गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले नयाँ कार्यकालको लागि निर्वाचनको मिति घोषणा गरेको छ।
एनआरएनए अस्ट्रेलियाले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जुलाई २६ अर्थात साउन १० गते शनिबार निर्वाचन हुने जानकारी गराएको हो।
आईसीसी सदस्य डिल्लीराम ढकाललाई राष्ट्रिय निर्वाचन संयोजक तोकिएको छ। त्यस्तै एडिलेडका राजु उपाध्याय उपसंयोजक छन्।
यस्तै न्युसाउथवेल्सको संयोजकमा राजु मानन्धर, भिक्टोरियामा हेम दुलाल, क्विन्सल्यान्डमा सुरेश खत्री, साउथ अस्ट्रेलियामा अंकुर उपाध्याय, वेस्टर्न अस्ट्रेलियामा रविन बर्तौला, तास्मानियामा कञ्चन अर्याल र एसिटीमा कृष्ण सुवेदी र नर्दन टेरेटोरीमा दिनेश सापकोटालाई संयोजक तोकिएको पत्रकार सम्मेलनमार्फत एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारी दिए।
निर्वाचन आयोग र एनआरएनको छलफलपछि समिति सदस्यको टुंगो लाग्ने उनले बताए।
यसपटक एनआरएन अस्ट्रेलियाको नयाँ विधान अनुसार अध्यक्ष, एक उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि निर्वाचन हुनेछ।
यसअघि हुँदै आएका राज्य संयोजक अब उपाध्यक्ष नहुने भएका छन्। उनीहरूलाई वरियतामा कोषाध्यक्षभन्दा तल राखिनेछ।
नयाँ विधानअनुसार एनआरएनए अस्ट्रेलियाका बोर्ड सदस्य १९ जनाको हुनेछ। यसअघि, १७ सदस्यीय बोर्ड रहने गरेकामा एक उपाध्यक्ष र प्रिन्सिपल ग्रान्ट अफिसर थप गरेर पदाधिकारीको संख्या १९ पुर्याउन लागिएको हो।
एनआरएन अस्ट्रेलियाले सदस्यता शुल्क २५ डलरबाट बढाएर ३० डलर पुर्याएको छ। यस्तै आजीवन सदस्यता शुल्क २५० डलर तोकिएको छ।
पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले सदस्य विवरण अद्यावधिक प्रक्रिया र निर्वाचनको पारदर्शितामाथि विशेष जोड दिएका थिए। आजीवन सदस्यहरूले प्रत्येक निर्वाचनमा आफ्नो विवरण नवीकरण गर्नुपर्ने व्यवस्था व्यक्तिगत ठेगाना वा सम्पर्क विवरण परिवर्तन भएको अवस्थामा अद्यावधिक गर्न सजिलो होस् भन्नका लागि गरिएको उनले स्पष्ट पारे।
यसबाहेक, एकै क्रेडिट कार्ड प्रयोग गरी अनावश्यक सदस्यता बनाउने प्रवृत्तिलाई रोक्न ’एक कार्डबाट अधिकतम चार सदस्यता’ को पुरानो नीति यथावत राखिएको र यसलाई अझ सुदृढ बनाउने विषयमा निर्वाचन आयोगले आवश्यक निर्णय लिने तयारी भइरहेको पोखरेलले जानकारी दिए।
सदस्यता बन्ने क्रम जारी रहेको र यसको अन्तिम म्याद जुन ६ सम्म रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। अध्यक्ष पोखरेलले हरेक दुई दुई दिनमा कति सदस्य बने भन्ने जानकारी दिदै जाने बताए। सन् २०२३– २०२५ को कार्यकालमा १५ हजार ४ सय १६ जना एनआरएनए सदस्य संख्या थियो। यसपटक केही बढ्ने अपेक्षा गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए।
यसैबीच अध्यक्ष पोखरेलले एनआरएनए अस्ट्रेलियाको सदस्यता बन्न अस्ट्रेलियामा बसोबास गर्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गरेका छन्।
एनआरएनएको सदस्यता बन्न कम्तिमा विद्यार्थी र पर्यटक भिसाबाहक बाहेक २ वर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेको हुनुपर्नेछ।
नयाँ सदस्य बन्न र आफ्नो सदस्यता नविकरण गर्नका लागि स्मार्ट एनआरएनए एपमार्फत गर्नुपर्नेछ।
अस्ट्रेलियाका टेम्पोरेरी रेसिडेन्ट भिसा टिआर, पिआर, नागरिक भइसकेका नेपालीमुलका मानिसले सदस्यता लिन सक्नेछन् ।