ब्याग भनिन्छ। गुडी ब्याग केटाकेटी बिच प्रिय छ। त्यसैले बर्थडे पार्टीको निम्तो पाए भने केटाकेटी अति नै खुसी हुन्छन्। बर्थडे पार्टीको निम्तो पाएका केटाकेटीहरू मक्ख पर्दै सुनाउँछन्, ‘मिस आरती, आज म बर्थडे पार्टीमा जान्छु। गुडी ब्याग पाउँछु।’
बेलुकाको ६ बजे डे केयर बन्द हुन्छ। त्यसैले ५:३० सम्ममा प्रायः केटाकेटी घर गइसक्छन्। अब मरी, ग्रेटा, नेतन अनि भिरा मात्र बाँकी थिए। हामी सबै जना सानो टेबुलको वरिपरि बसेर कार्ड गेम खेलिरहेका थियौँ। त्यही बेला मरीले ‘मेरो बर्थडेमा दिने गुडी ब्यागमा के छ भनूँ’ भनी। मैले ‘के-के छ भन’ भनेँ।
अनुमति पाउने बित्तिकै उसले फटाफट भनी, ‘सबै ब्यागमा एउटा-एउटा पेन्सिल, नोटबुक, इरेजर, स्टिकर बुक, बाउसीबल अनि ललिपप र चकलेट छ। त्योदेखि बाहेक केटी साथीहरूको लागि बार्बी अनि केटा साथीहरूको लागि कार छ।’
मैले भनेँ, ‘वाउ! साउन्ड भेरी गुड। मलाई पनि तिम्रो बर्थडे पार्टीमा आउन मन लाग्यो। म आएँ भने एउटा एउटा गुडी ब्याग दिन्छौ?’
उसले हाँस्दै भनी, ‘तिमीलाई थाहा छैन? गुडी ब्याग केटाकेटीको लागि मात्रै हो। ठुला मान्छेको लागि होइन।’
खैरो कपाल, गोरो छाला अनि नीला आँखा भएकी मरी वास्तवमा गुडिया जस्तै छ। त्यसमाथि बर्थडे पार्टीको बारेमा कुरा गरिरहँदा उसको अनुहारमा छाएको खुसी बयान गरेर साध्य छैन। ऊ कति खुसी छ भन्ने कुरा उसको अनुहारको आनन्दानुभूतिबाट सहजै अनुमान गर्न सकिन्छ। हिजो के भएको थियो भन्ने कुरामा मतलब नराखी रमाइरहेकी मरीले विगतलाई चटक्कै बिर्सिएकी छ। असहज परिस्थिति सामना गरेकी मरीले सहजै सबै कुरा बिर्सिदिई। वास्तवमा केटाकेटीलाई भूत अनि भविष्यले फरक पार्दैन। उनीहरू वर्तमानमा भरपुर रमाउँछन्। मरी यसको ज्वलन्त उदाहरण हो। त्यसको विपरीत म प्रौढ, त्यसैले ऊ रमाइरहँदा म भने उसको विगतलाई सम्झिरहेछु।
त्यो बेला उसले भनेका कुराहरू आज पनि मेरो कानमा गुन्जिरहेका छन्। कसरी बिर्सन सक्नु? एक वर्ष मात्रै हुँदै छ। गत वर्षको बर्थडेकै समयमा उसले सुर्ताउँदै भनेकी थिई- ‘मिस आरती, अब मेरा बाबा ममीसँगै नबस्ने रे। डिभोर्स गर्ने रे।’
आश्चर्य मान्दै मैले सोधेँकी थिएँ, ‘के भनेकी?’
उसले तिनै कुरा दोहोर्याएकी थिई। पत्यार नलागेर मैले फेरि सोधेकी थिएँ, ‘तिमीलाई कसले भनेको?’
दुःखी हुँदै उसले भनेकी थिई, ‘बाबा-ममी दुवै जाले भन्नुभएको हो। मेरो बर्थडे पार्टीसम्म मात्रै सँगै बस्ने रे।’
मैले भनेकी थिएँ, ‘तिमीले भनेको कुरा साँच्चै हो? ममीलाई सोधौँ?’
उसले यकिनका साथ भनेकी थिई, ‘सोध्नु न। मिस आरती, तिमीलाई थाहा छ? हिजोआज बाबा-ममी पहिलाको जस्तो हाँसेर गफ पनि गर्नुहुन्न अनि अँगालो हालेर एउटै सोफामा बस्नु पनि हुन्न। ममीले लिभिङ रुममा टिभी हेरेका बेला बाबा कोठामा मोबाइल हेरेर बस्नुहुन्छ अनि बाबाले टिभी हेरेका बेला ममी कोठामा मोबाइल हेरेर बस्नुहुन्छ।’
उसको निदाउरो अनुहारलाई देखेर मैले भनेकी थिएँ, ‘तिमीलाई नराम्रो लाग्छ हो?’
