केटाकेटी हुँदा सुनको पिँजडाको कथा सुनेको थिएँ। कथामा सुनकै पिँजडा हुँदा पनि त्यो पिँजडाको सुगा सन्तुष्ट नभएको र आफ्नो मालिकलाई पिँजडाबाट छुटाउन अनुनय विनय गरेको उल्लेख गरिएको छ। यो कथाले सुगालाई स्वतन्त्र रूपमा घुम्न नपाउँदा सुनको पिँजडा अथवा स्वतन्त्रता बिनाको विलासिताले सन्तुष्टि दिन नसकेको पीडालाई चित्रण गरेको हुन्छ। सोमालियामा हुँदा यो कथा बारम्बार सम्झन्थेँ- मलाई लाग्थ्यो म पनि सुनको पिँजडाको सुगा जस्तै भएछु, सेवा-सुविधा र पारिश्रमिकको मापनबाट।
म सोमालियामा दुई वर्ष संयुक्त राष्ट्र संघ (स.रा.स) एजेन्सी युनिसेफमा कार्यरत थिएँ। सोमालिया उत्तर अफ्रिकी महादेशको द्वन्द्वग्रस्त राष्ट्र हो। यसको भूगोलको आकार जनावरको सीङ जस्तो देखिने भएकोले यसलाई हर्न अफ अफ्रिका यानेकि अफ्रिकाको सीङ पनि भन्ने गरिन्छ। शीत युद्धताका सोमालिया इटालीको अधीनमा थियो। यहाँ अल-सबाब भन्ने पृथकतावादी समूहले स्वतन्त्रताको जेहाद चलाइरहेको छ। सरासको कर्मचारी भएकोले हिँडडुलमा निकै प्रतिबन्ध थियो। सम्पूर्ण कर्मचारीहरूको निवास एउटा सुविधा सम्पन्न होटेलमा थियो। अफिस र होटेलको दूरी जम्मा दुई किलोमिटर छ। दैनिक आवतजावत होटेलबाट अफिस, अफिसबाट होटेल मात्र हुन्थ्यो।
पनट्ल्याण्ड राज्यको राजधानी गारावेमा मेरो पोस्टिङ थियो। अफिसमा विदेशी तथा स्थानीय कर्मचारीहरू थिए। शुक्रवार र शनिवार दुई दिन बिदा हुन्थ्यो। अफिस समय ८ बजेबाट ४ बजेसम्म थियो। अफिस सकेपछि गाडीले नै होटेलसम्म पुर्याउँथ्यो। हिँडेर जान प्रतिबन्ध थियो। बेलुकाको कसरतमा जिम, हिँडाइ, ब्याडमिन्टन र योगालाई दिन बिराएर मिलाएर गरिन्थ्यो- होटेलकै परिधि भित्र मात्र।
होटेलको कम्पाउन्ड झन्डै १० रोपनी जग्गामा फैलिएको थियो। होटेल तीन तल्लाको थियो भने प्रत्येक तल्लामा १५ वटा ठुलठुला कोठा थिए। म बस्ने कोठा २० फिट लम्बाई २० फिट चौडाइको ठुलो कोठा बाथरुम जडित थियो। टिभी हरेक कोठामा थियो। सबै सामानले सुसज्जित साझा जिम पनि थियो। मलाई हिँड्न बढी रुचि लाग्थ्यो। ब्याडमिन्टन पनि खेलिन्थ्यो- हावा बेस्सरी आउने भएकोले त्यति मज्जा आउँदैनथ्यो। हप्ताको दुई दिन योगा पनि गरिन्थ्यो। बिदाको बेला त्यो होटेललाई बेलुका ४ बजेबाट ६ बजेसम्म १०० पटक चक्कर लाउँथे- व्यायामको रूपमा अनि समय पनि बिताउन।
बेलुकाको खाना पनि होटेलमै हुन्थ्यो। खानाको स्तर उच्च थियो। अक्सर भात, रोटी, मासु, माछा, तरकारी, पास्ता, हुन्थ्यो। बिहानको ब्रेकफास्टमा अम्लेट, ओट्स, कर्नफ्लेक्स, फ्रुट्स, टोस्ट, टी, कफी हुन्थ्यो। केही आइटमहरू दैनिक रूपमा फेरबदल हुन्थ्यो। समग्रमा सुविधा सम्पन्न वातावरण तर चार दिवारभित्र मात्र। सुविधा सम्पन्न जेल जस्तो भन्दा अनुपयुक्त नहोला।
