वीर अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ प्राध्यापक डा. सुधांशु केसी ओपिडीमा बिरामी जाँच्दै थिए।
लामो समयदेखि जन्डिस पीडित एक महिलाले भनिन्, 'जानेबुझेका सबै उपचार गरेँ, तर जन्डिस ठिक भएन। के गर्ने होला?'
डा. केसीले भने, 'तपाईंले अहिलेसम्म जन्डिस निको पार्न के-के गर्नुभयो?'
'एक ट्रक त उखु नै खाएँ होला,' बिरामी महिलाले विस्तार लगाइन्, 'आधा ट्रक मेवा र दुई बक्सा ग्लुकोज पनि खाएँ। काठमाडौंका सबैजसो आयुर्वेदिक औषधालयमा देखाएर औषधि खाँदा पनि जन्डिस जस्ताको तस्तै छ।'
यति मात्र होइन, उपचारका नाममा तीन-चार लाख रूपैयाँ खर्च गर्दा पनि जन्डिस 'बीसको उन्नाइस' नभएपछि निराश भएर उनले विष सेवनधरि गरिछन्।
धन्न परिवारले समयमै अस्पताल पुर्याए; उनी बाँचिन्!
यसरी विष खाएर वीर अस्पताल आइपुगेपछि एक जना डाक्टरले 'जन्डिस निको पार्ने भए सुधांशु केसीलाई भेट्नू' भनेर सुझाएका रहेछन्।
यो आजभन्दा एक महिनाअघिको घटना हो।
हामी जन्डिसका बिरामीले सामान्यतया के कस्ता गल्ती गर्छन् भन्नेबारे कुराकानी गर्न जाँदा डा. केसीले सुरूमा तिनै महिला बिरामीको चर्चा गरे।
करिब ४० वर्षकी ती महिलालाई 'गिलबर्ट सिन्ड्रोम' भएको रहेछ। यो कलेजोसम्बन्धी सामान्य अवस्था हो। कलेजोले कुनै खास तत्त्व (इन्जाइम) कम उत्पादन गर्यो भने गिलबर्ट सिन्ड्रोम हुन्छ। कसैलाई यो जन्मजात हुनसक्छ। गिलबर्ट सिन्ड्रोम भएकाहरूको आँखाको सेतो भाग पहेँलो हुन्छ। यसले शरीरलाई हानि गर्दैन। त्यसैले उपचार आवश्यक नहुने डा. केसी बताउँछन्।
'सामान्यतया धपेडी, तनाव र अनिद्राले यस्तो समस्या देखिनसक्छ,' उनले भने, 'धेरै समय भोकभोकै बस्दा र ज्वरो आएको बेला पनि यस्तो हुनसक्छ।'
डा. केसीले ती महिलालाई गिलबर्ट सिन्ड्रोम भएको थाहा पाएपछि उपचार आवश्यक नपर्ने र जन्डिस निको भएन भनेर चिन्ता मान्नुपर्ने जरूरत पनि नभएको परामर्श दिएर पठाएका थिए।
गिलबर्ट सिन्ड्रोमलाई लिएर केसीको आफ्नै अनुभव पनि रोचक छ।
आठ कक्षा पढ्दा उनको आँखा पहेँलो भएपछि आमाले महाबौद्धको आयुर्वेदिक औषधालयमा उपचार गराउन लगिछन्। वैद्यले औषधि दिँदै महिनादिन मासु नखानू भनेछन्। उनको जन्डिस निको हुन एक महिना पनि लागेन, तर औषधि महिनादिन खाइरहे।
नौ कक्षा पढ्दा फेरि त्यस्तै भयो। आमाले उनै वैद्यकहाँ लगिन्। वैद्यले अघिल्लोपटक जस्तै औषधि दिए र महिनादिन मासु खान रोक लगाए।
अर्को वर्ष पनि आँखा पहेँलो देखियो। छोरालाई फेरि जन्डिस भयो भनेर आमाले उनै वैद्यकहाँ लैजान खोजिन्। यसपालि भने केसी जान मानेनन्।
'शरीर कमजोर भएको थिएन। अरू रोगको लक्षण पनि थिएन,' केसीले भने, 'त्यसैले केही भएको छैन भन्ने आत्मविश्वास भयो र वैद्यकहाँ नजाऔं भनेँ।'
अलि ठूलो भएपछि उनले आफ्नो समस्या थाहा पाए — उनलाई गिलबर्ट सिन्ड्रोम भएको रहेछ!
