२०४६ सालतिरको कुरा हो।
बागलुङ, गलकोटका बमबहादुर थापाले एकदिन बुबाको खल्तीबाट दुई सय रूपैयाँ निकाले। घरबाट भागेर साथीहरूसँग छिमेकी मुलुक भारत गए।
त्यस बेला उनका बुबा ढुंगाखानीमा काम गर्थे। बुबाले दिनरात काम गर्दा पनि घरको आर्थिक अवस्था दयनीय नै थियो।
'हामी चप्पल किनेर लगाउने अवस्थामा पनि थिएनौं। ९ कक्षासम्म त मैले खालीखुट्टै पढेँ। नयाँ चप्पल पाउँदा फाट्ला कि भनेर लगाएर हिँड्न समेत डर लाग्थ्यो। बोकेर हिँड्थेँ,' उनले सुनाए।
त्यही अभावबीच उनले गाउँ छाडेका थिए।
भारत पुगेपछि उनले होटलमा काम पाए। सुरूमा ग्राहकलाई पानी थप्ने काम गर्थे। केही समयपछि वेटर बने। त्यसपछि भान्सामा काम गर्ने अवसर पाए।
तरकारी काट्नेदेखि विभिन्न परिकार पकाउनेसम्म सिक्दै गए। बिस्तारै भान्साको जिम्मेवारी सम्हाल्न सक्ने भए।
पकाउने सीपले गर्दा अवसरका ढोका खुल्दै गए। उनले जापानमा रोजगारीको अवसर पाए।
सन् १९९४ मा बमबहादुर भारतबाट जापान गए। त्यहाँ पनि सेफकै काम गरे।
काम राम्रै भइरहेको थियो। जापानमा भन्दा राम्रो तलब र सेवासुविधा पाउने भएपछि सन् १९९७ मा फेरि भारत फर्किए र पहिलेकै होटलमा काम गर्न थाले।
पुराना साहुले उनलाई वेटरको काम दिएका थिए।
'त्यहाँ काम गरिरहेका बेला चीनमा कामको अवसर आयो। चिनजानकै व्यक्तिले आफूले चीनमा होटल खोल्न लागेकोले अवसर सुनाए। अनि म चीनमा पनि सेफकै काममा गएँ,' उनले सुनाए।
सन् २००१ मा उनी चीन गए। चीनमा उनले पाँच वर्ष त्यही रेस्टुरेन्टमा काम गरे।
त्यहाँ रेस्टुरेन्ट व्यवसाय खुब चलेको थियो। त्यो देखेपछि उनलाई आफ्नै रेस्टुरेन्ट खोल्ने सोच आयो।

सन् २००५ मा उनले 'मुम्बई दरबार' नामको रेस्टुरेन्ट खोले। त्यहाँ नेपाली र भारतीय स्वादका परिकार पाइन्थे। व्यवसाय राम्रो चल्न थाल्यो। ग्राहकको चाप निकै हुन्थ्यो।
'व्यवसाय राम्रो चल्न थालेपछि पहिले काम गरेको रेस्टुरेन्टका मालिकले मलाई आफ्नो प्रतिस्पर्धीका रूपमा लिन थाले। त्यसपछि मैले असुरक्षित महसुस गरेँ,' बमबहादुरले भने।
व्यवसाय राम्रै चले पनि सुरक्षाको चिन्ताले उनलाई चीनमा बसिरहन मन भएन।
त्यही समय उनले इन्टरनेटमा अस्ट्रेलियामा सेफका लागि रोजगारीको अवसर देखे। अनलाइनबाट आवेदन दिए। भिसा लाग्यो।
'चीनमा रेस्टुरेन्ट खोल्न मैले डेढ करोड रूपैयाँ हाराहारी लगानी गरेको थिएँ। त्यसमा आफूले कमाएको र साथीभाइसँग जुटाएर पनि केही थपेको थिएँ। अस्ट्रेलियाको भिसा आएपछि रेस्टुरेन्ट छाडेरै हिँड्नुपर्यो, समय अभाव भयो,' उनले भने।
सन् २००६ मा उनी सीपमा आधारित भिसामा अस्ट्रेलिया पुगे।
अस्ट्रेलियाको पर्थस्थित एक रेस्टुरेन्टमा उनले पाँच वर्ष काम गरे। त्यहाँ भारतीय परिकार बनाउँथे। त्यहाँको अनुभवले उनलाई काममा स्थापित हुन सहयोग गर्यो।
पाँच वर्षपछि रोजगारदाताले उनको स्थायी बसोबासको प्रक्रिया (पिआर) मा सहयोग गरे। सबै कुरा मिलेपछि उनले आफ्नै व्यवसाय थाले।
