पुर्ख्यौली घर सल्यान भएका प्रमेश केसीको व्यवसाय अस्ट्रेलियाको पर्थमा फैलिएको छ।
उनले त्यहाँ रेस्टुरेन्ट, क्याफे र कन्सल्टेन्सीमा लगानी गरेका छन्। त्यस्तै, वृद्ध तथा अपांगता भएका व्यक्तिको हेरचाह गर्ने सेवामूलक क्षेत्रमा पनि उनको लगानी छ।
'रेस्टुरेन्ट साझेदारीमा छ,' प्रमेशले भने, 'अरू व्यवसायमा चाहिँ मेरो एकल लगानी हो।'
सल्यानमा जन्मिएका प्रमेश घरका कान्छा छोरा हुन्। उनका दुई दाजु छन्। बुबा सरकारी विद्यालयका शिक्षक थिए भने आमा गृहिणी। परिवारको आर्थिक अवस्था राम्रै थियो।
माओवादी द्वन्द्वकालमा उनले बुबा गुमाए। त्यसपछि परिवारमा संकट आइपर्यो। उनीहरू सल्यान छाडेर नेपालगञ्ज बसाइँ सरे।
प्रमेश नेपालगञ्ज आउँदा १२ वर्षका थिए। उनी एक निजी स्कुलमा कक्षा ६ मा पढ्न थाले।
उनका दाइहरू अलि ठूला भइसकेका थिए। पढ्दै उनीहरू सानोतिनो व्यापार गर्न लागे। त्यही कामले घरखर्च चल्थ्यो।
प्रमेशले २०६१ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे। त्यसपछि थप पढ्न काठमाडौं आए। काठमाडौंमा उनका कोही आफन्त थिएनन्। गाउँकै एक जना साथीसँग बानेश्वरमा कोठा लिएर बस्न थाले।
'घरबाट पठाएको पैसाले पढाइ र दैनिक खर्च चल्थ्यो,' उनले भने।

प्रमेशले सिनामंगलस्थित क्लासिक कलेज इन्टरनेसनलबाट विज्ञान विषयमा प्लस–टू सके। स्नातक तह पढ्न त्रिचन्द्र कलेज भर्ना भए। दोस्रो वर्ष पढ्दै गर्दा उनी विद्यार्थी भिसामा बेलायत गए।
'मलाई बाहिर पढ्न मन थियो, त्यही भएर प्रयास गरेको थिएँ,' उनले सुनाए।
उनी लन्डनस्थित न्यू लन्डन कलेजमा सूचना प्रणाली (इन्फर्मेसन सिस्टम) विषय पढ्न थाले। यो दुई वर्षको कोर्स थियो।
नेपालमा जस्तो विदेशमा काम नगरी पुग्ने अवस्था थिएन। उनले पढाइसँगै क्याफे तथा रेस्टुरेन्टमा काम गरे। सातामा २० घण्टा काम गर्दा बसाइ र पढाइ खर्च जुट्थ्यो।
पढाइ पूरा गरेपछि प्रमेश बेलायतमै बस्न चाहन्थे। तर विद्यार्थी भिसा सम्बन्धी नियम कडा हुन थालेपछि उनी फर्किने भए।
'निजी कलेजहरू बन्द हुन थाले। विश्वविद्यालयमा पढ्न खर्च बढी लाग्थ्यो,' प्रमेशले भने, 'त्यसमाथि विद्यार्थीले कामै गर्न नपाउने भनेपछि त्यहाँ बसेर कामै भएन।'
नेपाल फर्किएपछि उनी ६ महिनाजति परिवारसँग बसे। त्यसपछि आफन्तको सहयोगमा सीपका आधारमा प्रायोजन भिसा (स्किल स्पोन्सर भिसा) लिएर सन् २०१४ मा अस्ट्रेलिया पुगे।
बेलायतमा रेस्टुरेन्ट र क्याफेमा काम गरेको अनुभव प्रमेशका लागि अस्ट्रेलियामा उपयोगी बन्यो। त्यहाँ उनले सेफ काम पाए। त्यो रेस्टुरेन्टमा अस्ट्रेलियाली परिकार बनाइन्थ्यो।