'गिलबर्ट सिन्ड्रोम भएको मान्छेलाई बिनाकारण जन्डिसको औषधि खुवाइयो। म जस्तो मासुप्रेमीलाई एक महिनासम्म मासु नखान भनियो,' केसीले भने, 'बेकारमा खाएको त्यो तितो औषधि सम्झियो भने अझै रिस उठ्छ।'
अहिले पनि डा. केसीलाई बढी दौडधुप गर्दा आँखा पहेँलो हुन्छ। सानो छँदा अबेरसम्म पढ्नाले निद्रा नपुगेर र धेरै तनाव लिएर आँखा पहेँलो हुने गरेको उनी बताउँछन्।
केसीको आफ्नै अनुभव र उनले उपचार गरेका महिला बिरामीको घटनाबाट हामीले के थाहा पायौं भने, जन्डिसबारे सही ज्ञान र सूचना नपाउँदा बिरामीले अनाहक दु:ख पाइरहेका छन्। ती महिलाले बिनासित्ति एक ट्रक उखु, आधा ट्रक मेवा र दुई बक्सा ग्लुकोज खानुपरेछ। बेकारमै तीन-चार लाख रूपैयाँ खेर गएछ। समयमै राम्रो स्वास्थ्य परामर्श पाएकी भए न उनले तनाव भोग्नुपर्थ्यो, न पैसा खेर जान्थ्यो।
त्यसो भए जन्डिसका बिरामीले सामान्य रूपमा गर्ने गल्ती के के हुन् त? ती गल्तीबाट उनीहरूले के कस्ता दु:ख पाइरहेका छन्?
अब हामी यी प्रश्नमाथि चर्चा गरौं।
डा. केसीका अनुसार जन्डिस आफैंमा कुनै रोग होइन, रोगको लक्षण मात्र हो। खासगरी हेपाटाइटिस र कलेजो रोग लाग्दा जन्डिस देखिन्छ। त्यसबाहेक अरू पनि थुप्रै रोग छन्, जसको लक्षणका रूपमा जन्डिस देखापर्छ। तर धेरै मान्छे रोग पहिचान गरी उपचार गर्नभन्दा लक्षण (जन्डिस) कै उपचारमा प्रशस्त समय र पैसा खर्च गरेपछि बल्ल अस्पताल आउने गरेको उनको अनुभव छ। कतिपय अवस्थामा यसले घातक परिणाम ल्याउन सक्छ। यो स्टोरीमा हामी यस विषयमा पनि चर्चा गर्नेछौं।
जापानबाट कलेजोमा पिएचडी गरेका डा. केसी वीर अस्पतालका अतिरिक्ति बेलुकी नर्भिक अस्पतालमा काम गर्छन्। बिजुली बजारमा उनको क्लिनिक पनि छ, जहाँ उनी बिहान साढे ६ देखि साढे ८ बजेसम्म हुन्छन्। डा. केसीले आफ्नो २० वर्षको अनुभवका आधारमा जन्डिसका बिरामीले मुख्य गरी ९ वटा गल्ती गर्ने बताए।

पहिलो गल्ती
बिरामीले आफूलाई के कारणले जन्डिस भयो भनेर जचाउन अस्पताल जानुभन्दा परिवार र वरपरका व्यक्तिसँग सोधपुछ गर्न थाल्छ।
सोधपुछ गर्दा धेरैले मुख बार्ने सल्लाह दिन्छ। ऊ तेल र बेसार नहालेको, नुन कम राखेको खाना खान थाल्छ। माछामासु त छुँदै छुँदैन। प्रशस्त पानी पिउँछ। जडिबुटी, उखु, मेवा, कुभिन्डो लगायतका खानेकुरा चाहिनेभन्दा बेसी खान्छ।
त्यति गर्दा पनि जन्डिस निको भएन भने ऊ आयुर्वेदिक औषधालय वा 'जन्डिस उपचार केन्द्र' का नाममा खुलेका क्लिनिक जान्छ। त्यहाँ गएर आयुर्वेदिक औषधि खाँदा पनि जन्डिस ठिक नभएपछि अन्तिममा अस्पताल आउँछ।
डा. केसीको अनुभवले भन्छ — विभिन्न ठाउँ चहारेर अस्पताल आइपुग्दासम्म बिरामीले जन्डिस उपचारका नाममा थरीथरीका औषधि र जडिबुटी खाइसकेको हुन्छ। कलेजो रोगका कारण जन्डिस भएको रहेछ भने त ती औषधिकै असरले उसको स्वास्थ्य थप खराब भइसकेको हुन्छ।
'जडिबुटिले पनि कलेजोलाई असर गर्छ र?'