मेरो अफिस युनिसेफमा छ जना विदेशी कर्मचारी थिए। म नेपाली भएँ, एक घानाको, एक सेरालियोन, अस्ट्रेलियाको एकजना, एक भारतको र हाकिम हाफ फ्रेन्च हाफ ब्रिटिस थियो। बाँकी २० जना स्थानीय सोमालियाकै बासी थिए। मेरो युनिटमा तीन जना स्थानीय थिए- मोहमेद हसन मोहमुद, सुलेमान मोहमुद र रागे अहमद। एकजना महिला थिइन् फरडोसा नाम भएकी, राम्री चिटिक्क परेकी। अहिले उनी स्विडेनमा आप्रवासमा गएकी छिन् स्थायी रूपमै- फेसबुकमा देखिरहन्छु।
सार्वजनिक ठाउँमा महिलाहरू अक्सर बुर्का लगाउँछन्, पुरै अनुहार छोप्ने। तर अफिसका महिला कर्मचारी टाउको र कान मात्र छोप्थे। एक पटक एकजना बुर्का लाएको स्थानीय महिला कर्मचारीले मलाई ‘स्कवरण’ (कस्तो हुनुहुन्छ?) भने एकछिन त चिन्नै सकिनँ। म अलमलाएको देख्दा उनले आफ्नो नाम भनेपछि मात्र चिन्न सकियो।
मेरो दैनिकी- बिहान उठ्यो ६ बजेतिर, ब्रेकफास्ट ७:१५ मा खान गयो, ७:४५ बजे सबै बिदेसी स्टाफ एउटै गाडी (अफिसको भ्यान) मा बसेर अफिस गयो। १२ बजे लन्च ब्रेक हुन्छ। सबै विदेशी स्टाफ गाडीमै बसेर होटेलमै लन्च खान आयो। १ बजे फेरि गाडीमै अफिस गयो। ४ बजे सबै गाडीमै बसेर होटेल आयो। बेलुका कोठामै टिभी हेर्यो- अल जजिरा, सिएनएन अनि दुबईको मुभी च्यानलमा हिन्दी फिल्म हेरिन्थ्यो। साहरुख र सलमान खानको फिल्म निकै आउँथ्यो। फेमस रहेछन् यी दुई कलाकार यो भेगमा सायद त्यही कारण यी दुई कलाकारले निकै कमाइ गरेको।
अफिसको कामको आफ्नै टेन्सन हुन्छ नै। त्यो बाहेक यो दैनिकी- खानपान र उही मानिस अफिसमा पनि देखिने उही मानिस होटेलमा पनि देखिने हुँदा अचम्मको मानसिक अवस्था हुने रहेछ। कसैको त अनुहार नै हेर्न नपरे नि हुन्थ्यो भनेजस्तो! त्यस कारण हरेक ३० दिन मा ७ दिन छुट्टी हुन्थ्यो (रेस्ट एन्ड रिक्रिएसन)। म घरमै आउँथेँ। काठमाडौँ आउँदा गारावे, गल्कायु- मोगादिसु हुँदै केन्या को नैरोबीसम्म युएनको विमानबाट आउनु पर्थ्यो। नैरोबीबाट कतार वायुसेवाबाट दोहा हुँदै आउनु पर्थ्यो। ठ्याक्कै ३० घण्टा लाग्थ्यो गारावोबाट त्रिभुवन विमानस्थल पुग्न, बिचको ट्रान्जिट समेत। गारावे विमानस्थल कच्ची छ। प्लेन आउँदा बेस्सरी धुलो उडाउँथ्यो- उसै त यो ठाउँमा निके हुरी चल्छ। मरुभूमिको धुलो नेपालमा आयो भन्थ्यो हो जस्तो लाग्थ्यो। खास गरी जुलाई र अगस्ट महिनामा त झ्याल नै बज्ने गरी हुरी चल्छ। नेपालको मुस्ताङ जस्तै।