ठाउँ र परिवेश नयाँ भए पनि काम उनका लागि नौलो थिएन। अंग्रेजी भाषामा कुराकानी गर्न सक्ने र भान्साको काममा अनुभव भएकाले त्यहाँ घुलमिल हुन सहज भएको उनी बताउँछन्।
'अलिअलि कामको अनुभव पनि थियो। भाषा भएपछि धेरै सहज भयो,' उनले भने, 'आफूले नजानेका कुरा सिनियर सेफहरूलाई सोध्थेँ। उनीहरूले पनि राम्ररी सिकाउँथे।'
उनले त्यहाँ दुई वर्ष काम गरे। त्यसपछि स्थायी बसोबासको अनुमति (पिआर) पनि पाए।
हातमा सीप भएका प्रमेशलाई विभिन्न ठाउँबाट जागिरको प्रस्ताव आउन थाल्यो। उनको अनुभव बढ्दै गयो। त्यहाँको कार्यशैली र व्यवसाय सञ्चालन गर्ने तरिकाबारे पनि बुझ्ने अवसर पाए।
तीन वर्ष यसरी काम गरिसकेपछि उनलाई आफ्नै व्यवसाय सुरू गर्न मन लाग्यो। आफ्नो चिनजानको सञ्जाललाई व्यवसायमा जोड्न सकिने देखेपछि उनले एक कन्सल्टेन्सीमा लगानी गरे।
त्यसपछि सन् २०१९ तिर उनले क्लिनिङ व्यवसायमा पनि हात हाले। तर कोभिड महामारीका कारण व्यवसायले अपेक्षा अनुसार गति लिन सकेन। करिब तीन वर्षपछि उनले क्लिनिङ व्यवसाय बन्द गरे।
घाटा बेहोरे पनि प्रमेशले नयाँ क्षेत्रमा लगानी गर्ने प्रयास छाडेनन्। त्यही क्रममा उनले साझेदारीमा नेपाली रेस्टुरेन्टमा लगानी गरे।
'पर्थमा रहेको द भट्टीबार नेपाली परिकार पाइने पहिलो रेस्टुरेन्ट तथा बार हो। यहाँ नेपाली खानाका साथै जमघट र पार्टीका कार्यक्रम पनि गर्न सकिन्छ। ग्राहकलाई मनोरञ्जन दिन शुक्रबार र शनिबार लाइभ म्युजिक हुन्छ,' उनले भने।

मुख्य ग्राहक नेपाली, भुटानी, अमेरिकी र स्थानीय हुन्।
प्रमेशले वृद्ध तथा अपांगता भएका व्यक्तिको हेरचाह गर्ने संस्था र क्याफेमा पनि लगानी गरे।
उनका तीन व्यवसाय राम्रै चलिरहेका छन्।
अस्ट्रेलियामा व्यवसाय गर्ने वातावरण राम्रो रहेको उनको अनुभव छ।
'यहाँ व्यवसायका अवसर छन्। मेहनत गर्नुपर्छ, त्यसपछि राम्रो गर्न सकिन्छ,' उनी भन्छन्।
आगामी दिनमा व्यवसाय अझै विस्तार गर्ने उनको योजना छ। उनी नेपालमा पनि लगानी गर्न चाहन्छन्।
'लगानीको सुरक्षा र व्यवसाय गर्ने वातावरण भयो भने नेपालमा लगानी गर्ने सोच छ,' उनले भने।
प्रमेश श्रीमती र छोरीसँग अस्ट्रेलियामा बस्छन्। नेपालमा आमा, दाइ–भाउजू, भतिजभतिजी छन्। उनी नेपाल आइरहन्छन्।
उनी सामाजिक काममा पनि उत्तिकै संलग्न छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका राष्ट्रिय सल्लाहकार उनी पर्थ नेपाल नामक संस्थामार्फत पनि सामाजिक काममा जोडिएका छन्।
'यो संस्थाले अस्ट्रेलिया आउने नयाँ विद्यार्थीलाई कोठा खोज्न, कामको अवसर पहिल्याउन र आवश्यक सहयोग जुटाउन मद्दत गर्दै आएको छ,' उनले भने।
