सेयर बजारमा लगानी गर्नेहरूका लागि हरेक दिन सबभन्दा चासोको विषय हुन्छ — नेप्से कति अंकले बढ्यो वा घट्यो?
नेप्से २० अंक बढ्दा बजार राम्रो भएको र ३० अंक घट्दा बजार कमजोर भएको चर्चा हुन्छ। बजारको अवस्था बुझ्न लगानीकर्ताले सबभन्दा पहिले हेर्ने सूचक नै नेप्से परिसूचक हो।
तर नेप्सेले देखाउने अंकले साँच्चै बजारमा किनबेच गर्न उपलब्ध सेयरहरूको मूल्यमा आएको परिवर्तन देखाउँछ त?
धितोपत्र बोर्डको निष्कर्ष छ — अहिलेको नेप्से सूचकांकले बजारको वास्तविक उतारचढाव पूर्ण रूपमा देखाउन सकेको छैन।
यही समस्या समाधान गर्न बोर्डले नयाँ बेन्चमार्क सूचकांक ल्याउने तयारी थालेको छ।
बोर्डले हालको नेप्से परिसूचक यथावत राख्दै कारोबारयोग्य सेयरलाई आधार मानेर नयाँ बेन्चमार्क विकास गर्ने प्रस्ताव सार्वजनिक गरेको हो।
यसमा सरोकारवालाहरूबाट सुझाव मागिएको छ। सुझाव दिने अन्तिम दिन कात्तिक १५ थियो।
धितोपत्र बोर्डका अध्यक्ष गोपालप्रसाद भट्टले नयाँ सूचकांकलाई बजार सुधारको महत्त्वपूर्ण कदमका रूपमा अघि बढाइएको बताए।
उनका अनुसार अहिलेको नेप्सेमा निश्चित अवधिसम्म कारोबार गर्न नपाइने तथा बजारमा बिक्रीका लागि उपलब्ध नभएका सेयरको प्रभावसमेत गणना हुने भएकाले बजारको वास्तविक गतिविधि पर्याप्त रूपमा प्रतिबिम्बित हुन सकेको छैन।
'हालको सूचकांकमा लकिङ पिरियडका कारण रोकिएका वा ट्रेडेबल नभएका सेयरहरूको भारले बजारको असली बजारको वास्तविक उतारचढाव र सही मूल्य परिवर्तन सही रूपमा देखिन सकेको छैन,' भट्टले सेतोपाटीसँग भने।
लकिङ पिरियड भनेको निश्चित अवधिसम्म सेयर बिक्री गर्न नपाइने व्यवस्था हो। त्यस्तै, संस्थापक सेयर, सरकारी स्वामित्वका सेयर वा अन्य प्रतिबन्धका कारण दोस्रो बजारमा किनबेच गर्न नमिल्ने सेयरलाई पनि कारोबारयोग्य (ट्रेडेबल) मानिँदैन।
नयाँ बेन्चमार्कले यो समस्या सम्बोधन गर्ने अध्यक्ष भट्टको भनाइ छ।
'नयाँ बेन्चमार्क सूचकांकले बजारको सही दिशा देखाउनुका साथै भविष्यमा अन्य नयाँ वित्तीय औजारहरू विकास गर्ने बलियो आधार प्रदान गर्छ,' उनले भने।
बोर्डले असोज ३० गते सार्वजनिक गरेको 'धितोपत्र बजारमा बेन्चमार्क सूचकांकको पुनर्संरचना सम्बन्धी कार्यपत्र, २०८३' मा अहिलेको नेप्सेलाई 'नेप्से अल इक्विटी इन्डेक्स' का रूपमा कायम राख्ने र कारोबारयोग्य सेयरमा आधारित 'नेप्से बेन्चमार्क इन्डेक्स' विकास गर्ने प्रस्ताव छ।
अहिलेको नेप्से र नयाँ बेन्चमार्कमा के फरक हुन्छ?
