कविता
म चाहन्छु तिमी
हरेक प्रहर
सुनको पखेँटा लगाएर
हिमालयको चुलीमा पुग,
अनगिन्ती जादूका पुष्पहरू टिप्दै
विश्वका लयहरू पक्र,
सम्भावनाका किनारहरू पछ्याऊ,
समुद्रको गहिराई भेट्टाऊ
तिमीलाई नव वर्षको शुभकामना!!
तिमीले हेर्दै जानु छ!
कति गिज्याउँछ
कति छकाउँछ
दुनियाँले तिमीलाई,
तर पनि मिथ्याको
बादलबाट उम्केर
तिमीले भूलभुलैयाको अन्धकारलाई
चिर्नुछ,
तिमीले धर्तीका अल्झनहरूलाई फुकाउनुछ।
तिमी आफै सँग
रिसाए जस्तै
वर्ष भरि दुनियाँ सँग
रिसाइ राख्ने छुट भने हुने छैन,
तिमी सँग सधैं भरि
श्रृंगार पटारका लागि
मात्र ऐना हेर्ने छुट पनि हुने छैन
हरेक त्रास र
हरेक आत्मजिज्ञासाको
सामना गर्न पनि
तिमीले ऐनामा
आफ्नो अनुहार नियाल्नु पर्नेछ,
तिमी अब कुनै पुतली रहिनौ
तिमी त वीरताको गाथा
बोक्ने महात्मा बन्ने
साहस गर्नु पर्छ।
बाह्य कर्महरूले
इतिहास बन्ने गर्छन्,
तिमी आफैमा एउटा
इतिहास बन्नु पर्छ
आउने जाने पिढीले
तिम्रो जीवनको भोगाइहरू
पढ्ने बानी बसाल्नु पर्छ,
तिमी आँखा भरि
कृतज्ञता बोकी
हर तरह प्यासी बनी
जीवनको खोजमा निस्किनुपर्छ,
याद गर!
संसार एक्लो छ
प्रपञ्चलाई प्रशंसा गर्नुपर्छ
चमत्कारहरूलाई तौलिनुपर्छ
र हौसलाले हमेसा रंगीनु पर्छ।
फेरि पनि
तिमीलाई नव वर्ष २०८३ सालको
हार्दिक हार्दिक शुभकामना!!