सर्वसाधारणको सोचाइ तथा भनाइअनुसार ‘सबै सरकारी कर्मचारीहरू सुखी हुन्छन्, उनीहरूको जीवनशैली सधैँ सहज हुन्छ, दुःख भोग्नुपर्दैन...’ आदि आदि। वास्तवमा यो सोचाइ र भनाइ सबै कर्मचारीहरूमा भने लागू हुँदैन। सरकारी सेवाका सिलसिलामा आफूले भोगेका कैयन असहज अवस्थाहरूमध्ये केही प्रसंगहरू यहाँ प्रस्तुत गरिएको छ।
लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि अरूहरूले खुसी मनाउँदै आफ्नो जीवन सुनिश्चित भएको ठान्छन् अनि साथीहरू तथा आफन्तहरूबाट बधाई पनि पाउँछन्। तर मेरो भने लोक सेवा परीक्षा उत्तीर्ण भएपछि खुसी हुनुको सट्टा निराशाको दिन सुरु भएको थियो। २०५६ साल माघको पहिलो हप्ता अन्तर्वार्तामा उत्तीर्ण भएपछि लोक सेवा आयोगको सिफारिस बमोजिम सुरु नियुक्तिका लागि सिँचाइ मन्त्रालय अन्तर्गत तत्कालीन मध्यमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालय, भनिमण्डल, ललितपुर पुगेँ।
म पुग्नुअघि अरू उत्तीर्ण परीक्षार्थीहरू निर्देशनालयमा पुगिसक्नुभएको थियो। लोक सेवा आयोगले दिएको सबैजनाको नियुक्ति सिफारिस भने मैले नै झोलामा बोकेको थिएँ। लोक सेवा आयोगको सिफारिस पत्र बोकेर नियुक्ति पत्र लिन म निर्देशनालयमा पुगेपछि प्रतीक्षारत सबैजनाको मुहार उज्यालो देखिएको थियो। सबैले तत्कालीन बागमती अञ्चलभित्रका दुर्गम जिल्लाहरू रोज्नुपर्ने थियो। तीमध्ये एकजनाका निम्ति जिल्ला सिँचाइ कार्यालय, धादिङका लागि नियुक्ति पत्र तयार हुँदै थियो, कोही सिन्धुपाल्चोकका लागि त कोही नुवाकोटका लागि नियुक्ति पत्र लिने क्रममा हुनुहुन्थ्यो। त्यसअघि उहाँहरूले आआफ्नो अनुकूलअनुसार नियुक्तिका लागि जिल्ला रोजिसक्नु भएको रहेछ। अन्तिममा त्यहाँ पुगेका कारण मैले बाँकी रहेको जिल्ला सिँचाइ कार्यालय, रसुवाका लागि नियुक्ति पत्र लिनुपरेको थियो। त्यो बेला नेपालका सरकारी कार्यालयहरूमा भर्खर भर्खर मात्र कम्प्युटरबाट पत्रहरू बन्ने प्रचलन आएको थियो।
निजामती जागिरको पहिलो निराशा
२०४० असोज ९ देखि सुरु गरेको संस्थान सेवा २०५६ सम्म आइपुग्दा संस्थानहरूको आर्थिक स्थिति ओरालो लाग्न थाल्यो। २०४६ सालमा प्राप्त प्रजातन्त्रपछि राजनीतिक हस्तक्षेपका कारण सरकारी संस्थानहरू अझ भन्नुपर्दा सरकारी औद्योगिक प्रतिष्ठानहरू डुब्दै जान थाले। यसै क्रममा म कार्यरत सरकारी उद्योग पनि अछुतो रहेन। उद्योगले कर्मचारी/मजदुरहरूलाई तलब-भत्ता खुवाउन नसक्ने अवस्था आएपछि लोक सेवा आयोगको परीक्षा दिई उत्तीर्ण भई निजामती सेवा त थालियो तर संस्थान सेवाको भन्दा निकै नै कम तलब भत्ता बुझ्नुपर्दा मेरो जीवनशैली नै बदल्नुपर्ने अवस्था आयो। संस्थान सेवाको पदभन्दा निजामती सेवाको एक श्रेणी माथिको पद भए तापनि आम्दानीमा भारी गिरावट आयो।