यसलाई एउटा उदाहरणबाट बुझौं।
मानौं, कुनै बैंकका जम्मा १० करोड कित्ता सेयर छन्। तीमध्ये ७ करोड कित्ता संस्थापक, सरकारी वा निश्चित अवधिसम्म बेच्न नपाइने स्वामित्वमा छन्।
बाँकी ३ करोड कित्ता मात्रै सर्वसाधारणले बजारमा किनबेच गर्न सक्छन्।
त्यो बैंकको प्रतिकित्ता सेयर मूल्य ५०० रूपैयाँ छ।
अहिलेको नेप्से सूचकांक गणना गर्दा बैंकका सबै १० करोड कित्ता सेयरको बजार मूल्यलाई आधार मानिन्छ। यस अनुसार बैंकको कुल बजार पुँजीकरण ५० अर्ब रूपैयाँ हुन्छ।
तर बजारमा वास्तवमा कारोबार गर्न उपलब्ध ३ करोड कित्ता सेयरको मूल्य जम्मा १५ अर्ब रूपैयाँ हो।
नयाँ बेन्चमार्कमा यही १५ अर्ब रूपैयाँको कारोबारयोग्य हिस्सालाई आधार मानेर बैंकको प्रभाव गणना गर्ने प्रस्ताव गरिएको छ।
यसको अर्थ बैंकको सेयरको कुल बजार मूल्य ५० अर्बबाट १५ अर्बमा झर्ने होइन। सूचकांकमा बैंकको प्रभाव कति हुने भन्ने हिसाब मात्रै फरक हुनेछ।
अहिले बजारमा किनबेच गर्न उपलब्ध नभएका सेयरको ठूलो हिस्सा समेत सूचकांक गणनामा समावेश हुँदा केही कम्पनीको प्रभाव वास्तविक कारोबारयोग्य हिस्साको तुलनामा बढी देखिन्छ।
नयाँ बेन्चमार्कले त्यस्तो प्रभाव घटाउने प्रयास गर्नेछ।
कुन कम्पनीको प्रभाव बढ्छ, कुनको घट्छ?
नयाँ बेन्चमार्क आएपछि अहिले नेप्सेमा ठूलो प्रभाव राखिरहेका कम्पनीहरूको भार परिवर्तन हुन सक्छ।
मानौं, सेयर बजारमा तीन वटा मात्रै कम्पनी छन्।
पहिलो कम्पनीको कुल बजार मूल्य १०० अर्ब रूपैयाँ छ। तर यसका २० प्रतिशत सेयर मात्रै कारोबारयोग्य छन्।
दोस्रो कम्पनीको बजार मूल्य ६० अर्ब रूपैयाँ छ र ५० प्रतिशत सेयर कारोबारयोग्य छन्।
तेस्रो कम्पनीको बजार मूल्य ४० अर्ब रूपैयाँ मात्रै छ। तर यसका ९० प्रतिशत सेयर कारोबारयोग्य छन्।
अहिलेको विधि अनुसार पहिलो कम्पनीको सूचकांकमा ५० प्रतिशत प्रभाव हुन्छ। दोस्रोको ३० प्रतिशत र तेस्रोको २० प्रतिशत।
तर नयाँ विधिमा पहिलो कम्पनीको प्रभाव करिब २३ प्रतिशतमा झर्छ। दोस्रोको करिब ३५ प्रतिशत र तेस्रोको करिब ४२ प्रतिशत पुग्छ।
अर्थात्, कुल बजार मूल्य सबभन्दा ठूलो भएको पहिलो कम्पनीको प्रभाव नयाँ सूचकांकमा सबभन्दा कम हुन सक्छ।
किनभने नयाँ सूचकांकले कम्पनीको कुल सेयरभन्दा कारोबारका लागि उपलब्ध सेयरलाई बढी महत्त्व दिन्छ।
धितोपत्र बोर्डले आफ्नो कार्यपत्रमा पनि यही काल्पनिक उदाहरण प्रस्तुत गरेको छ।
यसरी नयाँ सूचकांक लागू भएपछि कुनै दिन पुरानो नेप्से घट्दा नयाँ बेन्चमार्क बढ्न पनि सक्छ।
उदाहरणका लागि, कारोबारयोग्य सेयरको हिस्सा कम भएका ठूला कम्पनीको मूल्य घट्यो तर कारोबारयोग्य हिस्सा बढी भएका अन्य कम्पनीको मूल्य बढ्यो भने यस्तो अवस्था आउन सक्छ।
दुवै सूचकांकले फरक आधारमा बजारको प्रदर्शन मापन गर्ने भएकाले यस्तो भिन्नता देखिन सक्छ।
अहिले पनि फ्लोट इन्डेक्स छ, फेरि नयाँ किन?
