कार्तिकको महिना, अझ भनौँ, दसैँले भर्खरै बिदाइ लिएको बेला। सधैँजस्तै यो वर्ष पनि दसैँ सकिएपछि गाउँका बाटाहरू अलि उदास देखिन थाले।
केही दिनअघिसम्म रातो टीका र जमरासँगै सम्पूर्ण परिवारले भरिएको मेरो घर पनि पुरानै शान्तिमा फर्किँदै थियो। दसैँ आउँदा जति उत्साह थियो, त्योभन्दा धेरै अनौठो खालीपन घरसँगै मेरो मनले पनि महसुस गरिरहेको थियो।
सहरको व्यस्त जीवनबाट केही दिनका लागि भए पनि मुक्ति दिलाउने एउटा बहाना थियो, मेरो लागि दसैँ। तर समय न हो, आफ्नै गतिमा चलिरह्यो। म पनि बिस्तारै आफू जन्मिएको ठाउँ, हुर्किएको आँगन, पाखा-पखेरोसँगको केही दिनको साइनो छोडेर पुनः उही व्यस्त जीवनशैली अँगाल्ने तयारी गर्दै थिएँ।
गाउँघर छोड्दा आमाबुबाले मायाले पोको पारिदिएको कोसेलीको जेब्रा झोला त के भारी हुन्थ्यो र, त्यति बेला त यो मन नै भारी भइरहेको थियो।
सोचेँ, देशभित्रको म एक प्रदेशीलाई त जन्मभूमि छोड्न यति गाह्रो हुन्छ भने लाखौँ ऋणको भारीसँगै जिम्मेवारी बोकेर परदेशिनेहरूको मनमा झन् के बित्दो हो! आफ्नो भविष्य बनाउन दौडिरहेकी मेरा लागि घर फर्किनु केही दिनको बिदा थियो, तर घरमा बाटो हेरेर बसिरहेका मेरा बुबाआमाका लागि त मेरो आगमन नै जीवनको ठुलो खुसी हुँदो हो। त्यसैले त पुनः छिट्टै फर्कन आग्रह गर्दै मलाई बिदाइ गर्दै हुनुहुन्थ्यो।
मानिसले जस्तै बोल्न नसके पनि त्यो आँगन, ती पाखापखेरा र सँगै भित्रिन ठिक्क परेका खेतबारीका बालीनालीले पनि केही दिन अझै यतै बसिदिए हुन्थ्यो भन्ने भाव झल्काइरहेको महसुस गर्दै हिँडेँ।
‘सिजनको काम, हातमा दाम’ भन्दै म जस्तै कैयौँ यात्रुको प्रतीक्षा गरिरहेको बसमा चढेँ। आँखाबाट ओझेल नपरुन्जेल गाउँठाउँ हेर्दै, ड्राइभर दाइले बजाएका लोकभाकामा आफ्ना बाल्यकालका सम्झनाहरू ताजा गराइरहेकी थिएँ।
फेरिएको दसैँको स्वरूप, ताल्चा झुन्डिएका ती घरहरू, बाल्यकालमा दसैँ सम्झेर आउने त्यो उत्साह, पुरानो दसैँको परिवेशमा नयाँ लुगा किन्दा पाइने त्यो खुसी र घुम्न जानका लागि बनाइने नयाँ ठाउँका ती सूचीहरू अनि अहिलेको परिवेशमा दसैँ आउनुअघि नै खर्चको हिसाब, कामबाट मिलाउनुपर्ने छुट्टी, फर्किनुपर्ने मिति र अधुरा जिम्मेवारीका सूचीबिचका फरकलाई मनमनै केलाउँदै म आफ्नै धुनमा हराइरहेकी थिएँ।
म जस्तै दसैँ सकेर सहर फर्किनेहरूको आ–आफ्नै संसार थियो। कोही मोबाइलमा मस्त थिए, कोही निदाइरहेका थिए त कोही आफन्तसँग दसैँका गतिविधिबारे कुरा गर्दै थिए। यत्तिकैमा मेरो सिटछेउमा बसेकी, उमेरमा मभन्दा करिब चार–पाँच वर्ष जेठी देखिने एकजना दिदीको मोबाइल बज्यो। बसले गाउँको अन्तिम घुम्ती काटेर राजमार्गतिर लाग्दै गर्दा उहाँको फोन आएको थियो।
‘हेलो! ए, तँ हो? कति दिनपछि फोन गरेकी!’
