कोरोनाको कारण ‘लकडाउन’। एम्बुलेन्स र प्रहरीका गाडीहरू मात्र दौडिरहेका। ‘सेल्फ क्वारेन्टाइन’ मा म। उपयोगी साधन भएको छ इन्टरनेट। प्यारो साथी बनेको छ ‘फेसबुक’। अधिकांश नकारात्मक समाचारहरू। यस्तैमा युद्धका सिपाही जस्तो हरियो पोसाकमा चोटसहितका मानिसको फोटो आउँछ। अस्पतालका कुर्चीमा लडिरहेका, उपचार सामानमाथि टाउको राखी सुस्ताएका, भुइँमै निदाएका- इटालीका स्वास्थ्यकर्मीहरू रहेछन्।
निरन्तरको ‘ड्युटी मास्क’ र ‘सेफ्टि चस्मा’ ले अनुहारमै घाउ। क्लान्त, शिथिल, थकित, निराश तर चिकित्सा पोसाकमै सजिएका।
फेरि अर्को समाचार देखें।
अरूको उपचार गर्दा आफैंलाई संक्रमण भएपछि नर्सबाट आत्महत्या।
आफूलाई लागेको कोरोना अरूलाई नसरोस् भनेर मृत्युको बाटो रोजेको ‘सुसाइड नोट’। मनमा धारिलो पीडा दौड्यो।
‘साइबर संसार’ का समाचारबाट वास्तविक संसारमा आए। आफू नजिकका डाक्टरलाई सम्झे। भतिजो दिमागमा आयो। आफूबाटै संक्रमण हुन सक्छ भनेर घरमा तोते बोली बोल्ने जुम्ल्याहाबाट भागेको। घर र अस्पताल गर्दा आफूबाटै छोरा छोरीमा संक्रमण हुन सक्ने कुरामा सचेत छ। घर छोडेर साथीसँग डेरामा बसेको छ। आफ्ना मुटुका टुक्राबाट टाढा भएर।
सहकार्य गर्नुपर्ने अर्की महिला डाक्टरलाई सम्झे।
आफू दुई जिउकी उनी अरूको उपचारमा संलग्न छिन्। एकातिर स्वभाविक शारीरिक कमजोरी, अर्कोतिर ‘प्रेगनेन्सी इज भलनेरेवल’ भन्ने थाहा हुँदाहुँदै उनी कोरोनाविरूद्धको मोर्चामा छिन्।
अर्की बुहारी नाताकी महिला डाक्टर।
अस्पताल र घर गर्दाको संक्रमणकै डरले उनले कलिलो छोरालाई माइतमा लगेर राखेकी छन्।
नागरिकहरू आफूमा तै सुरक्षित हुन हम्मेहम्मे परेको बेला डाक्टरहरू त्यसबाट धेरैमाथि उठेर अरूलाई बचाउने महायुद्धमा खटिएका। अरूको जीवन रक्षाको लागि संघर्षरत् यिनै ‘तारक’ ब्रम्ह चिकित्साकर्मीहरू, मूलतः डाक्टरका सम्मानमा यी हरफहरू कोरिएका हुन्।
डाक्टर बन्नका लागि लगानी
दुई दशक अगाडिसम्म जेहेनदार र योग्य विद्यार्थीले विज्ञान नै पढ्ने। केही परिवर्तन भएको छ तर अहिले पनि कमजोर विद्यार्थीले विज्ञान पढ्दैनन्। विज्ञान पढ्नेमध्येका अब्बलहरू नै डाक्टर हुन्। यसैले डाक्टर हुनु आफैंमा उच्च योग्यताको परिचायक हो।
डाक्टरको अध्ययन सहज छैन। करिब पाँच वर्षको निरन्तरको परिश्रम, हरेक वर्ष सफल हुँदै अर्को वर्षमा जानु, बीच बीचमा ‘थ्योरी’ र ‘प्राक्टिकल’ दुबैमा सफल हुन पर्नु, एउटामा असफल भए दुबै अध्यायमा पुन: परीक्षा दिनु र दुबैमा एकैसाथ सफल हुनु, जति पढे पनि नसकिने जस्तो बृहत् ‘कोर्ष’, वर्षको अध्ययन एक पटक ‘रिभिजन्’ गर्न मात्र पनि करिब महिना लाग्ने।