कार्यालय नभएको ठाउँमा पदस्थापन
नेपालमा संघीयता कायम भएपश्चात् कर्मचारी समायोजनपछि २०७५ सालमा मलाई नेपाल सरकारले मालपोत अधिकृतको रूपमा हालको मधेस प्रदेश (तत्कालीन २ नं. प्रदेश) अन्तर्गतको बाराको सिम्रौनगढमा पदस्थापन गर्यो। विवादका कारण त्यहाँ मालपोत कार्यालय सञ्चालन हुन नसकेको कुरा केही सञ्चार माध्यमहरूबाट समाचार पनि प्रकाशन भए। सो बखत म सार्वजनिक संस्थान निर्देशन बोर्डमा काजमा कार्यरत थिएँ। २०७६ सालमा म काजमा कार्यरत बोर्ड खारेज भयो। ‘कार्यालय नै नभएको ठाउँमा गएर कसरी हाजिर भएर कार्य गर्नु?’ भनेर भूमि व्यवस्थापन विभागमा गुनासो गरेपछि रोल्पास्थित मालपोत कार्यालयमा रिक्त रहेको मालपोत अधिकृतमा विभागबाट छ महिनाका लागि काजमा पठाउने काम भयो।
आफ्नै जिल्लामा कार्यालय प्रमुख
२०७६ साल फागुन २७ गतेदेखि म मालपोत कार्यालय रोल्पाको कार्यालय प्रमुखको हैसियतमा हाजिर भएँ, कार्यालयको तर्फबाट स्वागत कार्यक्रम भयो। अर्को दिन लेखापढी व्यवसायी संस्थाबाट पनि अलगै स्वागत गरियो। कम्प्युटर प्रणालीबाट काम हुने हुँदा कम्प्युटर अपरेटरबाट युजर नेम र पासवर्ड लिएर काम गर्न सुरु गरेँ। नामसारीको काम बाहेक अरू कामका लागि नायब सुब्बालाई अख्तियारी दिएँ। स्वास्थ्यमा पनि समस्या भएका कारण आरामका लागि आफूले सीमित काम गर्न थालेँ। हाजिर भएको केही दिनमै कोरोना संक्रमणका कारण सेवाग्राही आवतजावतमा कमी हुँदै आई सेवा प्रवाह नै ठप्प हुने अवस्था आयो। केही महिना कामकाज नै ठप्प हुन गयो। मलाई मालपोत कार्यालय रुचिको निकाय नभएकोले कार्यालय बन्द हुनु मेरा लागि एक किसिमले ठिकै लाग्यो। कार्यालय सञ्चालन नभएको बखत म आफ्नो जन्मथलो रोल्पाकै खुंग्रीमा गएर ८३ वर्षीय पिताजीसँग बसेर समय बिताउन पाएँ।
मोटरसाइकलबाट रोल्पा-काठमाडौँ कठिन यात्रा
२०७७ को असारको मध्यकाल, कोरोना सन्त्रासका कारण देशभर कडिकडाउको अवस्था थियो। चाबहिलस्थित मेडिकेयर अस्पतालमा फलोअपका लागि मलाई तोकिएको समयमा काठमाडौँ पुग्नुपर्ने नै थियो। बिहान सात बजे कार्यालयको मोटरसाइकल स्टार्ट गर्नुभयो कार्यालयका तत्कालीन खरिदार हरिभक्त खनालले। म मोटरसाइकलको सिटको पछाडिपट्टि बसेँ। धेरैलाई अचम्ममा पार्यो हाम्रो रोल्पा-काठमाडौँको मोटरसाइकल यात्राले। मोटरसाइकलको पछाडि बसेर मेरो दिनभरको यात्रालाई अनौठो नै मानियो त्यसमा पनि बिरामी अवस्थामा र कोरोना कहर कालमा।