हाम्रो यो प्रश्नमा केसीले भने, 'कलेजो स्वस्थ छ भने जडिबुटी वा अरू औषधि खाँदा छानेर पठाउन सक्छ। तर कलेजो बिग्रिएर जन्डिस भएको रहेछ भने जडिबुटी पनि घातक हुनसक्छ। त्यसले कलेजोलाई झन् असर गर्छ।'
'अत्यधिक मदिरा सेवनले अल्कोहोलिक हेपाटाइटिस हुन्छ र जन्डिस देखिन्छ। यस्ता बिरामीले मदिरा सेवन गर्न त छाड्छन्, तर जडिबुटी र अरू जथाभाबी औषधि खाएका हुन्छन्। त्यसले पेट फुल्ने र समस्या झन् बल्झिने हुन्छ।'
'आफूखुसी उपचारमा लाग्नु बिरामीले गर्ने पहिलो गल्ती हो,' डा. केसीले भने, 'जन्डिस आफैंमा रोग नभएपछि यसको उपचार भन्ने हुँदैन। रोग पहिचान गरेर त्यसको उपचार गर्नुपर्छ।'
दोस्रो गल्ती
एकचोटि डा. केसीकी फुपूलाई जन्डिस भएछ। त्यति बेला केसी विदेशमा थिए। फर्केर आउँदा फुपूले वैद्यको औषधि खान सुरू गरिसकेकी रहिछन्।
फुपूको घरमा एउटा स्टोर कोठा थियो। त्यो कोठा खोलेर हेर्दा आधा ठाउँ मेवाले भरिएको केसीले देखे।
उनले तत्कालै फुपूलाई अस्पताल लगे; जचाए। जन्डिस निकै धेरै थियो। अल्ट्रासाउन्ड गरेर हेर्दा पित्तनलीमा ढुंगा जमेको देखियो। ढुंगा निकालेपछि तीन दिनमा जन्डिस ठिक भयो।
'पित्तनलीको ढुंगाले एकदमै धेरै जन्डिस हुन्छ। मान्छेलाई अप्ठ्यारो नै पार्छ,' डा. केसीले भने, 'यस्तोमा उहाँले मेवा मात्र खाएर बसेको भए के हुन्थ्यो!'
'जन्डिसको कारण पत्ता नलगाई खानेकुरा बार्नु बिरामीले गर्ने दोस्रो गल्ती हो,' उनले भने।
यसका लागि जन्डिसका मुख्य कारण के के हुन्, त्यो बुझौं।
डा. केसीका अनुसार जन्डिस विभिन्न रोगको लक्षण हुनसक्छ। गिलबर्ट सिन्ड्रोमजस्तो सामान्य अवस्थामा पनि जन्डिस देखिन्छ भनेर माथि भनिसक्यौं। यसबाहेक हेपाटाइटिस, कलेजो रोग, पत्थरी, मुटुरोग, जनै खटिरा र टाइफाइड हुँदा पनि जन्डिस देखिन सक्छ। मुटुले ठिकसँग रगत पम्प गर्न नसकेको अवस्थामा पनि जन्डिस हुन्छ। क्षयरोगको औषधि खाइरहेका बिरामीलाई पनि जन्डिस हुनसक्छ।
पित्तनलीमा पत्थरी हुँदा, मासु पलाउँदा वा पित्तनलीको क्यान्सर हुँदा जन्डिस देखिनु सामान्य हो। त्यस्तो अवस्थामा पित्त बग्न पाउँदैन र जन्डिस हुन्छ। कसैलाई त कलेजो स्वस्थ हुँदा पनि जन्डिस देखिन्छ।
त्यस्तै, 'हेमोलाइटिक एनिमिया' रोग भएकालाई पनि जन्डिस हुन्छ। यसमा कलेजो त स्वस्थ हुन्छ, तर रातो रक्तकोष सामान्य अवस्थामा भन्दा बढी टुक्रिँदा कलेजोले राम्ररी काम गर्न सक्दैन र जन्डिस देखिन्छ।
यी सबै जन्डिसमा मुख बार्नुपर्दैन। डा. केसीले केही उदाहरण दिए —
हेपाटाइटिस र अल्कोहोलिक हेपाटाइटिसका कारण जन्डिस भएको छ भने मुख बार्ने होइन, बरू झन् बढी सन्तुलित खानेकुरा खानुपर्छ। त्यो बेला बिरामीको कलेजो कमजोर हुन्छ। माछामासु खाएर शरीर बलियो भएपछि रोग प्रतिरोधात्मक क्षमता बढ्छ र चाँडै निको हुन्छ।
कसैलाई मुटुरोग लागेर जन्डिस भएको छ र उसले जन्डिस हुँदा पानी धेरै खानुपर्छ भनेर गाग्रीका गाग्री खाइदियो भने त सास फेर्नै गाह्रो हुन्छ।
क्यान्सरका कारण जन्डिस भएको व्यक्तिले खानेकुरा बारेर विभिन्न थरीका औषधि मात्र खायो भने कमजोरीले ज्यानै जान सक्छ।
