मलाई सार्वजनिक यातायातमा यात्रा गर्न निकै मन पर्छ। यसका पछाडि धेरै कारण छन्। यसरी यात्रा गर्दा वास्तविक समाज र परिवेश देखिन्छ। सयौँ कथा, व्यथा अनि घटनाहरूको साक्षी बन्न पाइन्छ। सायद त्योभन्दा पनि धेरै आफ्नो धरातलको पोखरीमा डुबुल्की मार्न र समाजका हरेक दृश्यहरूको शिखर चढ्न पाइन्छ।
म केही दिनअघि अफिसको कामले बैतडीको गकुलेश्वर जानुपर्ने भयो। नयाँ ठाउँको यात्रा तर टाढाको बाटो। उत्साहित सँगसँगै कसरी जाने होला भन्ने दुवै भाव मिसिएको थियो। लागेँ यात्रा तिर। कलंकीबाट बिहान ११:३० बजेको दार्चुला जाने बस चढेको बल्लतल्ल गन्तव्यमा पुग्न सफल भएँ। त्यो पनि दाउन्नेको बिस घण्टाको जाम छिचोलेर। यस सुखदुख मिश्रित यात्रामा सयौँ यादगार क्षणहरू भए। त्यो मध्य अस्ट्रेलियन आमा मेरो स्मरणमा सधैँ रहिरहनु हुनेछ।
अस्ट्रेलियन आमा, नाम हामी बसका अन्य यात्रीले नै राखिदिएका थियौँ। कारण, दुई महिना अगाडि अस्ट्रेलिया बसेर फर्कनु भएको। घर धनगढी। भिसा थप्नु पर्ने भएर काठमाडौँ जानुभएको रे। स्वभाव निकै मिजासिलो र हँसिलो। केही कुरा निस्कियो भने उतै विदेशको कुरा जोडिहाल्ने।
महान् त त्यो हो जो पीडा लुकाएर हाँस्न र हँसाउन सक्छ। यस्तै गुण थियो उहाँमा। यसैले होला ५४ घण्टे यात्रा पनि पट्यारलाग्दो भएन। यसै क्रममा बसकै एकजना आन्टीले आमालाई उतैको भाषामा सोध्नुभयो, ‘अस्ट्रेलिया त खुबै राम्रो हुँदो होला नि है। यहाँ जस्तो दुःख त कतै हुँदैन हुँदो होला नि?’
अस्ट्रेलियन आमाले मिठो हाँसोसँगै भन्नुभयो, ‘विदेश त विदेश नै भयो नि। नियम कानुन पनि कडा। फेरि सबैले पालना गर्ने। सहर हेर्यो उस्तै, बाटो हेर्यो उस्तै, गाडी हेर्यो उस्तै। विकासै विकास छ नि, बाबै। कसैलाई फुर्सद छैन। गफ गरेर कोही बस्दैनन्। काम भनेको छन्, पैसा भनेको छन्, हिँडेको छन्। उधुम छ। जता हेर्यो त्यतै झिलिमिली। कता पुगिसक्यो नि विदेश त। जे होस् राम्रो छ। नसोचेको ठाउँ देख्न अनि टेक्न पाइयो। तर...’ त्यसपश्चात् आमा मौन हुनुभयो।
त्यो सुनिरहेको मैले सोधिहालेँ, ‘तर के नि आमा?’
आमा मतिर फर्केर भन्नुहुन्छ, ‘तिमी पनि भर्खरकै रहेछौ। विदेश नै ताकेर बसेको होला नि है?’
‘म त विदेशमा अडिन सक्दिनँ जस्तो लाग्छ आमा। यही माटो प्यारो लाग्छ। धेरै थोरै खान लगाउन पुगेको छ। अरू केही नभए पनि आत्मसम्मान त छ नि।’
आमा फेरि भन्नुहुन्छ, ‘हो है बाबु। खुसी लाग्यो। यही बस्नू है। यो माटोमा सबै कुरा छ।’
मैले हस् भन्दै मुस्कुराएँ।
उनै आन्टीले फेरि आमालाई सोध्नु भयो, ‘विदेश जान त गाह्रो भयो होला है?’