लिबाङबाट प्रस्थान गरेको मोटरसाइकल एक घण्टामा मेरो जन्मथलो रोल्पाकै खुंग्रीस्थित घरअगाडि सडक छेउमा रोक्न भनेँ खनालजीलाई। घरमा रहनुभएका पिताजीलाई भेटेँ, चिया पियौँ र खानाका लागि भालुबाङमा आफन्तकोमा फोन गरेँ। आफन्त घरमा नभएर घोराहीमा रहेका कारण हामी सिधै बुटवल पुगेर त्यहाँ केही खाएर भोक टार्ने योजना बनायौँ। राजमार्ग दायाँ-बायाँ होटेलहरू खुला भएको मुस्किलले देखिन्थे। बुटवल पुग्नुअघि लिबाङबाट डेढ घण्टामा भालुबाङ पुगे पश्चात् महेन्द्र राजमार्ग पकडिएपछि मोटरसाइकलले रफ्तार लिएको थियो। सहकर्मी खरिदार दुब्ला-पातला ज्यानका भए पनि हिम्मतिला झैँ लाग्यो। बेलाबखतमा मोटरसाइकलको गति लिँदै गर्दा राजमार्गका खाल्डाखुल्डीका कारण घरीघरी उफ्रिनुपर्ने अवस्थाहरू पनि व्यहोरियो।
चन्द्रौटा पुगेपछि एउटा पसलमा बदामको सिलबन्दी जुस पिएपछि थकान कम भएको महसुस भयो। बुटवल पुग्दा दिउँसो बाह्र नाघिसकेको थियो। त्यहाँ रहेको कर्मचारी सञ्चयकोषको शाखा कार्यालयमा गएर स्टेटमेन्ट बुझायौँ। असारको महिना, पानी नपरेको अवस्थाका कारण गर्मी बढी हुनु स्वाभाविक नै थियो। थकाइ र भोक सँगसँगै लागेको थियो। बल्लबल्ल एउटा रेस्टुरेन्ट खुला रहेको देखेपछि त्यहाँ छिरेर सोध्दा चाउमिन मात्र उपलब्ध हुने जानकारी पाएपछि चाउमिन लियौँ र एकछिन आराम गरेर त्यसै दिन बेलुकीसम्म काठमाडौँ पुग्ने लक्ष्यका साथ हुइँकियौँ त्यसतर्फ।
रुपन्देहीको मुख्य सहर बुटवलबाट मध्याह्नको समयमा नवलपरासीको सुनवल कावासोती, बाउन्ने, दुम्कीबास, गैँडाकोट, हुँदै उज्यालो छँदै हामी नारायणगढ पुग्यौँ। त्यहाँबाट काठमाडौँतर्फ लाग्दा नौबिसेबाट ठाउँ-ठाउँमा ट्रिपरहरूको चेपबाट बच्दै विभिन्न बाधाहरू छिचोल्दै रातको नौ बजे बुढानीलकण्ठ पुगियो। भोलिपल्ट खरिदार मोटरसाइकल सर्भिसिङ गराउन लगाएर निजामती किताबखानामा कर्मचारीहरूको सम्पत्ति विवरण बुझाउन जानुभयो भने म फलोअपका लागि अस्पताल गएँ। ज्यान भने थकाइ र दुखाइले थिलथिलो भएको थियो।
पुनः त्रासदी फिर्ती यात्रा
एक हप्तामा सरकारी काम र अस्पतालमा फलोअपको काम सकिएपछि सुदूरपश्चिमतर्फ जाने एउटा स्कार्पियो गाडीमा ठाउँ पाइयो। मसहित अरू यात्रुहरू सो गाडीमा बस्यौँ र गन्तव्यतर्फ लाग्यो गाडी। खरिदार खनाल भने गाडीको पछिपछि मोटरसाइकलमा रफ्तार लिनुभयो। थानकोट हुँदै नागढुंगा पुगेपछि सुरक्षाकर्मीहरूबाट गाडी परीक्षण गरियो, मैले जिल्ला प्रशासन कार्यालयले दिएको पास देखाएँ। मेडिकल बोर्डले दिएको सिफारिस पनि देखाएँ, अरू यात्रुहरूले पनि आआफ्ना परिचयपत्र देखाए। नागढुंगाबाट नौबिसेसम्म आइपुग्दा सहकर्मी खरिदार खनालजीलाई हेर्दा उहाँ चढेको मोटरसाइकल नै देखिएन। फोन गर्दा अगाडि पुगेको जानकारी दिनुभयो। हामी चढेको गाडीलाई उछिनेर अगाडि पुगेर कुनै ठाउँमा बस्नुभएको रहेछ उहाँ। त्यसपछि गाडी मुगलिन पुग्दा अँध्यारो भइसकेको थियो, निद्रा लागेकोले एकछिन निदाएँ।