त्यही भएर डा. केसीले आफूकहाँ आएका अधिकांश जन्डिस बिरामीलाई मासुभात खान सुझाव दिने गरेका छन्। यसरी मासुभात खानुस्, मःम खानुस् भन्दा बिरामी र बिरामीका आफन्तसँग विवाद परेका दर्जनौं अनुभव उनीसँग छन्।
'मेरो सुझाव मानेर मासुभात खानेहरू समयमै निको भएका छन्,' उनले वीर अस्पतालमा उपचार गरेका दुई जना बिरामीको उदाहरण दिए।
१८-१९ वर्षका किशोर र किशोरी एक दिनको फरकमा भर्ना भएका थिए। जन्डिस भएपछि दुवैले विभिन्न जडिबुटी खाएछन् र अवस्था बिग्रिएपछि अस्पताल आएका रहेछन्।
परीक्षणपछि थाहा भयो — दुवैलाई हेपाटाइटिस ई भएको रहेछ।
किशोरलाई भेट्न खासै धेरै मान्छे आउँदैनथे। डा. केसीले उनलाई 'के-के खानुभएको छ' भनेर सोधे। किशोरले जन्डिस भएदेखि मासु नखाएको बताए।
केसीले उनलाई त्यसै दिन मासुभात खान सल्लाह दिए। किन मासुभात खानुपर्छ भनेर कारण पनि खुलाए।
डाक्टरले नै भनेपछि किशोरले 'हुन्छ' भने।
सँगैकी किशोरीलाई पनि त्यसरी नै मासुभात खान सल्लाह दिँदा उनी जिल परिन्; उनका कुरूवा चकित खाए। लामो परामर्शपछि उनीहरू राजी भए।
केही दिनमा दुवै डिस्चार्ज भए।
दस दिनपछि फलोअपमा आउँदा किशोरको स्वास्थ्यमा निकै सुधार देखियो। डा. केसीले मासुभात खाने सुझाव सजिलै मानेकोमा उनको प्रशंसा पनि गरे।
त्यसकै भोलिपल्ट किशोरी पनि फलोअपमा आइन्। उनको जन्डिस आधा पनि घटेको थिएन। सोधपुछबाट थाहा भयो, उनले मासुभात खान्छु भनेर ढाँटेकी रहिछन्। उनको जन्डिस कम हुन निकै समय लाग्यो।
'एउटै किसिमको समस्या, तर खानाले कति प्रभाव पार्छ भन्ने यिनै दुई जनाको उदाहरणबाट थाहा हुन्छ,' उनले भने।
यो सुनेपछि हामीले डा. केसीलाई प्रश्न गर्यौं, 'त्यसो भए जुनसुकै कारणले जन्डिस हुँदा खाना बार्न नपर्ने हो?'
जबाफमा उनले भने, 'कलेजो रोग लागेको मान्छे बेहोसीमै जाने अवस्था छ भने मासु नखानू भन्ने हो। तर हेपाटाइटिसका कारण जन्डिस भयो भने मासुभात नै खाने हो। मासुभात खाएर शरीर बलियो बनाएर रोग जित्ने हो। जन्डिसमा खाना बार्ने भनेको एकदम गलत बुझाइ हो।'
'यो बुझाइले कति गहिरो जड गाडेको छ भने, जन्डिस भएर आएकालाई मासुभात खानुस् भन्दा कतिपयले रोग बिगार्ने यस्तो पनि डाक्टर हुन्छ भनेर गाली गरेका छन्,' उनले अगाडि भने, 'उनीहरूलाई बुझाउन नसकेर मैले गल्ती गरेँ; म तपाईंलाई जाँच्न सक्षम छैन, पैसा फिर्ता लिनुस् भनेर फर्काएको छु। अहिलेसम्म १० जना जतिलाई त्यसरी फर्काएँ होला।'
यसरी बिरामीलाई मासुभात खानुस् भन्दा कतिले 'डाक्टरसाब मेरो बिरामी नबाँच्ने अवस्थामा पुगेको हो र?' भनेर प्रश्न गरेको अनुभव पनि डा. केसीसँग छ।
'बिरामी अन्तिम अवस्थामा पुगिसकेको भएर डाक्टरले मासुभात खान सल्लाह दिएका हुन् भन्ने उहाँहरू बुझ्नुहुँदो रहेछ,' केसीले भने।
त्यस्तो प्रश्न गर्नेहरूलाई उनले मासुभात खाएर बसेका बिरामीसँग भेट गराइदिने गरेका छन्।
मुख बार्ने कि नबार्ने भन्ने विषयमा हामीले केसीलाई सोध्यौं, 'जन्डिस लागेपछि कतिपय मान्छे चिल्लोपिरो खाँदैनन्; मेवा, उखु, कुभिन्डो खान्छन्। त्यसो गर्दा निको भएकाहरू पनि छन्। यो कसरी हुन्छ?'