उसले हो को सूचकमा टाउको हल्लाएकी थिई।
मैले उसलाई यतिसम्म भनेकी थिएँ कि ‘तिमीलाई ममी-बाबा अलग्ग बस्ने कुरा मन परेको छैन भने ममी-बाबालाई हामी सँगै बसौँ भन न। तिमीले भनेको मानेर सँगै बस्नुहुन्छ कि?’
हैरान हुँदै उसले भनेकी थिई, ‘मलाई तपाईंहरूसँगै बस्न मन छ। हामी तीन जनासँगै बसौँ भनेको तर ममीले जिन्दगी आफूले भने जस्तो हुँदैन रहेछ नानी बिस्तार सबै ठिक हुन्छ भन्नुभयो। बर्थडे पार्टी पछाडिदेखि एक हप्ता बाबासँग र एक हप्ता ममीसँग बस्नुपर्छ भन्नुभएको छ।’
‘ए, त्यसो भए छुट्टिने पक्का भइसकेछ।’
उसले भनेकी थिई, ‘हो त, बाबाले मलाई नयाँ कोठा पनि देखाइसक्नु भएको छ। उहाँले मेरो लागि नयाँ बेड किनिसक्नु भएको छ। तर मलाई त्यो मन परेको छैन।’
एक वर्ष अगाडि मात्र भनेका यी सबै कुराहरू उसले बिर्सिए पनि मैले चाहिँ सम्झिरहेको छु। असहज परिस्थितिको सामना गरिरहेकी उसको मनोदशा देखेर त्यो बेला मैले सोध्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि आँट गरेर उसकी आमालाई सोधेकी थिएँ, ‘तिमी माइन्ड गर्दैनौ भने एउटा पर्सनल कुरा सोधौँ?’
उनले ‘सोध न, माइन्ड गर्दिनँ’ भनेपछि ‘सुनेर एकदमै नरमाइलो लाग्यो। तिम्रो परिवार छुट्टिँदै छ रे’ भनेकी थिएँ। मेरो कुरामा प्रतिक्रिया जनाउँदै उनले भनेकी थिइन्, ‘हामी छुट्टिने कुरा तिमीलाई थाहा छ भन्ने मलाई थाहा थियो। मैले मरीलाई घरको कुरा अरूलाई सुनाउन आवश्यक छैन भनेकी थिएँ। तर बिचरी बाबा-ममी छुट्टिनुमा उसको के दोष? सात वर्षको कलिलो उमेरमा उसले जे भोगिरहेकी छे, त्यो उसका लागि सहज छैन। आज अलिक हतार छ, पछि फुर्सदमा कुरा गरौँला।’
म बिफोर एन्ड आफ्टर स्कुलमा काम गर्छु। मैले काम गर्ने ठाउँमा मरी आउन थालेदेखि म उसको परिवारसँग चिनजानमा छु। तीन वर्षअघि मरी र उसकी आमासँग पहिलो पटक भेट भएको थियो। मरीकी आमाले भनेअनुसार रसिया र युक्रेनको युद्ध सुरु भएपछि शरणार्थीका रूपमा क्यानेडा सरकारले युक्रेनियनहरूलाई प्रवेश गराएपछि मरीको परिवार क्यानेडा आएको हो।
परदेशमा जीवन बिताइरहेका हामीहरूको जीवनमा समानता छ। दूर देशमा रहेका परिवार, आफन्तहरूको सम्झनाले सताइएका हामी मान्छेहरूको भीडमा आफूलाई एक्लो महसुस गर्छौँ। त्यसमाथि वर्षैपिच्छे आउने चाडपर्वहरूले अझ विकल बनाउँछन्। छोराछोरीलाई डे केयरमा राखेर भाषा सिक्नबाट सुरु भएको उनको क्यानेडियन जीवनमा म आफ्नो विगत देख्छु।
उनको परिवारको बारेमा मलाई थोर बहुत थाहा छ किनकि देशमा माओवादीको आन्दोलन चरम सीमामा पुगेको बेला म क्याम्पस पढ्दै थिएँ। त्यो बेला समाचारमा हेरेका, पत्रपत्रिकामा पढेका निर्मम हत्याका दृश्यहरू अझै पनि मेरो मानसपटबाट बाहिर निस्कन सकेका छैनन्। आन्तरिक द्वन्द्वमा फसेको देशमा सर्वसाधारणको हालत त्यस्तो तनावपूर्ण थियो भने दुई देशबिच लामो समयदेखि चलिरहेको युद्धको चपेटामा रहेका मरीका आफन्तहरू कसरी बाँचिरहेका होलान्? उनीहरूको अवस्था कस्तो होला? उनीहरू कति आतङ्कित होलान्? भन्ने लाग्छ।