प्रश्नको जवाफलाई अन्तै मोड्दै, आमा सायद आफू भित्रका पीडाका ज्वालामुखी विस्फोटन गराउन थाल्नुभयो, ‘के गाह्रो सजिलो भन्नू खै? नभएको पनि बाध्यता आइपरेपछि जानै पर्ने रहेछ। तन उता भएर के गर्नु? मन यतै हुन्छ। न कसैलाई चिनेको छ, न कसैसँग बोल्नु छ। कोठामा जेलमा बसे जस्तै त हो। यहाँ अरूलाई विदेश गएको भनेर फुर्ती लगाउनु बाहेक केही छैन। सानैदेखि गाउँघरमा मेलापात गरियो। बाउआमाले कलिलो उमेरमै बिहे गरिदिए। बच्चाबच्ची भइहाले। दुखसुख गरेर, खाइ नखाई पढाइयो। बुढेसकालमा साथी होलान् भनेका छोराछोरी पनि विदेश पुगे। त्यो पनि ठुलो देशमा। तर पनि अब यो उमेरमा सहारा खोज्छु अनि सोच्छु। जवाफ भेटिए मरिजाऊँ।’
आन्टी सहमति जनाउँदै ‘हो त नि। विदेश भनेर के गर्नु, सबैको हालत यस्तै हुन लागिसक्यो।’
फेरि आमा अनवरत रूपमा भन्नुहुन्छ, ‘घरमा श्रीमान् एक्लै हुनुहुन्छ। आजकलको रोग, यो सुगर, प्रेसर के-के लागेको छ। आफै पकाएर खान खुब अल्छी गर्नुहुन्छ। साना नानीबाबुलाई फकाए जस्तो।’
आमा हाँस्दै फेरि भन्नु हुन्छ, ‘तर पनि के गर्नु? उमेर बढ्दै गएपछि आफ्नो भन्दा छोराछोरीको सुन्नु पर्ने। उनीहरूको खुसी हेर्नु पर्ने। यहाँ के छ, कसो छ उनीहरूलाई मतलब छैन। भन न त भन्छन् नि दुख नगर्नू, काम नगर्नू। भनेर के गर्नु? डलर कमाउनेहरूलाई आफैलाई नपुग्ने रहेछ। यहाँ त रुपैयाँ पनि आइपुग्दैन। बरु यताको पनि उतै लान पाए हुन्थ्यो भनेर सोच्छन् नि।’
बिचमा अरूले हो, होइन केही भन्न नपाई आमा अझ थप्नुहुन्छ, ‘बाबु-आमाको सन्चो बिसन्चो सोध्ने पनि कहाँ हुन् र बिदेसिएका छोराछोरीले। आफ्नो सन्तान हुने बेलामा एकैचोटि खबर गर्छन्, यता आउनु पर्यो भनेर। म पनि त्यही तेल भिसामा गएको हो नि। यसो गोठालो बन्न।’
आमा ठट्यौली शैलीमा हाँस्नु हुन्छ।
‘मलाई नि छोरा-बुहारीले उता आउनु भन्दा भनेको थिएँ नि- बाबु-नानी यहाँ बिरामी बुवा एक्लै, बस्तुभाउ छ, खेती पाती छ, कसरी आउनु? छोरा-बुहारी नै रिसाए। अनि भन्न थाले- हामीभन्दा, नातिनीभन्दा त्यही खेतीपाती बस्तुभाउ प्यारो छ है हजुरलाई? भन्न त मन थियो नि, उनीहरूले डलर कमाएर के गर्नु? यो बुढेसकालमा पनि यही बस्तुभाउ खेतीपातीले नै त गुजारा गरिरहेछौँ।’
आन्टीतिर हेर्दै आमाले भन्नुभयो, ‘के गर्नु नानी, बाध्यता पर्ने। जानै पर्यो। बुढेसकालमा सहारा होलान् भनेको यो उमेरमा पनि उनैको पछि लागेर बस्नु परेको छ। हाम्रो इच्छा, खुसी त कता हो कता।’
तब आन्टी भन्नुहुन्छ, ‘हो आमा, सबैको यस्तै छ। मेरा केटाकेटी पनि विदेश नै जाने हो भनेर खुट्टा उचालेर बसेको छन्। नजाऊ भन्न पनि नसकिने। सम्झिँदा नै दिक्क लागेको छ।’