खर्चिलो पनि उत्तिकै।
‘स्कलरसिप’ पाए पनि खान, बस्न र पाठ्य सामग्रीको लागि नै करिब मासिक तीस हजार।
‘सेल्फ फाइनान्स’ हो भने थप पचास लाख। सबैभन्दा महँगो र कठिन विधा। तुलना गर्नु उचित होइन तर स्पष्टताको लागि अनुमति पाऊँ! पढाइमा चार्टर एकाउन्टेण्ट सरह तर लगानीमा धेरै महँगो। लगानीमा पाइलट सरह तर पढाइमा धरै चर्को। इन्जिनियर, वकिल, बैंकर, निजामती सेवा सबैभन्दा कडा परिश्रम चाहिने। लाग्छ, डाक्टर पढ्नको लागि आवश्यक मेहेनत गर्ने हो भने निजामतीमा खुलाबाट सह-सचिव भइन्छ।
एसएलसीमा तेस्रो श्रेणी धैरै क्षेत्रका शीर्ष नेतृत्वमा पुगेका छन् तर डाक्टर पेशामा त्यो सम्भव छैन। त्यसमाथि ‘एमबिबिएस’ पछि अर्को उपाधि ‘एमडी’ । पुन: उही कथा।
तनावयुक्त र खतरनाक कार्यक्षेत्र
सामान्य अवस्थामा डाक्टर चाहिँदैन। तर, जब चाहिन्छ तत्काल चाहिन्छ। ड्युटीको डाक्टर सधैं तम्तयार रहनु पर्छ। अन्य अवस्थामा पनि डाक्टरलाई आफन्त, छिमेकी, इष्टमित्रले खोज्ने। डाक्टर ‘फ्री’ कहिल्यै हुँदैनन्। ‘चौबिसै घण्टा ड्युटीमा हुने’ भन्ने व्यवस्था कानुनमा छैन तर त्यसैगरी सधैं तम्तयार हुनुपर्ने।
डाक्टरले गरेको सानो लापरबाहीले कसैको इहलीला समाप्त हुन्छ। जीवनभर पीडा पुग्छ। यसमा किञ्चित् पनि गल्ती गर्न पाइन्न। डाक्टरहरू सधैं तयार हुनुपर्ने र सामान्य गल्ती पनि क्षम्य नहुने दुई धारे तरबारमा रहन्छन्।
हालै मित्रराष्ट्र चीनमा कोरोना उपचारमा संलग्न ३४ सय चिकित्साकर्मी संक्रमित भए। संक्रमितको करिब उनान्तिस प्रतिशत चिकित्साकर्मी नै रहेछन्। तेह्र जना डाक्टरले नै मृत्यु वरण गरे।
२९ वर्षका ‘पेन यिनहुवा’ यसमध्ये एक डाक्टर हुन जसको गत ‘फेव्रुअरी १’ मा हुने विवाहको कार्ड समेत बाँडिएको थियो। विवाह रोकेर कोरोनाविरूद्धको युद्दमा होमिएका उनको फेव्रुअरी २१ मा मृत्यु भयो। वुहानको ‘उचाङ हस्पिटल’ का निर्देशक एकाउन्न वर्षे ‘लिउ झिमिङ’ पनि उनीसँगै हराए।
फिलिपिन्समा नौ जना डाक्टरहरू कर्तव्यको बलिवेदीमा चढे। फ्रान्समा उपचारमा संलग्न पाँच जना डाक्टरहरू हराए। इटालीको अझ दरदनाक कथा छ, हजारौं चिकित्साकर्मीको।
पैतिस जना डाक्टरहरू नै ‘क्वारन्टाइन’ मा छन्। पाकिस्तानका २६ वर्षका डाक्टर उस्मा रिजा पनि उसैगरी हराए। यो लेख लेख्ने बेलासम्म अमेरिकामा पनि हजार भन्दा बढी चिकित्साकर्मी संक्रमित भएको समाचार छ।
चिकित्साकर्मीको गुनासो
डाक्टरका आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक क्षेत्रका गुनासा सरकारप्रति, जनताप्रति, चिकित्सा व्यवसायप्रति र यसमा जमेका ‘व्यवसायिक डन’ प्रति छन्।
