समयको रफ्तारले हामीलाई सहरको भिडभाड र मेसिनजस्तो जिन्दगीमा ल्याएर पछारिदिएको छ। तर जब माघको कठ्याङ्ग्रिने जाडो सुरु हुन्छ, मेरो मन भने पहाडका उकाली-ओराली र खोलाका बगरतिर दौडिन थाल्छ। आज सम्झिँदा लाग्छ— त्यो बेला हामीसँग हातमा मोबाइल थिएनतर पूरै प्रकृति साथी थियो।
माघे संक्रान्ति आउनुअघि नै हाम्रो बाल-टोलीको एउटै लक्ष्य हुन्थ्यो— वन-तरुलको खोज। हातमा झम्पल र कोदालो बोकेर जंगल चहार्दा भेटिने त्यो तरुलको खोज निकै रोमाञ्चक हुन्थ्यो। जमिनमुनि कति गहिरो गाडिएको छ भन्ने कुराले हाम्रो धैर्यताको परीक्षा लिन्थ्यो।
साथीभाइ मिलेर माटो खन्दा निस्कने त्यो माटोको बास्ना आजका कुनै महँगा अत्तरमा कहाँ पाइनु? त्यो खन्दा लागेको हिलो र कोतारिएका हातहरूमा एउटा छुट्टै गर्व हुन्थ्यो। हामी तरुल मात्र खन्दैनथ्यौँ, सामूहिक मिहिनेतको एउटा सुन्दर जग पनि खनिरहेका हुन्थ्यौँ।
त्यो बेलाको अर्को अविस्मरणीय पाटो— खोलाको तिर र बाल-सुलभ जिज्ञासा। माघको चिसो पानीमा पसेर ढुङ्गा पल्टाउनुको मजा नै बेग्लै! ढुङ्गामुनि लुकेर बसेका असला माछाहरूलाई समात्ने र फेरि पानीमै छोडिदिने त्यो खेलमा एउटा छुट्टै निर्दोष आनन्द थियो। ती चिप्लेटी खेल्ने माछाहरूलाई हातले छोएर उनीहरूको संसार बुझ्नु र फेरि स्वतन्त्र छोड्दिनुमा एउटा अनौठो सन्तुष्टि मिल्थ्यो। खोलाको कलकल संगीत र साथीहरूको हाँसोले बगर नै गुञ्जायमान हुन्थ्यो।
त्यो बेलाको उदारता पनि कस्तो गज्जब! कसले धेरै खन्यो वा कसले ठुलो तरुल फेला पार्यो भन्ने अहङ्कार कहिल्यै भएन। जे भेटिन्थ्यो, सबैको भागमा बराबर हुन्थ्यो। प्रकृतिको त्यो वरदानलाई हामी सबैले उत्सवको रूपमा साट्थ्यौँ। हामीसँग भौतिक सम्पत्ति कम थियो तर मन कति फराकिलो थियो!
आज माघ १ गते आउनुअघि नै बजारमा तरुलको चाङ लाग्छ। तर ती प्लास्टिकका झोलामा न त त्यो माटोको मौलिक बास्ना छ, न त त्यो जंगलको स्वतन्त्रता। हामी 'आधुनिक' त भयौँ तर त्यो बाल्यकालको निर्दोषता र प्रकृतिको काख भने सहरको व्यस्ततामा कतै हरायो।
अहिले सम्झिँदा ती खोलाका माछाहरू र जंगलका चराचुरुङ्गीहरूसँगको त्यो आत्मीय सामीप्य झन् प्रिय लाग्छ। आज हामीसँग सबथोक छ तर त्यो बाल्यकालको 'निर्दोष हाँसो' कता छुटेछ, पत्तै भएन।