अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सञ्चालित सिड्नी मेट्रोमा अब नेपाली भाषामा पनि सहयोग लिन सकिने भएको छ।
मेट्रोमा यात्रा गर्ने क्रममा सहयोग आवश्यक परे नेपाली भाषा बोल्न सक्ने कर्मचारी पहिचान गरेर यात्रुले आफ्नै भाषामा जानकारी लिन सक्नेछन्।
सिड्नी मेट्रोले विभिन्न भाषा बोल्ने यात्रुलाई सहयोग गर्न कर्मचारीको पोसाकमा उनीहरूले बोल्न सक्ने भाषाको पहिचान खुल्ने ब्याज लगाउने व्यवस्था गरेको छ।
मेट्रोका यात्रु सहायता कर्मचारीले ११ प्रकारका भाषाको ब्याज लगाउन सक्नेछन्।
तीमध्ये नेपाली भाषा पनि समावेश छ। यसरी ब्याज लगाएका कर्मचारीले सम्बन्धित भाषा बोल्ने यात्रुलाई त्यही भाषामा सहयोग गर्नेछन्।
सिड्नी मेट्रोले आफ्नो आधिकारिक लिंक्डइन खातामा यसबारे सूचना सार्वजनिक गरेको छ।
सूचनामा दोस्रो भाषा बोल्ने र मेट्रो यात्राका क्रममा सहयोग आवश्यक पर्ने व्यक्तिलाई आफूले बोल्ने भाषा उल्लेख भएको ब्याज लगाएका कर्मचारी खोज्न आग्रह गरिएको छ।
सिड्नी मेट्रो सहरभित्रका विभिन्न स्थानलाई जोड्ने रेलमा आधारित सार्वजनिक यातायात सेवा हो।