उहाँको आवाज एकाएक खुसीले भरियो।
‘दसैँ कस्तो भयो? घरमा सबै ठिक छन्?’
केही बेर उताबाट कुरा सुनिरहनुभयो। त्यसपछि उहाँ हाँस्दै भन्नुभयो, ‘ए साँच्चै! बधाई छ है तँलाई! बल्ल बिहे गर्ने भइस्!’
त्यसपछि लामो हाँसो सुनियो।
‘अनि केटा कहाँको हो? के गर्छ? कहिले गर्ने कुरा छ?’
फोनमा उहाँ निकै रमाइलो मान्दै कुरा गरिरहनुभएको थियो। तर कुराकानी केही अगाडि बढेपछि उहाँको स्वर अलि बदलियो।
‘हामी सँगै पढ्दा त तँ नै पहिले जागिर खान्छु, बिहे पछि गर्छु भन्थिस् नि। समयले कहाँ पुर्याउँदो रहेछ है!’
उताबाट आएको जवाफपछि उहाँ फेरि हाँस्नुभयो।
‘हो नि, मेरो त अझै उस्तै छ। लोकसेवाको तयारी गर्दै छु। अघिल्लो पटक पनि थोरै नम्बरले छुट्यो। यसपालि फेरि प्रयास गर्छु।’
फोन राखेपछि उहाँ केही बेर चुप लाग्नुभयो। मलाई उहाँको कुराकानीले एउटा जिज्ञासा जगाएको थियो। सायद उहाँ र उहाँकी साथी कुनै समय सँगै पढेका, सँगै सपना देखेका साथीहरू थिए। अहिले एउटीको बिहे पक्का भएको थियो भने अर्की अझै आफ्नो सपनाको खोजीमा थिइन्।
केही बेरपछि उहाँले फेरि मोबाइल खोल्नुभयो। साथीले पठाएको बिहेको निमन्त्रणा रहेछ। कार्ड हेर्दै उहाँ मुस्कुराउनुभयो र फोटो साथीलाई पठाउनुभयो।
त्यसपछि मोबाइलमा अर्को म्यासेज आयो।
'तँ पनि अब धेरै नअल्झी है। घरमा सबैले तेरो बिहेको चिन्ता गर्न थालिसके होलान्।'
दिदीले म्यासेज पढ्नुभयो। केही बेर टाइप गर्नुभयो।
‘मेरो बिहेको बारेमा त मलाईभन्दा धेरै चिन्ता परिवारलाई छ।’
फेरि मेटाउनुभयो।
त्यत्तिकैमा उहाँको फोन फेरि बज्यो। यस पटक आमाको फोन रहेछ।
‘हजुर आमा, बाटोमै छु।’
उताबाट के भनियो, सुनिनँ।
‘फेरि त्यही कुरा? आमा, अहिले नै बिहे गर्ने मन छैन मेरो। यसपालि परीक्षा दिएपछि हेरौँला न।’
केही बेर मौन रहेर फेरि भन्नुभयो, ‘तपाईंहरूलाई मेरो चिन्ता लाग्छ भन्ने बुझ्छु नि। तर मलाई पनि त केही बन्न मन छ।’
फोन राखेपछि उहाँले झोलाबाट एउटा सानो डायरी निकाल्नुभयो। त्यसमा पढ्नुपर्ने विषय र आगामी परीक्षाका मितिहरू लेखिएका थिए। केही पानामा पुराना परीक्षाका नतिजा र प्राप्ताङ्क पनि टिपिएका थिए।