'मेवा र कुभिन्डो खाँदा कलेजोलाई असर गर्दैन। यसले जन्डिस बिस्तारै कम हुँदै गएको देखिन्छ, तर त्यसले नै निको हुने होइन,' उनले भने।

तेस्रो गल्ती
अधिकांशलाई आयुर्वेदिक औषधिले जन्डिस ठिक पार्छ र यसको साइड-इफेक्ट पनि हुँदैन भन्ने भ्रम छ।
आयुर्वेदमा जन्डिसलाई 'कामला' भनिन्छ। सबै खाले कामलामा एउटै औषधिले काम गर्दैन। कलेजोको जन्डिस छ भने कामलाको औषधि खाँदा कलेजो थप कमजोर हुने डा. केसी बताउँछन्।
'साइड-इफेक्ट नहुने त कुनै औषधि नै हुँदैन। जन्डिसका कतिपय बिरामीलाई औषधि मात्र होइन, पानीले पनि साइड-इफेक्ट गर्छ,' उनले भने, 'कलेजोको बिरामी छ, जन्डिस देखिएको छ र पिसाब पनि राम्ररी भइरहेको छैन भने पानी धेरै खाँदा पेट र खुट्टा सुन्निन्छ।'
विज्ञ डाक्टरलाई नदेखाई लहैलहैमा विभिन्न जडिबुटी सेवन गर्नाले सामान्य अवस्थाको जन्डिस पनि बिग्रेर असामान्य बनिदिने केसी बताउँछन्।
'जन्डिस उपचार केन्द्र' का नाममा क्लिनिकहरू खोलेर थरीथरीका जडिबुटी औषधि बेच्नु पनि गलत परिपाटी रहेको उनको भनाइ छ।
'त्यस्ता क्लिनिकले सरकारबाट स्वीकृतिप्राप्त भन्नु वा सरकारले स्वीकृति दिनु आफैंमा गलत हो,' उनले भने।
चौथो गल्ती
जन्डिस भएपछि उखुको रस खानुपर्छ भन्ने मान्यता छ। केसी भने बीस वर्षअघिसम्म उखुको रस खानु ठिक भए पनि अहिले फाइदाभन्दा बढी बेफाइदा गर्ने बताउँछन्।
'पहिले ग्लुकोज थिएन, चिनी पनि कमै खान्थ्यौं। त्यसैले मान्छेले बुझेरै उखुको रस खाऊ भन्थे। त्यो बेला काठमाडौंको हावापानी पनि सफा थियो। धाराबाट सफा पानी आउँथ्यो। त्यही पानीले सफा गरेको उखुको रस खाँदा केही बिगार हुन्थेन,' उनले भने, 'अहिले काठमाडौंमा प्रदूषण बढ्दो छ। जुस पसलेले कसरी जुस बनाउँछन्, हामीलाई थाहा हुँदैन। त्यही जुस प्लास्टिकको झोलामा हालेर बिरामीलाई खुवाउन ल्याइन्छ। त्यसमा किटाणु हुनसक्ने सम्भावना उच्च रहन्छ। त्यसले फाइदाको सट्टा बेफाइदा गर्छ।'
त्यही भएर अहिले जुस खानुभन्दा चिनी-पानी घोलेर खानुस् भन्ने सल्लाह दिने गरेको डा. केसी बताउँछन्।
'एक पाउ चिनी एक लिटर पानीमा घोल्नुस्। बिहान बनाउनुस्, बेलुकीसम्म खानुस्। त्यसले शरीरलाई शक्ति दिन्छ,' उनले भने।
यस सम्बन्धमा डा. केसीले केही वर्षअघि वीर अस्पतालमै भएको एउटा घटना सुनाए।
एक सिंगापुरे लाहुरेले आफ्नी वृद्ध आमालाई केसीकहाँ जचाउन ल्याएका थिए। उनलाई कलेजोको 'सिरोसिस' भएको रहेछ। उनको कलेजो प्रत्यारोपण गर्ने तयारी हुँदै थियो। त्यति बेला नेपालमा कलेजो प्रत्यारोपण हुँदैनथ्यो, भारतमा पनि निकै कम ठाउँमा मात्र हुन्थ्यो।
सिंगापुरे लाहुरेले आफ्नी आमाको कलेजो प्रत्यारोपण गर्न सिंगापुर नै लैजान खोजेका थिए। कागजपत्र तयार भएर फ्लाइट पनि बुकिङ भइसकेको थियो।
त्यसैबीच केसी उनको हालखबर बुझ्न गए र सोधे, 'आमा अब जाने होइन त सिंगापुर?'
'खोई जाने त भनेको बाबु, तर मलाई हिजोदेखि पखाला लागिराछ,' ती वृद्ध आमाले भनिन्।
त्यसपछि केसीले उनका छोरालाई सोधिहाले, 'तपाईंले आमालाई बाहिरबाट ल्याएको उखुको जुस खान दिनुभएको हो?'