नारायणगढ कटेपछि केही समयमा नवलपरासीको ढण्डाबजारमा चालकले गाडी रोकेपछि हामी खानाको खोजीमा यताउता गरे तापनि खाना खाने स्थान भेटाएनौँ। राजमार्गका सबै होटेल तथा रेस्टुरेन्टहरू बन्द थिए सरकारी आदेश र निर्देशनअनुसार। केही कामचलाउ खानेकुरा पेटमा हालेपछि हामी सवार गाडी लाग्यो पश्चिमतर्फ। कोरोनाका कारण दिनहुँ जसो मृत्यु भएकाको संख्या र संक्रमितको संख्या, क्वारेनटाइन तथा आइसोलेसनमा रहेकाहरूको तथ्यांक समय समयमा सुनिँदै गर्दा कोरोनाका कारण देशभर संकटकाल कायमै थियो। मेरा आफ्नै नातेदार, छिमेकी, सहकर्मी र साथीहरूलाई समेत लग्यो त्यो कोरोनाले।
निद्राले गर्दा नवलपरासीका अधिकांश भाग, रुपन्देहीका केही भाग आइपुगेको पत्तै भएन। गाडी कपिलवस्तु पुग्दा छाडा गाईबस्तुहरू राजमार्गको तलमाथि गरेका र राजमार्गको बिचबाट हिँडिरहेका देखिन्थे। बिहानै झिसमिसेमा भालुबाङ आइपुग्दा गाडी रोकियो, गाडीवाला र चालकलाई धन्यवाद दिएर म ओर्लिएँ। म चढेको गाडी पिछा गर्दै आउनुभएका खरिदार खनालजीले मोटरसाइकलको पछाडि बसालेर महेन्द्र राजमार्ग छोडेर रोल्पातर्फ लाग्यौँ हामी। दाङको राप्ती गाउँपालिकाको सीमा सकिएपछि दरभान पुल पारीबाट प्युठानको सरुमारानी गाउँपालिका सुरु भयो। असारको महिना भएकोले जाडोको महसुस भएको थिएन। भालुबाङबाट हामी डेढ घण्टामै मेरो जन्मथलो रोल्पाको खुंग्रीमा पुगेर चिया पिएर खाना खान लिबाङ पुग्यौँ र कार्यालयको क्वार्टरमा पुगेर खाना खाई आराम गर्यौँ। कार्यालयमा सेवाग्राहीहरूको आवतजावत नभएकोले आराम गर्न सजिलो भयो।
जागिरको उत्तरार्ध
अस्वस्थताका कारण २०७७ चैतदेखि २०७८ भदौसम्म म भूमि व्यवस्था विभागमा काजमा रहेँ। सोही सालको असोजमा सरुवा भएपछि असोजको १२ गतेदेखि युवा तथा खेलकुद मन्त्रालयमा हाजिर भएँ। यसरी म मालपोत कार्यालय प्रमुख भएर खासै काम गर्न पाइनँ। अनिवार्य अवकाशको संघारमा रहेको र मालपोत मलाई मन नपर्ने कार्यालय भएकोले खेलकुद मन्त्रालयमा सरुवा भएपछि ढुक्क भएँ। खेलकुद मन्त्रालय आकर्षक निकायमा पनि गनिँदैन।
२०७५ सालमा मेरो पदस्थापन भएको बाराको सिम्रौनगढको मालपोत कार्यालयको स्थापना भने म अनिवार्य अवकाश भएको करिब दुई महिनापछि अर्थात् २०७९ साल भदौमा मात्र स्थापना भयो।