सन् २०१२ मा पर्थमा उनले 'द दरबार इन्डियन नेप्लिज रेस्टुरेन्ट' खोले।
जागिरमा कामको समय सकिएपछि घर फर्किन सकिन्थ्यो, तर आफ्नै व्यवसायमा त्यस्तो हुँदैन थियो। सबै जिम्मेवारी आफै सम्हाल्नुपर्थ्यो।
उनले मेहनत छाडेनन्।
व्यवसाय विस्तार हुँदै गयो। सन् २०१४–२०१५ तिर उनका पाँच वटा रेस्टुरेन्ट पुगे। पछि केही बेचे। स–साना धेरै रेस्टुरेन्ट चलाउनुभन्दा ठूला व्यवसायमा ध्यान दिने सोचले उनले विस्तारको तरिका बदले।
५० वर्षीय बमबहादुर अहिले आफ्नै दुइटा रेस्टुरेन्ट र एउटा क्याफे चलाउँछन्।
दुवै रेस्टुरेन्ट 'द दरबार इन्डियन नेप्लिज रेस्टुरेन्ट' नामबाटै सञ्चालित छन्। दुवै रेस्टुरेन्टमा दुई सय जना हाराहारी अटाउँछन्। रेस्टुरेन्टमा सबैजसो नेपाली र भारतीय परिकार पाइन्छ।
क्याफेको नाम कुजिनी कफी एन्ड कम्पनी हो। यो गत वर्ष नोभेम्बरमा मात्र खुलेको हो। करिब सय जना अट्ने यो क्याफेमा कफीसँगै बेकरी परिकार पाइन्छ।
तीनै ठाउँका ग्राहकहरू नेपाली, भारतीय, भुटानी र स्थानीय अस्ट्रेलियाली हुन्।
नेपालीहरूलाई आफ्नै देशको वातावरण महसुस होस् भनेर उनले रेस्टुरेन्टमा स्वयम्भू, भक्तपुर र वसन्तपुर, सगरमाथा लगायत प्रसिद्ध स्थान तथा सम्पदाहरूको तस्बिर राखेका छन्।
भारतीयका लागि लालकिल्ला लगायतका तस्बिर छन् भने भुटानको राजपरिवारका तस्बिर पनि सजाएका छन्।
'ग्राहकहरूले आफ्नो देश सम्झिने वातावरण बनाउन खोजेको छु,' बमबहादुरले भने।

उनका रेस्टुरेन्टमा नेपाली, भारतीय, पाकिस्तानी, भुटानी र स्थानीय अस्ट्रेलियाली गरी करिब ५० जनाले रोजगारी पाएका छन्। विशेष गरी नयाँ आएका विद्यार्थीलाई रोजगारी दिने गरेको उनले बताए।
'म गाउँको मान्छे हुँ। सानोमा कति दुःख भोगियो भन्ने थाहा छ। त्यसैले यहाँ आएका नेपाली भाइबहिनीलाई सकेको सहयोग गर्न मन लाग्छ,' उनले भने, 'आर्थिक समस्या परेका नेपालीलाई खान समस्या भए यहाँ आएर खान सक्छन्। पैसा नभए पछि तिर्न सक्छन्।'
बमबहादुर आफै अझै भान्सामा काम गर्छन्। कर्मचारीसँगै खटिन्छन्। व्यवसायको जिम्मेवारी अरूलाई मात्रै छाडेर बस्न सक्दैनन्।
अब उनको योजना अझ ठूलो रेस्टुरेन्ट खोल्ने छ। बार, अतिथि बस्ने ठाउँ र केन्द्रीय भान्सासहितको ठूलो व्यवसाय सञ्चालन गर्ने सोच बनाएका छन्। त्यसबाट तीन सय जनासम्मलाई रोजगारी दिने उनको लक्ष्य छ।
उनका अनुसार अस्ट्रेलियामा रेस्टुरेन्ट खोल्न ठूलो लगानी चाहिन्छ। करिब सय सिट क्षमताको रेस्टुरेन्ट खोल्न तीनदेखि चार लाख अस्ट्रेलियन डलर खर्च लाग्न सक्छ।
बमबहादुरले नेपालमा पनि व्यवसाय विस्तार गर्ने सोचेका छन्। लगानीको राम्रो वातावरण बन्यो भने काठमाडौंमा आफ्नो रेस्टुरेन्टको शाखा खोल्ने उनको योजना छ।
'नेपालमा सुरक्षा र लगानी गर्ने प्रोत्साहन भयो भने रेस्टुरेन्टको शाखा चलाउँछु र रोजगारी सिर्जनामा सहयोग गर्छु भन्ने छ,' बमबहादुरले भने।