३० घण्टाको यात्राले दिमागमा प्रभाव त गज्जब हुने रहिछ। अनिन्द्रा, थकाइ तथा विमान भित्रको हावाको प्रेसरको कमीका कारण पुगेको दिनबाट २४ घण्टा पुरै डिस-ओरिएन्ट हुने। उत्तर दक्षिण दिशा नै छुट्टाउन गाह्रो हुने। कहिलेकाहीँ कतार एअरले बिजनेस क्लासमा प्रमोट गर्दिन्थ्यो- निरन्तर उडिरहने दर्जाको यात्रु भएकोले र मज्जाले सुतेर आइन्थ्यो। मलाई त लम्पसार नपरी निन्द्रै नआउने। इकोनोमी क्लासमा यात्राभरि अनिद्राले छटपटी हुने। जुनसुकै कुरा त्यागे पनि निद्रा त त्याग्नै नसक्ने। म सम्झन्छु, एसएलसीको बेला समेत ९ बजे बेलुका सुतेको, शाही सेनामा तालिम लिँदा रातभरि हिँडाएको पीडाले यस्तो तालिम कसरी पटक-पटक गर्ने भनेर जागिर छोड्ने बहाना बनाएको।
बिजनेस क्लासमा सुत्न मात्र पाइने होइन कि खाना र ड्रिङ्क पनि गज्जबकै हुने। बिजनेस क्लासमा आउँदा इसं १९७५ मा बनेको वाइन ख्वाएको थियो जसको स्वाद जिन्दगीभर बिर्सिन्नँ होला- भयंकर स्वादिलो, अति तिक्खर। २ वर्षको अवधिमा १५ पटक जति ओहोरदोहोर गरियो। एक पटक त नैरोबीको ट्रान्जिट रेस्टुरेन्टमा सलाद खाएको थिएँ, पुरै यात्रामा पखाला चलेको थियो। पटक पटक शौचालय जान सजिलो होस् भनेर प्लेनको शौचालय छेउकै सिटमा स्थानान्तरण गरेको थिएँ। सायद सलादको ड्रेसिङमा खराबी आएको हो कि या सलाद नै पनि राम्ररी नधोएको हो कि? विदेशीहरू त्यसैले बाहिर सलाद खान डराउँछन् जुन मलाई पनि उपयुक्त लाग्यो यो घटनापछि। आफूलाई परेपछि जानिने रहिछ।
पहिलो ५/६ महिना त रमाइलो नै भएको थियो। बैंक ब्यालेन्स सिट हेरेर रमाइलो लाग्थ्यो। यात्रा पनि मलाई रमाइलो नै लाग्थ्यो। तर परिवारसँगै नभएको र आइजाई गर्न गाह्रो तथा पिँजडाको वातावरण थियो। तथापि हरेक महिना घर आउने सुविधा त थियो नै। घर पुग्दा त निःसन्देह रमाइलो लाग्ने भई हाल्यो तर घर पुगेको भोलिपल्ट नै अब जाने दिन पनि नजिकिँदै छ भन्ने टेन्सन सुरु भइहाल्ने। मेरो घरकै माथिबाट कतारको विमान देख्दा अब यही विमानमा म पनि फर्कनु पर्छ भन्ने मनमा परिरहने।
यस्तो मलाई पहिले पनि हुन्थ्यो; नेपाली सेनाबाट प्राविधिक लप्टनको जागिर खाएर हिले ब्यारेकमा १५ दिन बस्दा अत्यास लागेर यस्तो डाँडा-काँडामा परिवार छोडेर बस्नु पर्ने जागिरमा जिन्दगी चलाउन सकिन्न भन्ने परेको म झलझलती सम्झन्छु र त्यसको ६ महिना मै जागिर छोडेको। त्यसै गरी वीरगन्जमा एउटा व्यापारिक भवनको सुपरभिजन गर्दा श्रीमतीलाई पनि सँगै लगेर गएको। तर संस्थामा जस्तो प्राइभेटको जागिर खाएकोमा आत्मसम्मानको महसुस नभएकोले १५ दिनमै जागिर छोडेर घरमै बिना काम बसेको। त्यसै गरी भुटानी शरणार्थी परियोजनाबाट पूर्वी नेपालमा खानेपानी इन्जिनियर भएर काम गर्दा १८ महिनापछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट नेपाली गैरसरकारी संस्थामा खाइपाइ आएको तलबभन्दा कम तलब स्वीकार गरेर काठमाडौँमै परिवारसँग बस्ने जागिर खाएको।