आमा जवाफमा भन्नुहुन्छ, ‘हो नि नानी। सकेसम्म नपठाउनु है। यतै ठिक छ।’
आन्टीले भन्नुभयो, ‘खै के हो आमा। अरू सुनाउन न हजुरको त्यहाँको बसाइ।’
‘के सुनाउने खोइ? छोराछोरीले तेल भिसा नै सही, के-के नै हुन्छ होला भनेर गयो। जल जीवन जस्तो। न पकाउन जानिन्छ, न खान। उनीहरूले जे भन्छन् त्यही गर्यो। केही बिगार गरे छोरा-बुहारीले यो तपाईंको नेपाल जस्तो हो र? यति पनि जान्नुहुन्छ भन्छन्। लाग्छ अब नेपाल भन्ने देश पनि उनीहरूको होइन। हैन! जान्नु पनि कसरी? न पढेलेखेका छौँ, न संसार नै देखेको छौँ। आफूले डाँडाकाँडामा घाँसको भारीमाथि राखेर उनीहरूलाई हुर्काइयो। त्यो बिर्सिने रहेछन्। अनि उनीहरूको छोराछोरीको स्याहार गर्न जानेन भन्छन्। पुरानो भइयो। छोरा-छोरा हुर्के-बढेपछि जवाफ दिन पनि नमिल्ने। मन दुखायो। आफैभित्र रोयो। न पीडा पोख्न कोही हुन्छ। फर्कन सकिन्न। बस् सन्नाटालाई साथी बनायो। गाउँघर सम्झियो। गोठमा बाँधेका बस्तुभाउ सम्झियो। आँसु खसाल्यो।’
‘साँच्चै अरूको ठाउँ भनेको बिरानो नै हुने रहेछ। पच्चीस तिस वर्ष यही देशमा, यहीको माटोमा, यही समाजमा हुर्किएको बढेको नसम्झने रहेछन्। दुई चार वर्षमै छोरा छोरी विदेशी हुने रहेछन् या भनौँ बिदेसी पल्टने रहेछन्। उता गाडी किनेपछि यता बाबु आमाको चप्पल फाटेको पनि बिर्सने रहेछन्। घर किन्न लागेको छौँ भन्नेले यहाँ आफू जन्मिएको हुर्किएको घरको धुरी च्यातिएको नदेख्ने रहेछन्। देश, यो समाज, बाबु आमा त कता हो कता? भुसुक्कै बिर्सने रहेछन्। बस् यो बुढेसकालमा पनि उनीहरूले भनेको बेलामा उनीहरूकै काम गर्दिनु पर्यो। त्यति हो उनीहरूलाई चाहिने। भनेर के गर्नु। छोरा छोरी हुन। माया लाग्छ। त्यही भएर त यो बुढेसकालमा पनि यताउता गर्नुपरेको छ।’
आन्टीले भन्नुभयो, ‘हो नि। यस्तै हो संसार। उनीहरूले रहरले निम्त्याएका बाध्यता। हामी बाबुआमाको केवल बाध्यता।’
यस्तै अस्ट्रेलियन आमा र आन्टीको गफ चल्दै थियो। आमाको हाँसोमा रमाए तर रोदनमा डुबुल्की मार्ने सामर्थ्य भएन। जबरजस्ती निदाउने कोसिस गरेँ। रातभरि आमाका कुरा मनमा खेलिरहे। बिहान पाँच बजे तिर अत्तरिया पुगियो, आमाको गन्तव्य।
आमा झर्ने बेलामा उहाँको अनुहार हेर्न मन लाग्यो। हेरेँ। आमालाई मनमनै नयाँ ठाउँमा, ठुलो देशमा पुगेकोमा बधाई दिएँ। बाध्यताको तेल भिसा किन थपिनु परेको छ र? शुभकामना दिएँ। त्यसपश्चात् हाम्रो बस आफ्नै गन्तव्य दार्चुला तिर दौडियो। तर पनि मनमा कुरा खेलिरह्यो, ‘ती चाउरिँदै गएका छाला, फुलिसकेका केस अनि गल्दै गएका शरीरलाई तेल भिसा आखिर रहर कि बाध्यता?’