जापानको ओसाकामा यही असोज ३ र ४ गते (सेप्टेम्बर १९ र २० मा) दुई दिने ‘नेपाली मेला ओसाका–२०२६’ हुने भएको छ।
ओसाका सिटीको इकुनो वार्डस्थित इकुनो पार्क (मोमोदानी) मा सञ्चालन हुने मेला खुसी उरेसी सोसाइटीले आयोजना गरेको हो।
सोसाइटीका अध्यक्ष अध्यक्ष टीआर गौडेलका अनुसार नेपाली भाषा, कला, संस्कृति, खानपान, पर्यटन र मौलिक परम्परालाई जापानी समुदायसँग जोड्ने यसको उद्देश्य हो।
त्यस्तै नेपाल र जापानका नागरिकबीच आपसी समझदारी र मित्रता विस्तार गर्ने उद्देश्य पनि मेलाले राखेको छ।
'यो मेला जापानमा रहेका नेपालीको मात्र उत्सव नभई नेपाल र जापानलाई संस्कृति, कला र आत्मीयतामार्फत अझ नजिक ल्याउने साझा मञ्च हो,' अध्यक्ष गौडेलले भने, 'हामी नेपाली समुदायसँगै जापानी नागरिकलाई पनि नेपालको विविधता अनुभव गर्ने अवसर दिन चाहन्छौं।'
दुई दिनसम्म चल्ने मेलाको आकर्षण नेपाली र जापानी कलाकारहरूको संयुक्त तथा विविध सांस्कृतिक प्रस्तुति पनि रहनेछ।
नेपाली लोक तथा आधुनिक गीत–संगीत, नृत्य, भजन, पञ्चेबाजा, तामाङ सेलो, लाइभ ब्यान्डलगायतका प्रस्तुतिसँगै जापानी परम्परागत कला र संगीत पनि एउटै मञ्चमा प्रस्तुत हुनेछन्।
जापानी परम्परागत कला र नेपाली मौलिक संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने कार्यक्रमले मेलालाई सामान्य सांस्कृतिक कार्यक्रमभन्दा फरक नेपाल–जापान सांस्कृतिक आदानप्रदानको उत्सवका रूपमा स्थापित गर्ने आयोजकको अपेक्षा छ।
‘लिभिङ गडेस कुमारी’देखि नेपाली खानासम्म
मेलामा काठमाडौँ उपत्यकाको संस्कृतिका रुपमा रहेको जीवित देवी परम्परालाई चिनाउने ‘द लिभिङ गडेस कुमारी’ फोटो प्रदर्शनीसमेत राखिएको छ।
यसमार्फत जापानी तथा अन्य विदेशी आगन्तुकलाई नेपालको धार्मिक–सांस्कृतिक परम्पराबारे जानकारी गराइनेछ।
मेलामा नेपाली खानाका स्टलहरू रहनेछन्।
नेपाली परिकारको स्वादसँगै नेपाली संस्कृति, पर्यटन र परम्परालाई नजिकबाट अनुभव गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाली हस्तकला, सांस्कृतिक गतिविधि तथा नेपालसम्बन्धी जानकारीले मेलालाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाल चिनाउने खुला सांस्कृतिक प्रदर्शनीको स्वरूप दिने आयोजकको भनाइ छ।
आयोजकले नेपाली समुदायको सहभागितासँगै जापानी नागरिकको उपस्थितिलाई विशेष प्राथमिकता दिएको बताएका छन्।
त्यसका लागि जापानी सांस्कृतिक प्रस्तुति, विद्यालय तथा स्थानीय कलाकारको सहभागिता र जापानी भाषामा नेपाल चिनाउने सामग्रीसमेत कार्यक्रममा समेटिएका छन्।
गौडेलका अनुसार विदेशमा नेपाली संस्कृति प्रवर्द्धन गर्दा नेपाली समुदायभित्र मात्रै कार्यक्रम सीमित गर्नुको सट्टा स्थानीय जापानी समुदायसँग प्रत्यक्ष सम्बन्ध निर्माण गर्नु आवश्यक छ।
'हाम्रो उद्देश्य जापानीहरुलाई पनि हाम्रा खानपान, संगीत, नृत्य र संस्कृतिसँग जोड्ने वातावरण सिर्जना गर्ने हो,' गौडेलले भने।
नेपाली र जापानी समुदायको यस्तो सहकार्यले नेपाली मेला केबल प्रवासी नेपाली समुदायको कार्यक्रम नभई ओसाकाको बहुसांस्कृतिक समाजसँग जोडिएको अन्तरसांस्कृतिक कार्यक्रमका रूपमा अघि बढिरहेको सन्देश दिने उनको भनाई छ।
विपद् प्रभावितलाई सहयोग
मेलाबाट प्राप्त हुने मुनाफाको एक अंश भोटेकोशीको बाढीपीडितलाई सहयोगार्थ प्रदान गर्ने निर्णय गरिएको आयोजकले जनाएका छन्।
मेला जस्ता ‘उत्सव’लाई केवल रमाइलोमा सीमित नराखी मातृभूमिमा परेको विपद्का बेला सहयोग जुटाउने माध्यमसमेत बनाउने अध्यक्ष गौडेलले बताए।