युनिसेफको स्थायी जागिर छोड्छु भनेर सोच्ने मानिस औँलामै गन्न सकिन्छ। गारावेमा हप्तैपिछे आउने देश विदेशका विज्ञहरूले युएनको जागिरमा पैसा टन्न भएको र यसले आगामी पुस्ताको भविष्य सुनिश्चित भएको बिचार व्यक्त गर्थे। एकजना भारतीयले भनेको सम्झन्छु- ‘त्याग एउटा पुस्ताले गर्यो भने सात पुस्तालाई सुख हुन्छ।’ अर्को सिरियाली नागरिक जो क्यानडामा आप्रवासी थिए, उनी पनि परिवारबाट टाढा लगनशील भएरै काम गरेर सन्तुष्ट भएको देखिन्थे। एकजना नर्वे जस्तो सम्पन्न देशका गोरा दुई/तीन महिना आउँथे काम गर्न। नेपालगन्ज जस्तो गर्मी ठाउँ हो गारावे- त्यहाँ दिनभरि घाम तापेर रमाउँथे। त्यसै गरी एकजना नेपाली थिए- पूर्व प्रहरी अधिकृत, साताको अन्त्यमा एक फुल बोतल (एक लिटर) रक्सी खाएर रमाउँथे।
यी पात्रहरूले भनेका र गरेको देख्दा मैले पनि जागिर खानु पर्छ भन्ने पर्थ्यो। तर अर्को मन भने म छोड्छु भन्ने पर्थ्यो। छोड्ने बीजको अङ्कुरण भइसकेको थियो। यो कुरा मैले फोन गर्दा श्रीमतीलाई सुनाउँथेँ। उनी भन्थिन्- किन छोड्ने र? तर मैले जिद्दी गरेपछि ‘तपाईँको बिचार’ भनेर म तिरै बल फ्याँकी दिन्थिन्।
एकातर्फ यस्तो जागिर कसरी छोडौँ भन्ने पर्ने अर्को तर्फ यही जागिर खान गाह्रो भइराखेको थियो। यसरी दुई बिचारको विरोधाभासपूर्ण द्वन्द्व सुरु भयो मेरो मनमा झन्डै १२ महिना बितिसक्दा। यो अवस्थाले मलाई मानसिक रूपमा विचलित बनाउँदै गएको भान हुन्थ्यो। एक पटक त केन्याबाट गारावे प्लेनबाट फर्कँदै गर्दा मेरो मनमा यस्तोसम्म पनि आयो कि, म आफै चढेको विमान दुर्घटना भए नि हुन्थ्यो जस्तो। यस्तो भयो भने ४-५ करोड कम्पेनसेसन आउने जसबाट परिवारको भलो हुने अनि आफू पनि यो झन्झटबाट मुक्त हुने। मान्छेलाई कस्तो-कस्तो पर्छ भन्ने ज्वलन्त उदाहरण मध्येको हो यो।
एकजना बंगलादेशको युएन सुरक्षा युनिट (युएनडिएसए) का कर्मचारी थिए। महमुद उनको नाम। मैले आफ्नो मनमा आएको कुरा उनलाई सुनाएँ। उनको प्रतिउत्तर थियो- ‘हेर दिनेश, हामीले भोगेको सुविधालाई निरन्तरता राख्न पैसा त चाहिन्छ नै- त्यसको लागि जागिर। मेरो दुइटा कार छ बंगलादेशमा, त्यसलाई धान्न त गाह्रो हुन्छ युएनको जागिर भएन भने। त्यसैले जागिर छोड्ने कुरा ठिक होइन।’
