विराटनगरका नेपाली युवा उद्यमी टार्जन बुढाथोकी अस्ट्रेलियाको ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स २०२६’ अन्तर्गत ‘बिजनेस एन्ड इम्प्लोइमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्।
अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक निकाय भिक्टोरियन मल्टिकल्चरल कमिसनले बुधबार, अक्टोबर १४ मा मेलबर्नमा आयोजित समारोहमा उनलाई सम्मान गरेको हो।
सन् २०१८ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अस्ट्रेलिया पुगेका बुढाथोकी हाल क्षेत्रीय भिक्टोरियाको ब्यालाराटमा बस्छन्।
उनी सन् २०२४ मा स्थापित स्वास्थ्य जनशक्ति कम्पनी ‘बेस्ट नर्सिङ एजेन्सी’का सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्।
कम्पनीले नर्स, सपोर्ट वर्कर र अन्य स्वास्थ्यकर्मीलाई रोजगारी दिँदै आएको छ। त्यहाँ कार्यरत ९० प्रतिशतभन्दा बढी कर्मचारी प्रवासी पृष्ठभूमिका छन्।
बुढाथोकी अन्तर्राष्ट्रिय विद्यार्थीको रोजगारी, कार्यस्थल अधिकार र मानसिक स्वास्थ्य सचेतनासम्बन्धी काममा पनि सक्रिय छन्।
उनले गैरनाफामूलक संस्था ‘स्टेपिङ जोन’ स्थापना गर्नुका साथै विभिन्न स्थानीय निकाय र संस्थासँग सहकार्य गर्दै आएका छन्।
पुरस्कार पाएपछि बुढाथोकीले यो सम्मान आफ्नो मिहिनेतका भरमा अघि बढ्न खोज्ने सबै प्रवासीको भएको बताए।
उनले आफ्नो कम्पनीमार्फत प्रवासीलाई रोजगारीको पहिलो अवसर उपलब्ध गराउने काम गरिरहेको बताए।