अस्ट्रेलियाको ताजमानिया राज्यमा आगामी नोभेम्बर १४ मा नेपाल फेस्टिभल २०२६ आयोजना हुने भएको छ।
नेपाली कला, संस्कृति, परम्परा र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको छ।
एनआरएनए अस्ट्रेलिया र एससिसी ताजमानियाका अनुसार महोत्सव होबार्टस्थित सालामान्का क्षेत्रमा रहेको पार्लियामेन्ट लन्समा आयोजना हुनेछ।
महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन हालै सामुदायिक परामर्श कार्यक्रमसमेत गरिएको छ।
कार्यक्रममा ताजमानियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवा, स्वयंसेवक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरू सहभागी थिए।
कार्यक्रममा महोत्सवको तयारी, सामुदायिक सहकार्य, स्वयंसेवक परिचालन र कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको संयोजक सुजन वाग्लेले जानकारी दिए।
ताजमानियाका विभिन्न सहरमा बस्ने नेपालीलाई महोत्सवमा सहभागी हुन सहज बनाउने विषयमा पनि छलफल भइरहेको छ।
लन्चेस्टन, डेभोनपोर्ट र बर्नीबाट कार्यक्रमस्थलसम्म निःशुल्क सटल बस सञ्चालन गर्नेबारे छलफल भइरहेको एनआरएनए ताजमानियाका युवा संयोजक विष्णु थपलियाले बताए।
उनका अनुसार टाढाका सहरमा बस्ने नेपालीको सहभागिता बढाउन यातायातको व्यवस्था सहज बनाउने प्रयास भइरहेको छ।
तर, सटल बस सञ्चालन गर्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन।
नेपाल फेस्टिभलमा नेपाली कला, संस्कृति, भेषभूषा, संगीत, नृत्य र मौलिक परिकारमार्फत नेपालको पहिचान प्रस्तुत गरिँदै आएको छ।
यस वर्षको महोत्सवले पनि ताजमानियामा रहेका नेपाली समुदायबीच एकता र सहकार्य बढाउनुका साथै नेपाली संस्कृति अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमाझ चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।