यो प्रतिकुल वातावरणमा मेरो हाकिमसँगको तालमेलमा पनि अलि कम सामञ्जस्य हुँदै गएको अनुभव भयो। वाटर एड पूर्वी टिमोरको कन्ट्री रिप्रिजेन्टिभको सर्वेसर्वा भूमिकामा ७ वर्ष काम गर्दा आफै हाकिम भइरहेकोमा युनिसेफ गारोवेमा फिल्ड अफिस हाकिम अनि नैरोबीमा प्राविधिक हाकिमलाई सन्तुलनमा राख्ने अनुभवको कमीले तादम्यता मिलाउन पनि मलाई अलि चुनौती नै भयो भन्ने लाग्छ। कार्यथलोको विषम परिस्थिति, परिवारसँग टाढिएको अवस्था र हाकिमसँगको सामञ्जस्यमा खलल बढेपछि जागिर आज छोडौँ कि भोलि हुन थाल्यो।
म अक्सर एकदिनमा आइजाई गर्न सकिने फिल्ड भिजिट गरिराखेको हुन्छु। यसले अलि तनाव पनि घट्छ र कामको वास्तविक अवस्था पनि थाहा भइरहन्छ। सोमालियामा प्रोजेक्ट भिजिट जान निकै जटिल छ। सेक्युरिटीको लागि चार जना सशस्त्र सुरक्षा गार्ड लानु पर्छ। बुलेट प्रुफ गाडी लानु पर्छ सम्भावित अपहरणबाट बच्न। तैपनि म पटक-पटक जान प्रयास गर्छु। समस्याको वास्तविक पहिचान र सेवा सुविधापछि आएको परिवर्तनको अवलोकन आफ्नो जिम्मेवारी भित्र नै पर्छ। फिल्ड भिजिट गर्नेमा म पहिलो नम्बरमै आउँछु। बस्ती हेर्नु, मानिससँग कुरा गर्नु मलाई मन पर्छ।
मानिसहरू अति नै गरिब छन्। पानी नभएकोले खेती हुन्न। मुख्य पेसा पशुपालन नै हो। पशु चराउन जाने प्रत्येक घरको व्यवसाय भित्र पर्छ। अहिले मसँग काम गर्दै गरेका मेरा स्टाफहरू केटाकेटी हुँदा पशु चराउन महिनौँ हिँडेको अनुभव सुनाउँछन्- जसरी मेरो पुस्ताका गाउँघरमा हुर्केका अधिकांश नेपालीहरू पनि सानोमा गाई भैँसी चराउन जाने गरेका हुन्छन्। पानीको श्रोत भनेको भूमिगत जलश्रोत नै हो। डीप ट्युबवेलमार्फत पानी तानेर ओभरहेड ट्याङ्कमा जम्मा गरी धारामा वितरण गरिन्छ। बस्तीहरू बिस-तिस घरको हुन्छ र छरिएका हुन्छन्। घर अक्सर एक तल्लाको हुन्छ- फिनिसिङ साह्रै तल्लो गुणस्तरको हुन्छ। नेपालको तराई भेगको हुलाकी राजमार्गको दक्षिण तिर पनि यस्तै स्तरका घर र वातावरण पाइन्छ। सरसफाइको लागि शौचालयको कार्यक्रम लागु गरिएको थियो- पूर्ण सरसफाइ कार्यक्रम।
यसै बिचमा एउटा अप्रत्याशित घटना घट्यो- अप्रिल १८, २०१५ को दिनमा। म र मेरो हाकिम बन्दर्बेला भन्ने समुद्री तटीय बस्तीमा प्रोजेक्ट साइट भिजिटमा गएका थियौँ, जम्मा तीन दिनको भ्रमण। ३ वटा सेक्युरिटीको गाडीमा १२ जना सशस्त्र गार्डको सुरक्षा बन्दोबस्त गरेर एम्बुलेन्स र डाक्टर पनि सँगसँगै लानु पर्थ्यो। यही अवधिमा गारावेमा युनिसेफको गाडीमा आत्मघाती बम हमला भएर त्यो गाडीमा रहेका ४ जना (एक अफगानी, दुई जना केनियन र एकजना युगाण्डाली) को तत्काल मृत्यु तथा बाँकी २ जना (एकजना सेरालियोनकी महिला स्टाफ, एकजना सोमालियन ड्राइभर) सिकिस्त घाइते भएका थिए। एकजना घानाको चाहिँ केही भएन।