त्यसैले फुर्सदको समयमा मरीकी आमा र म युद्धको विषयलाई लिएर लामै कुराकानी गर्छौँ। उनको मिजासिलो स्वभावका कारण कुराकानीलाई अगाडि बढाउन आपत्ति हुँदैन। परदेशमा आफ्ना आफन्त परिवारको बारेमा सोधी खोजी गरिदिने व्यक्ति पाएर होला मरीकी आमाले पनि मलाई साथी बनाएकी छिन्। त्यसैले लोग्ने स्वास्नी छुट्टिनुको कारण खुलस्त पार्दै उनले एक दिन भनिन्-
‘घरको भाडा तिर्ने अनि दैनिक उपभोग्य सामानहरू किन्ने समयमा पैसाको कुरो गर्ने बित्तिकै ‘तँ पनि कमाउँछेस्? आफ्नै पैसा खर्च गर्’ भन्न थालेपछि डेविड जिम्मेवारीबाट उम्कन खोजको हो कि? उसले मसँग चिटिङ गरिरहेको छ? शङ्का लाग्दै थियो। म जान्ने कोसिस गरिरहेकी थिएँ। उसलाई सोध्न भने आँट गरेकी थिइनँ। तर मैले धेरै दिन कुर्नु परेन। केही दिन अगाडि मेरो शङ्का सही निक्ल्यो जब मैले मरीलाई ज्याकेट किन्नको लागि पैसा मागेँ। पैसा दिनको साटो उसले ‘तेरी छोरीलाई ज्याकेट तैँ किन् न’ भन्यो। उसको त्यो कुरा सुनेर म स्तब्ध भएँ। कुरा छोरीमा आइसकेपछि र उसको बदलिँदो व्यवहारले मलाई चुप लागेर बस्न थिएन। कमाए जति अरू कसैमाथि खर्च गरेर उसले ममाथि अन्याय सहन सकिनँ वा भनौँ उसको भनाइलाई मैले सहन सकिनँ। हाम्री छोरी कहिलेबाट मेरी मात्र भइछ भन्ने कुराले मलाई तनाव दियो। तनाव शान्त पार्नको निम्ति मैले उससँग सोधेँ, ‘मेरी छोरी भनेर तिमीले के भन्न खोजेको? हाम्री छोरी हो कि मेरी मात्र छोरी हो भन्ने छुट्टाउन डिएनए टेस्ट गरे भइहाल्यो नि। डिएनए टेस्ट गर्न जान्छौ? जाने भए हिँड। हाम्रो वैवाहिक जीवनको प्रगाढ प्रेम सम्बन्धको प्रतीक, हामी दुवैको एकअर्काप्रतिको समर्पणको सुन्दर रूप मरी हाम्री छोरी हो भन्ने थाहा हुँदाहुँदै ऊ डिएनए टेस्ट गराउन जाँदैन भन्नेमा म विश्वस्त थिएँ। तर त्यस्तो भएन। ऊ डिएनए टेस्ट गराउन राजी भयो। उसले मसँग चिटिङ गरेको प्रमाणित भयो। आफूले मन पराएर विवाह गरेको मान्छे यतिसम्म निच होला भन्ने लागेको थिएन। तर भइसकेछ। यस्तो निर्लज्ज मान्छेसँग कसरी बस्नु? मनले मानेन। छुट्टिएर बस्न उचित ठानेँ। उसले डिएनए टेस्ट गर्न सहमति जनाएसँगै मैले ऊसँग अलग्ग बस्ने निर्णय गरेँ। तिमी आफै भन, त्यस्तो धोका दिने मान्छेसँग जीवन कसरी बिताउनु?'
यसरी आफ्ना कुराहरू खुलस्त भन्न नहिचकिचाउने मरीकी आमाको निम्ति म सुख दुःखहरू बिसाउने चौतारो बनेकी छु।
उनी मसँग आफ्ना व्यक्तिगत कुराहरू सुनाउन आपत्ति मान्दिनन्। फलस्वरूप डिभोर्सपछि एक दिन मरीलाई लिन आएको बेलामा मैले ‘के छ खबर?’ भनेर सोधेँ। उनले अलि अलि मुस्कानका साथमा भनिन्, ‘बेचैन छु। त्यसबाहेक अरू त ठिक छ।’
उनको थकित अनुहारले उनको वास्तविकता बताइरहेको थियो। उनलाई सपोर्ट गर्दै मैले भनेँ, ‘श्रीमानसँग बसिरहेकी थियौ। अब एक्लै भएपछि कसरी चैन हुन्छ? आर्थिक समस्या पनि होला?’
उनले भनिन्, ‘काम गरिरहेकी छु। एकल महिलाको भत्ता पनि आउँछ। खर्चले खाँसै समस्या छैन। तर एक्लै भएर होला दिक्क लाग्छ। मरी डेविडसँग गएको हप्ता ओभर टाइम काम गर्छु। घरमा आएपछि एकदमै सुनसान हुन्छ। त्यसैले बुवालाई बोलाएको छु। एक महिनापछि आउनुहुन्छ। एक महिना कहिले बित्ला जस्तो भएको छ।’
‘खुसीको खबर। तिम्रो बुवा आउने कुराले मलाई पनि खुसी लाग्यो,’ उसको खुसीमा सहभागी हुँदै मैले भनेकी थिएँ।
मरीले यी कुरा बिर्सिए पनि मैले बिर्सिएकी छैन।