छोराले हो भन्ने भावमा टाउको हल्लाए र भने, 'हिजो केही आफन्त आएका थिए। उनीहरूले प्लास्टिकको झोलामा उखुको जुस ल्याइदिएका थिए। आमाले उखु र अरू फलफूलको दुई गिलास जुस खानुभएको थियो। त्यो खानासाथ उहाँलाई पखाला चल्यो।'
केसीका अनुसार त्यस दिन बिरामी आमा अत्यन्तै कमजोर थिइन्। रगत जाँच्दा मिर्गौला खराब भएको रहेछ। धेरे पखाला चलेपछि मिर्गौला खराब हुनसक्छ।
'कलेजोको समस्या त छँदै थियो, मिर्गौला पनि खराब भयो,' केसीले भने, 'तीन दिनपछि उनको मृत्यु नै भयो।'
'म सबै बिरामीलाई एउटै कुरा भन्छु — जुसभन्दा बरू राम्ररी धोइपखाली गरेर फलफूल खानुस्। अस्पतालमै हुनुहुन्छ भने प्याकेटको जुस खानुस्। स्ट्रले होइन, गिलासमा हालेर खानुस्; तर बाहिर किनेर प्लास्टिकमा ल्याएको फलफूलको जुस त खाँदै नखानूस्,' उनले भने।
पाँचौं गल्ती
कतिपय बिरामीमा डाक्टरलाई अविश्वास गर्ने र उनीहरूले लेखिदिएको औषधि नखाने वा डोज पूरा नगर्ने समस्या हुन्छ। जन्डिसका हकमा यस्तो समस्या अझ धेरै हुने डा. केसी बताउँछन्।
उदाहरणका लागि —
ज्वरो आयो भने सिटामोल खानूस् भनेर डाक्टरले भनेको हुन्छ, तर बिरामीले खाइदिँदैन। उसलाई परिवारका सदस्य वा आफन्तले 'कलेजोका बिरामीले सिटामोल खायो भने त मरिन्छ' भनेर तर्साइदिन्छन्। यसबारे बिरामीका आफन्तसँग पटक पटक विवाद परेको केसी सुनाउँछन्।
डाक्टरले प्रेस्क्रिप्सनमा लेखेअनुसार औषधि नखानु अर्को समस्या हो। एक त औषधि बिक्रेताले नै प्रेस्क्रिप्सनमा लेखिएभन्दा भिन्न औषधि दिन सक्छ। त्यसमा औषधिको मात्रा कम वा बेसी हुनसक्छ। बिरामीले हेर्दै नहेरी खायो भने राम्रो काम नगर्न सक्छ।
अर्को, जब रोग निको हुँदै जान्छ, बिरामी आफैं औषधि खान छाड्छ। बीचैमा औषधि छाड्दा डोज पूरा हुँदैन। बिस्तारै निको हुँदै गएको जन्डिस फेरि बल्झिन सक्छ। यस्तो समस्या सबभन्दा धेरै पाइने केसी बताउँछन्।
यसलाई स्पष्ट पार्न उनले एउटा बिरामीको उदाहरण दिए।
केहीअघि अस्पताल ल्याइएकी एक बालिकालाई डा. केसीले जाँचेर औषधि लेखिदिएका थिए। दुई दिनपछि ती बालिकाले रगत बान्ता गर्न थालिन् र इमर्जेन्सीमा भर्ना हुन आइन्।
केसीले बिरामीले खाएको औषधि हेरे। अनि थाहा पाए — उनले एउटा औषधि लेखिदिएका थिए, बिरामीले अर्कै खाएकी रहिछन्। नाम उस्तै, तर औषधिमा हुने तत्त्वहरू फरक। बिक्रेताले दिएको गलत औषधिकै कारण उनको पेटमा घाउ भएर रगत बान्ता भएछ!