आफ्नो भाग्य नै भनौँ, म त्यो मितिमा गारावेमा नभएकोले बचेको हो। संयोग नै भनौँ, त्यो यात्रामा म आफैले जान्छु भनेर गएको थिएँ, जाने कुनै पूर्वयोजना थिएन। म अन्धविश्वासमा पटक्कै विश्वास नगर्ने मानिस हो तर एउटा प्रसङ्ग यहाँ उल्लेख नगरी नसक्ने भएँ। यो घटनाभन्दा २ हप्ता अगाडि म रेस्ट एन्ड रिक्रिएसन अन्तर्गत काठमाडौँ आएको थिए। टुँडिखेलको माहांकाल देवतामा पात्र-पूजा गरेको थिएँ। यो देउताको म र मेरो परिवार पाला: ( पुजारी ) हो। यो घटना र यो पूजाको समय मिल्नु एउटा संयोग मात्र पनि हुन सक्छ अथवा केही अदृश्य शक्तिको कमाल पनि हुनसक्छ। तर भित्री मनमा मलाई यो घटनामा म जोगिनुको मुख्य कारण मेरो सकारात्मक सोचाइ नै हो भन्ने लाग्छ। यो सोच मलाई त्यो अदृश्य शक्तिले दिएको हो कि त्यसरी पनि सोच्न सकिने भयो।
अक्सर हाकिमसँग टाढै रहँदा रमाउने मनोविज्ञान थियो हामी एक्स्पाटहरूमा। हाकिम बन्दर्बेला जाने भन्ने कुरा थाहा पाएदेखि मेरा सहकर्मीहरू अब तीन दिन अफिसमा राम राज्य हुने भयो भनेर रमाउन थालिसकेका थिए। ठिक त्यसको विपरीत म रामराज्य नरोजीकन हाकिमसँगै जाने सोच बनाएँ। यो सकारात्मक सोचको नतिजा हो भन्ने म ठान्दछु। सकारात्मक सोचको यत्रो ठुलो पुरस्कार– पुरस्कारको रूपमा मैले जीवनदान पाएँ। जीवनदान! यो घटनाले आगामी दिनहरूमा मलाई अझ सकारात्मक हुन हौस्याएको अनुभूति छ।
तर यो घटनाले मेरो मनमा थप उथलपुथल बनायो। तत्काल मेरो मनमा आएको थियो कि, यो घटना मेरो जीवन चक्रमा आएको भूकम्प हो, यसको पराकम्प मेरो जिन्दगीमा आउने छ नै। भूकम्पले त मलाई केही असर गरेन हालाकी पराकम्पले युनिसेफको स्थायी जागिरसँग विच्छेद गरायो। मैले स्वेच्छाले राजीनामा दिएँ। यसो भन्दा मानिसहरू विश्वास गर्दैनन्- युनिसेफको स्थायी जागिर कसैले छोड्छ र? सबै को मनमा यो प्रश्न उठ्छ नै। तर यो कुरा सत-प्रतिसत साँचो हो।
नेपाल फर्केर म परिवारसँगै बस्न पाएँ। लगत्तै अक्सफाम भन्ने संस्थामा जागिर पाएँ। भूकम्प पुनर्निर्माण कार्यक्रमअन्तर्गत भूकम्प पीडित नेपाली जनतालाई खानेपानी तथा सरसफाइ कार्यक्रममार्फत देश र जनताको सेवा गर्ने अवसर प्राप्त भयो। अहिले फ्रीलान्सर भएर इन्गेज छु। साइकलमा हिमाल पहाड डुल्छु।
निष्कर्षमा युनिसेफमा असमयमै जागिर छोड्दा बैंक ब्यालेन्स पक्कै पनि सापेक्षिक रूपमा कम भएकै हो। तर म पारिवारिक व्यक्ति हुँ। एकजना पारिवारिक व्यक्तिको लागि उसको परिवार महत्त्वपूर्ण हुँदो रहेछ जीवनलाई सार्थक बनाउन। म जस्तो प्रकृतिको मानिसको जीवनरूपी रथ बैंक ब्यालेन्सबाट मात्र चल्दैन रहिछ, विगतका अनुभवको आधारमा। मलाई परिवार नै साथ हुनै पर्ने रहेछ- त्यो अवस्था नभएकै कारण मैले यो जागिर पनि पहिला ३ वटा जागिर छोडे जस्तै छोडेछु।