सबभन्दा धेरै लगानी र मेहेनतले डाक्टर भइन्छ। परिवार बिर्सेर काम गरिन्छ। जिउ ज्यानको खतरा मोलिन्छ। अपेक्षित मर्यादा, व्यवसायिक सुरक्षा, सम्मान र कमाइ पटक्कै भएन।
विदेशमा डाक्टरी पेशा सबभन्दा उत्कृष्ट मानिन्छ। अमेरिकामा अरू राम्रा नोकरीमा तलब सामान्यतः वर्षको डेढ लाख पनि हुँदैन तर त्यही डाक्टरको तलब अढाइ लाखबाट सुरू हुन्छ।
‘फ्रि ल्यान्सर’ डाक्टरको ‘फी’ पनि एक पटक जाँचेको एक सय डलरसम्म।
युरोप, अस्ट्रेलिया, मिडल इस्ट सबैतिर एउटा नर्सको तलब नै मन्त्रालय सचिवको सरह हुन्छ । व्यवसायिक सुरक्षा, सम्मान र मर्यादा पनि उस्तै।
डाक्टरलाई थप सेवा सुविधा छैन। ‘ओभर टाइम’ को उचित व्यवस्थापन छैन। धेरै कमजोर र तेस्रो श्रेणीमा सफल भएका प्रशासकहरूले रिंगाउन खोज्छन्। सबैतिर भ्रष्टाचार भएजस्तै डाक्टरले पनि भ्रष्टाचार गर्छ भन्ने अनौठो अनुमान छ। अनिवार्य ‘फलोअप’ पनि पैसा लिन बोलाएको भनिन्छ। ‘रुल आउट’ को लागि आवश्यक जाँच पनि कमिसनको चक्कर भनिन्छ। गुणस्तरीय औषधि दिँदा पैसाको शंका हुन्छ।
सबैभन्दा चित्त दुख्ने कुरा हो- बिरामीको मृत्यु भयो भने डाक्टरको लापरबाही मानिने। डाक्टरमाथि भौतिक आक्रमण गर्ने। अस्पताल तोडफोड गर्ने। जानीजानी कोही पनि चिकित्सकले बिरामी मार्ला त?
सबैको कर्तव्य
सर्वप्रथम सबैले बुझ्न जरूरी छ, डाक्टरी पेशा केवल नोकरीमात्र होइन। जीवन बचाउने मानव सेवा हो। अपूर्व त्याग र बलिदानको समागम हो। धर्म कमाउने पवित्र थलो हो। जीवन प्रदान गर्ने सर्वोच्च पुण्य कार्य हो। यसमा केवल तोकिएको समयमा मात्र सेवा गरिने भन्ने हुँदैन। सेवानिवृत्त भइसकेपछि पनि चिकित्साकर्मी राज्यलाई चाहिएको बेलामा उपस्थित हुनुपर्छ। हालै बेलायतले करिब पैसठ्ठी हजार पूर्व चिकित्साकर्मीलाई झिकाई सेवा लिएको छ।
नेपालमा डाक्टरको कमाइ थोरै छ। ठूलो आर्थिक र मेहेनतको लगानी परेकाको कमाइ धेरै हुनुपर्ने। लेखकको आफ्नै अनुभव छ। कानमुनिको नसा दुखेकोमा मुम्बईको ‘एचएन रिलायन्स फाउन्डेसन अस्पताल’ का डा. राजिव सिंहसँग जाँच्दा बिरामी ‘फी’ मात्र पाँच हजार भारतीय रुपैयाँ थियो। नेपालमा पाँच सयभन्दा माथि बिरलै छ।
शायद, यसैले गर्दा यहाँ डाक्टर धेरै बिरामी जाँच्न उद्धत हुन्छन्। एकातर्फ, सरकारी डाक्टरको तलब बढाउन जरूरी छ।
अर्कोतर्फ, मोफसलमा त्यसमा पनि थप्नु पर्छ। नेपालमा एउटा डाक्टरको जिम्मा करिब १५ हजार बिरामीहरू पर्दछन्। यसलाई घटाउन र योग्य डाक्टर पलायन हुनबाट रोक्न डाक्टरको कमाइ धेरै बनाऔं।