'बिरामीले पहिले कुनै औषधि खाइरहेको थियो, तर त्यसबारे डाक्टरलाई प्रस्ट जानकारी नदिँदा पनि समस्या आउन सक्छ,' उनले भने, 'दुई छुट्टाछुट्टै औषधि सेवन गर्दा एउटाले काम नगर्ने, अर्कोले बढी काम गर्ने हुन्छ। निको हुनुपर्ने बिरामी पनि निको हुँदैन।'
उनले उदाहरण दिए, 'ग्यास्ट्रिकको औषधि खाइरहेको बिरामीले हेपाटाइटिस 'सी' को औषधि खाँदा हेपाटाइटिसको औषधिको असर कम हुन्छ।'
उनका अनुसार अधिकांश नेपाली बिरामीलाई औषधि कसरी खाने भन्ने ज्ञान छैन। धेरैले औषधि सेवनमा खेलबाड गर्छन् र मात्रा पुर्याएर खानुपर्नेमा त्यति ध्यान दिँदैनन्। उनले यसमा पनि ग्यास्ट्रिककै उदाहरण दिए, 'कसैले १५ वर्षदेखि ग्यास्ट्रिकको औषधि खाइरहेको छ, तैपनि निको भएको छैन भने उसले आफ्नो समस्याको कारण ग्यास्ट्रिक नभएर अरू नै केही हो भन्ने बुझ्नुपर्छ र डाक्टरसँग राम्ररी परामर्श लिनुपर्छ।'
'मैले धेरै बिरामी भेटेको छु, जो १०-१५ वर्षदेखि ग्यास्ट्रिकको औषधि खाइरहेको छु भन्छ, तर इन्डोस्कोपी गरेर हेर्दा ग्यास्ट्रिक हुँदैन,' उनले अगाडि भने, 'बरू बिनाकारण लामो समयदेखि ग्यास्ट्रिकको औषधि खाँदा त्यसको साइड-इफेक्ट देखिएको हुन्छ।'

छैठौं गल्ती
सही डाक्टर नछान्नु बिरामीको छैठौं गल्ती हो। यसमा बिरामी मात्र होइन, डाक्टरको पनि कमजोरी हुने केसी बताउँछन्।
उनले नर्भिकमा काम गर्दाको एउटा घटना सुनाए —
ललितपुरको एउटा अस्पतालले कलेजोका एक बिरामी महिलालाई अब बाँच्ने सम्भावना छैन भनेर घर पठाइदिएको रहेछ। ती बिरामीलाई कसैले नर्भिक गएर डा. केसीलाई जचाउन सुझाएछ। उनीहरू अन्तिम प्रयास गरौं भनेर नर्भिक आए।
केसीले उपचार गर्दा उनलाई 'एक्युट लिभर फेलियर' भन्ने रोग लागेको थाहा भयो। कलेजोले राम्ररी काम नगर्दा यस्तो रोग लाग्छ। यसमा मस्तिष्क सुन्निएर बिरामी बेहोसीमा पनि जानसक्छ। रोग किटान गरिसकेपछि डा. केसीले उनलाई निको पारे।
पछि ती महिलाले आफ्नी छोरीलाई जुनसुकै समस्या देखिए पनि डा. केसीकहीँ ल्याउन थाले।
'मैले कलेजोको रोग पो निको पारेँ, अरू रोग त कसरी निको पार्न सक्छु!' उनले भने, 'हामीकहाँ एउटा रोग निको पार्नेबित्तिकै अरू रोग लाग्दा पनि उसैकहाँ जाने चलन छ। यस्तो अवस्थामा डाक्टरले बिरामीलाई सम्झाएर सम्बन्धितकहाँ रेफर गरेर पठाउनुपर्नेमा आफैं उपचार गरिदिन्छ। यो बिरामी र डाक्टर दुवैको कमजोरी हो।'
'डाक्टरले आफ्नो सिकाइअनुसार सुत्केरी महिला पनि डेलिभरी गराउन सक्छ, तर त्यसको निम्ति सम्बन्धित डाक्टरकहाँ नपठाई आफैं डेलिभरी गरेर त भएन नि!' उनले भने।
कुन रोगका लागि कुन डाक्टर सही हो भनेर अस्पतालमै सोधपुछ गर्दा पनि थाहा हुने उनी बताउँछन्।
'हामी लुगा किन्न दस जनालाई सोध्छौं। तर स्वास्थ्यजस्तो संवेदनशील कुरामा लहैलहैमा लाग्छौं, यो बिरामीले गर्ने ठूलो गल्ती हो,' डा. केसीले भने।
सातौं गल्ती
डाक्टर र बिरामी दुवैको अर्को दुश्मन हो, गुगल। यसबारे पनि डा. केसीले हामीलाई एउटा घटना सुनाए —
क्षयरोगको औषधि खाइरहेका एक पुरूष जन्डिस देखिएपछि केसीकहाँ जचाउन आएछन्। केसीले त्यही औषधिको साइड-इफेक्टले जन्डिस भएको भने। तर बिरामीले मान्दै मानेनन्। उनको भनाइ थियो, 'मैले गुगल गर्दा क्षयरोगको औषधिले जन्डिस हुन्छ भनेर कतै लेखिएको थिएन।'