नेपाल स्टक एक्सचेन्जले २०६५ सालदेखि फ्लोट इन्डेक्स पनि गणना गर्दै आएको छ। यसमा सामान्यतया बजारमा कारोबार गर्न उपलब्ध सेयरलाई आधार मानिन्छ।
त्यसो भए नयाँ बेन्चमार्क किन चाहियो?
धितोपत्र बोर्डको कार्यपत्र अनुसार नयाँ बेन्चमार्क पूर्ण रूपमा नयाँ अवधारणा होइन। अहिलेको फ्लोट इन्डेक्सलाई अन्तर्राष्ट्रिय अभ्यास अनुसार थप परिष्कृत गरेर बजारको आधिकारिक मुख्य मापदण्ड बनाउने योजना हो।
यसमा कम्पनीका संस्थापक, सरकारी, रणनीतिक लगानीकर्ता तथा कारोबार प्रतिबन्धित सेयरको स्पष्ट पहिचान गरिनेछ।
त्यसैगरी कम्पनीको कारोबारको नियमितता, बजारमा सेयर किनबेच गर्न सकिने अवस्था र अन्य योग्यता पनि हेरिनेछ। अर्थात्, नयाँ बेन्चमार्कमा सबै सूचीकृत कम्पनी अनिवार्य रूपमा समावेश हुने छैनन्।
निर्धारित मापदण्ड पूरा नगर्ने कम्पनीलाई नयाँ बेन्चमार्कबाट बाहिर राख्न सकिनेछ। त्यस्ता कम्पनी अहिलेको नेप्से अल इक्विटी सूचकांकमा भने रहन सक्नेछन्।
नयाँ बेन्चमार्कबाट इटिएफ र डेरिभेटिभ्स ल्याउने तयारी
नयाँ बेन्चमार्कको उपयोग बजार बढ्यो वा घट्यो भनेर हेर्नमा मात्रै सीमित हुने छैन।
बोर्डले यसैलाई आधार मानेर नेपालमा थप नयाँ लगानी उपकरण विकास गर्ने तयारी गरेको छ।
अध्यक्ष भट्टका अनुसार नयाँ बेन्चमार्कमा आधारित एक्सचेन्ज ट्रेडेड फन्ड (इटिएफ) र इन्डेक्स डेरिभेटिभ्स ल्याउने काम अघि बढाइएको छ। यसका लागि कार्यदल वा समिति बनिसकेको उनले जानकारी दिए।
इटिएफ भनेको सेयरजस्तै बजारमा किनबेच गर्न सकिने लगानी कोष हो। यस्तो कोषले निश्चित सूचकांक पछ्याउने गरी विभिन्न कम्पनीमा लगानी गर्न सक्छ।
उदाहरणका लागि, कुनै सूचकांकमा ३० वटा कम्पनी छन् भने त्यसलाई पछ्याउने इटिएफले निर्धारित पद्धति अनुसार ती कम्पनीमा लगानी गर्न सक्छ।
यसबाट लगानीकर्ताले प्रत्येक कम्पनीको सेयर छुट्टाछुट्टै किन्नुको सट्टा एउटै कोषको एकाइ किनेर धेरै कम्पनीमा अप्रत्यक्ष लगानी गर्न सक्ने अवस्था बन्न सक्छ।
यद्यपि इटिएफमा लगानी गर्दा बजार घटेमा घाटा पनि हुन सक्छ।
त्यस्तै, इन्डेक्स डेरिभेटिभ्स भनेको कुनै सूचकांकको मूल्य वा भविष्यको उतारचढावसँग जोडिएको वित्तीय कारोबार उपकरण हो। यसबाट जोखिम व्यवस्थापनका नयाँ विकल्प विकास हुन सक्छन्।
तर यस्ता उपकरण आफैमा जटिल र जोखिमयुक्त पनि हुन सक्छन्। त्यसैले सञ्चालनका लागि स्पष्ट नियम, जोखिम नियन्त्रण र लगानीकर्ता संरक्षणको व्यवस्था आवश्यक पर्छ।