डाक्टरले लापरबाही गरेर मानिस मार्यो भनेर भौतिक आक्रमण हुनु सबभन्दा दुखद् कुरा हो। यसको लागि इंगित ‘लापरबाही’ मा उच्चस्तरीय समितिबाट अनुसन्धान गरी गल्ती कसूरको मात्रा अनुसार कारबाही गर्नु पर्छ । तर त्यस पूर्व हरेक अस्पतालका दुर्व्यवहार हुने सक्ने ठाउँमा सिसिटिभी राखेर यथार्थता रेकर्ड गर्ने र त्यो प्रत्यक्ष दृष्य हेरेर दोषीलाई ठाउँका ठाउँ कडाभन्दा कडा कारबाही गर्न जरूरी छ।
उपसंहार
दुख पर्दा ‘हे भगवान’ भने जस्तै बिरामी हुँदा हरेक मानिसले ‘हे डाक्टर’ भनेकै हुन्छन्।
तथ्य बोल्छ, मानव जीवन सुरूमा आमा बाबु र पछि डाक्टरले नै दिने हो। अहिले नबोल्ने भगवान रहने ठाउँ- मन्दिर, गुम्बा, चर्च, मस्जिद बन्द हुँदैछन्।
त्यहाँ मानिसहरू जान छाडिसके। डाक्टर र चिकित्साकर्मी रहने ठाउँ अस्पतालहरू भने भरिँदैछन्। अब आस समग्र सेतो पोसाकमा वेष्टित ‘चल्ने र बोल्ने भगवान’ डाक्टरहरूसँग छ।
ठूलो संख्याले डाक्टरलाई देउता नै मान्छन्। सानो संख्या र आफैं खराबले मात्र डाक्टरलाई उल्टो पनि ठान्लान्। तिजमा पशुपतिनाथको मन्दिरमा सजाइएका फूल र माला चोर्ने पनि हामी मध्येकै हुन्।
सार्क सम्मेलनमा बाटोमा सजाइएका गमला, दुबोका चाका चोर्ने पनि हामीमध्ये नै हुन्। त्यस्ता गलत मानिसले डाक्टरको काममा केबल खोट देख्नु स्वभाविक नै हो। देखिएकै छ, निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा पनि विवादै ल्याउँछन्। साइबाबालाई पनि विवादित बनाउने छन् नै। असल स्वर मधुरा हुन्छन्। सुनिन्नन्। खराब स्वरहरू चर्का हुन्छन्। के गर्ने यो हाम्रो नियती हो। चिकित्साकर्मी, तपाईंहरूको सम्मानमा धेरै मन र भावनाहरू छचल्किन्छन्। फेसबुकमा पोखिएको ‘रंग’ देख्नुभएको होला।
अन्तमा
अहिले समयले डाक्टरको ठूलो परीक्षा लिँदैछ। थाहा छैन, तपाईसँग ‘मास्क ग्लोब’ छन कि छैनन्? ‘पिपिई’ दिइयो कि दिइएन ? कस्तो दिइयो ? एउटा डाक्टरले कति रोगीलाई हेर्ने सक्छ? तर तपाईंका कदम नथाकुन् । हिम्मत नहारोस् । विचलित नहुनु।
अर्कोतर्फ, ‘सेफ्टि मिजर्स’ बिना सडकमा खटिने प्रहरीको कथा पनि उस्तै देख्छु। उही अभाव र खटाई। त्यसमाथि ‘लकडाउन’ मा मस्ती मार्न सडकमा हिँड्नेलाई किन लाठी हानेको भन्ने बकंफुसे फेसबुके आक्रोश। केही नगर्ने र गर्ने नपर्नेहरू बढी हिरो बनि टोपलिन्छन्। कसरी भन्नु, यो ‘ठालु हुने’ अधिकार प्रयोग गर्नु अगाडि एउटा ‘सिन्को त भाच्नुस’। कसैलाई एउटा मास्क वा स्यानिटाइजर त दिनुस्।
यस अवसरमा हरेक डाक्टर र चिकित्साकर्मीका आमा, बाबु र अभिभावकलाई पनि नमन छ। ती महान् आत्माहरूमा एक करुण पुकार छ, तपाईंको कोख महान रहेछ। तपाईंको सन्तती ‘चल्ने र बोल्ने भगवान’ बनेर अस्पतालमा विश्वयुद्ध लडिरहेको छन्।
हामी विश्वस्त छौं, यी जिउँदा भगवानको सामिप्यतामा हामी सफल हुनेछौं।