केसीले सम्झाउन खोजे। गुगलले देखाउने सबै कुरा सही हुँदैन भनेर भने। तर बिरामीले पत्याएनन्।
'हामीले बीसौं वर्षको अनुभव र ज्ञानले भनेका कुरा गुगल हेरेर आएका बिरामीले पत्याउँदैनन्,' उनले भने, 'गुगलमा मान्छेले जे खोज्छ, त्यसको आर्टिफिसियल इन्टेलिजेन्सले त्यस्तै सामग्री पठाउँछ। गुगलले भनेका धेरै कुरा मिल्छन्, तर कतिपय कुरा मिल्दैनन्। यही कुरा बिरामीलाई भन्दा विश्वास गर्दैनन्। डाक्टरभन्दा गुगलको भर गर्छन्।'
आठौं गल्ती
डाक्टरले भनेअनुसार फलोअपमा नआउनु पनि बिरामीले गर्ने गल्तीहरूमध्ये एक हो।
यसमा दुइटा अवस्था डा. केसीले औंल्याए —
पहिलो, कतिपय बिरामीले रगत वा अन्य परीक्षणको रिपोर्ट नआउञ्जेल डाक्टरले लेखिदिएका औषधिसमेत खाँदैनन्। रिपोर्ट आएपछि औषधि फेरिनसक्छ, त्यसैले नखाई बसेको भन्ने उनीहरूको तर्क हुन्छ।
'यो एकदमै गलत सोच हो,' उनले भने, 'पहिलो त, फेरिने खालको औषधि डाक्टरले लेखेकै हुँदैन। अर्को कुरा, हामीले बिरामीको तत्कालको अवस्था हेरेर आवश्यक औषधि दिएका हुन्छौं। रिपोर्ट नआउञ्जेल त्यो औषधि नखाई बस्यो भने रोग थप बल्झिन सक्छ; बिरामीले नै दु:ख पाउँछ।'
दोस्रो, केही बिरामीलाई औषधि लेखिदिएर तीन महिनामा फलोअप निम्ति आउनू भनिएको हुन्छ। तर तीमध्ये कतिपय बिरामी छ महिनामा आउँछन्।
यसबीच उसलाई दिएको औषधि तीन महिनाअघि नै सकिसकेको हुन्छ। यसो गर्दा पहिलेको भन्दा जटिल अवस्था आउने डा. केसी बताउँछन्।
नवौं गल्ती
डा. केसीका अनुसार भर्खर जन्मिएको बच्चामा देखिने जन्डिसलाई 'नियोनेटल जन्डिस' भनिन्छ। ८५ प्रतिशत बच्चामा यस्तो जन्डिस देखिन्छ।
यसरी भर्खरै जन्मेको शिशुलाई जन्डिस हुँदा आमाले नुनतेल बार्ने चलन छ, जुन गलत हो। त्यस्तो शिशुलाई घाममा राखेर तेल घस्नुपर्छ। घामबाटै बच्चाको जन्डिस ठिक हुने केसी बताउँछन्।
गर्भवती महिलाका हकमा भने जन्डिस कमै हुन्छ। भइहाले पनि उनीहरू जडिबुटी खान डराउने भएकाले हत्तपत्त बिग्रिहाल्दैन। तर गर्भवती अवस्थामा हेपाटाइटिस ई भयो भने एकदमै डरलाग्दो हुन्छ। बच्चा र आमा दुवैको निम्ति घातक हुनसक्छ।

'जन्डिस आफैंमा रोग होइन, रोगको लक्षण हो।'
डा. सुधांशु केसी फेरि पनि जोड दिँदै भन्छन्, 'धेरै मान्छे रोग पहिचान गरी उपचार गर्नभन्दा लक्षण (जन्डिस) कै उपचारमा प्रशस्त समय र पैसा खर्च गरेपछि बल्ल अस्पताल आउँछन्। यसले घातक परिणाम ल्याउन सक्छ।'
माथि उल्लिखित ९ गल्ती सुधार्ने हो भने जन्डिसले खासै ठूलो रूप नलिने र बिरामीलाई दु:ख पनि नहुने उनी बताउँछन्।
'समयमै सही औषधि खायो भने कलेजोमा लाग्ने धेरै रोग महिनादिनमै निको हुन्छ,' उनले भने, 'लहैलहैमा लागेर जथाभाबी औषधि खाँदा कलेजो थप बिरामी हुन्छ र यसले मान्छेलाई मृत्युको मुखसम्म पुर्याउँछ।'
उनले थप सजिलो भाषामा बुझाए —
'टाउको विभिन्न कारणले दुख्छ। टाउको दुख्दा हामी सिटामोल खान्छौं। तर ब्रेन ट्युमरले टाउको दुखेको हो भने जति सिटामोल खाए पनि निको हुँदैन,' उनले भने, 'ज्वरो आउँदा पनि सिटामोल खान्छौं। तर भाइरल ज्वरो नभई निमोनिया रहेछ भने सिटामोलले छुँदैन, एन्टिबायोटिक नै खानुपर्छ।'
'जन्डिसका हकमा पनि खास रोग के हो पहिचान गरी सम्बन्धित डाक्टरबाट त्यसको उपचार गराउनुपर्छ।'
***