अध्यक्ष भट्टले पोर्टफोलियो व्यवस्थापन र जोखिम सन्तुलनका लागि 'नेप्से ३०' र 'नेप्से ५०' जस्ता नयाँ सूचकांक विकास गरेर तिनमा आधारित कारोबार सुरू गराउने तयारी पनि भइरहेको बताए।
यस्ता सूचकांकमा निश्चित मापदण्डका आधारमा छनोट भएका ३० वा ५० कम्पनी समेट्न सकिन्छ। तर कुन कम्पनी छनोट हुनेछन् र तिनमा आधारित कस्ता उपकरणको कारोबार गराइनेछ भन्ने अन्तिम विवरण सार्वजनिक भइसकेको छैन।
घरजग्गा र सुनमा पनि नयाँ लगानी उपकरण
धितोपत्र बोर्डले सेयर बजारमा मात्रै सीमित नरही अन्य क्षेत्रमा पनि लगानीका नयाँ उपकरण भित्र्याउने तयारी गरेको छ।
अध्यक्ष भट्टका अनुसार घरजग्गामा लगानी गर्न सकिने रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (रिट्स) र सुनमा आधारित गोल्ड बुलियन इटिएफ विकास गर्ने काम पनि अघि बढिरहेको छ।
रिट्स भनेको धेरै लगानीकर्ताबाट रकम संकलन गरेर घरजग्गा वा घरजग्गासँग सम्बन्धित सम्पत्तिमा लगानी गर्ने संरचना हो।
उदाहरणका लागि, कुनै व्यक्तिसँग व्यावसायिक भवन किन्न पर्याप्त पैसा छैन। तर रिट्सको एकाइ खरिद गरेर त्यस्तो सम्पत्तिमा अप्रत्यक्ष लगानी गर्ने अवसर पाउन सक्छ।
त्यसबाट हुने आम्दानी लगानीकर्तासम्म कसरी पुग्छ भन्ने कुरा सम्बन्धित कोषको संरचना र नियममा निर्भर हुनेछ।
त्यस्तै, गोल्ड बुलियन इटिएफ सुनको मूल्यसँग सम्बन्धित लगानी उपकरण हो। यसले भविष्यमा लगानीकर्तालाई भौतिक सुन आफै किनेर सुरक्षित राख्नुपर्ने आवश्यकताबिना सुनको मूल्यमा आधारित लगानी गर्ने विकल्प दिन सक्छ।
तर यी दुवै उपकरण अहिले तयारीकै चरणमा छन्। कहिलेदेखि सञ्चालनमा आउँछन्, कसरी कारोबार हुन्छ र लगानीकर्तालाई कस्तो सुरक्षा दिइन्छ भन्ने विषयमा अन्तिम व्यवस्था हुन बाँकी छ।
सुझाव अध्ययनपछि नियमावली संशोधन गरिने
धितोपत्र बोर्डले नयाँ बेन्चमार्क मात्रै होइन, संस्थागत लगानीकर्तासम्बन्धी नीतिगत दस्तावेज पनि सार्वजनिक परामर्शमा ल्याएको छ।
दुवै दस्तावेज पुँजी बजारको भावी दिशा निर्धारण गर्ने उद्देश्यले सार्वजनिक गरिएको अध्यक्ष भट्टले बताए।
'हामीले नयाँ बेन्चमार्क सूचकांक र संस्थागत लगानीकर्ता सम्बन्धी नीतिगत दस्तावेजहरू सार्वजनिक परामर्शमा ल्याएका हौं, जसले पुँजी बजारको भावी दिशानिर्देश गर्छन्,' उनले भने।