मलाई लाग्यो, त्यो डायरीमा केवल पढाइको हिसाब थिएन। त्यसमा उहाँले बिताएका कैयौँ वर्ष र अधुरा रहिरहेका सपनाहरू पनि थिए।
केही बेरपछि उहाँले आफ्नी साथीलाई फेरि फोन गर्नुभयो।
‘ए सुन् न, बिहेमा चाहिँ बोलाउन नबिर्सी है। मिल्यो भने पक्कै आउँछु।’
अर्को कुरा थप्दै हाँस्नुभयो, ‘अनि तँ बिहे गरेर व्यस्त भइस् भन्दैमा हामीलाई चाहिँ नबिर्सिनू।’
फोन राखेपछि उहाँले मोबाइल झोलाभित्र राख्नुभयो र झ्यालबाहिर हेर्न थाल्नुभयो।
मलाई अनौठो लागिरहेको थियो। एउटै कक्षामा पढेका, एउटै उमेरका र कुनै समय सँगै भविष्यका योजना बनाएका साथीहरू आज कति फरक मोडमा पुगिसकेका हुन्छन्। कसैको बिहे पक्का भइसकेको हुन्छ, कसैको विदेश जाने तयारी हुन्छ, कोही जागिरमा रमाइरहेका हुन्छन् भने कोही अझै आफ्नो एउटा अवसरको प्रतीक्षामा।
तर यीमध्ये कसको जीवन सफल छ भनेर निर्णय गर्ने अधिकार हामीलाई कसले दिएको होला र?
बस सहर नजिकिँदै थियो। दिदीले डायरी बन्द गर्नुभयो। मोबाइलमा साथीले पठाएको बिहेको कार्ड फेरि एक पटक हेर्नुभयो र मुस्कुराउनुभयो।
सायद उहाँलाई साथीको खुसीमा साँच्चै खुसी लागिरहेको थियो। तर कतै मनको कुनामा आफ्नै जीवनबारे पनि प्रश्न उठिरहेको हुन सक्छ।
म भने उहाँलाई हेर्दै सोचिरहेको थिएँ—समयले सबैलाई एउटै गतिमा अघि बढाउँदो रहेनछ। कसैको जीवनमा नयाँ अध्याय सुरु भइसकेको हुन्छ, कसैको पुरानै पानामा अझै केही लेखिन बाँकी हुन्छ।
बस रोकियो। उहाँले झोला काँधमा राख्नुभयो र ओर्लिनुभयो। ओर्लिनुअघि उहाँको मोबाइलमा फेरि साथीको म्यासेज आयो।
'जे भए पनि तेरो सपना चाहिँ नछोड् है। तँ सक्छेस्।'
यस पटक उहाँले तुरुन्तै जवाफ दिनुभयो।
'छोडेकी कहाँ छु र!'
त्यो छोटो जवाफ पढेर उहाँ मुस्कुराउनुभयो।
मलाई लाग्यो, कतिपय मान्छेहरू अरूको जीवनसँग प्रतिस्पर्धा गरिरहेका हुँदैनन्। उनीहरू त केवल आफूले देखेको सपनासम्म पुग्न अलि लामो बाटो हिँडिरहेका हुन्छन्।
सायद ती दिदीको जीवनमा पनि कुनै दिन आफूले चाहेको खुसी आउनेछ। त्यो खुसी जागिरकै रूपमा आउला, आत्मनिर्भरताको रूपमा आउला वा जीवनको कुनै नयाँ मोड बनेर आउला। तर एउटा कुरा निश्चित थियो—उहाँ अझै आफ्नो यात्रामा हुनुहुन्थ्यो। र सबैको गन्तव्य एउटै समयमा आइपुग्नुपर्छ भन्ने पनि त छैन नि!