सर्वसाधारण तथा सरोकारवालाहरूबाट प्राप्त सुझाव र नयाँ दृष्टिकोणका आधारमा प्रस्ताव परिमार्जन गरिनेछ। बोर्डले तिहारलगत्तै प्राप्त सुझाव खोलेर अध्ययन गर्ने तयारी गरेको उनले बताए।
'बजारका सर्वसाधारण तथा सरोकारवालाहरूबाट प्राप्त हुने सुझाव, नयाँ दृष्टिकोण र छुटेका विषयहरूलाई समेटेर तिहारपछि नीतिहरू परिमार्जन गर्छौं र त्यसै आधारमा नियमावलीहरू संशोधन गर्छौं,' भट्टले भने।
अहिले सार्वजनिक परामर्शको पहिलो चरण हो। त्यसपछि उपयुक्त सुझाव समावेश गरेर आवश्यक नियम तथा नियमावली संशोधन गरी कार्यान्वयन अघि बढाइने उनको भनाइ छ।
यद्यपि अहिलेसम्म कति सुझाव प्राप्त भए, कस्ता सुझाव आए र कुन विषयमा असहमति छ भन्ने विवरण बोर्डले उपलब्ध गराएको छैन।
नयाँ सूचकांक कहिलेबाट लागू हुन्छ?
नयाँ बेन्चमार्कको औपचारिक कार्यान्वयनमा भने समय लाग्न सक्ने देखिन्छ।
अर्थ मन्त्रालयको पुँजी बजार सुधार कार्ययोजनामा मंसिर मसान्तसम्म नयाँ बेन्चमार्क प्रयोगमा ल्याउने लक्ष्य राखिएको छ। तर धितोपत्र बोर्डको विस्तृत कार्यपत्रमा चरणबद्ध कार्यान्वयनका लागि २० देखि २४ महिनासम्मको योजना प्रस्ताव गरिएको छ।
यस अन्तर्गत नयाँ गणना विधि तयार गर्ने, कम्पनीहरूको कारोबारयोग्य सेयर सम्बन्धी तथ्यांक व्यवस्थित गर्ने, विगतका तथ्यांकमा परीक्षण गर्ने र पुरानो तथा नयाँ सूचकांक सँगसँगै गणना गर्ने काम समावेश छन्।
कार्यपत्रमा कम्तिमा ६ महिना पुरानो नेप्से, विद्यमान फ्लोट इन्डेक्स र प्रस्तावित नयाँ बेन्चमार्क सँगसँगै गणना गरेर तुलना गर्नुपर्ने प्रस्ताव छ। त्यसैले मंसिरको लक्ष्य र विस्तृत कार्यान्वयन योजनाबीच कसरी तालमेल मिलाइन्छ भन्ने स्पष्ट हुन बाँकी छ।
नयाँ सूचकांक सुरू भएपछि पनि पुरानो नेप्से हट्ने छैन।
अहिलेको नेप्सेले समग्र सूचीकृत सेयरको बजार मूल्यमा आएको परिवर्तन देखाउनेछ भने नयाँ बेन्चमार्कले बजारमा वास्तविक रूपमा कारोबार गर्न उपलब्ध सेयरको प्रदर्शनलाई प्राथमिकता दिनेछ।
यसले लगानीकर्तालाई बजारको अवस्था बुझ्न थप आधार उपलब्ध गराउने अपेक्षा छ।
तर नयाँ बेन्चमार्क ल्याएकै कारण सेयरको मूल्य बढ्ने वा घट्ने होइन।
यसको मुख्य उद्देश्य बजारको उतारचढाव मापन गर्ने पद्धति सुधार्नु र भविष्यमा नयाँ लगानी उपकरण विकास गर्ने आधार तयार गर्नु हो।
नयाँ बेन्चमार्क कति उपयोगी हुन्छ भन्ने कुरा भने त्यसमा समावेश हुने कम्पनीको छनोट, कारोबारयोग्य सेयरको सही तथ्यांक, गणनाको पारदर्शिता र कार्यान्वयनमा निर्भर हुनेछ।
***