काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित नासलचोक डबलीमा शनिबार नरदेवीको श्रीश्वेतकाली अजिमाको बाह्रवर्षे देवी नाच प्रदर्शन गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल, काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, नेपाली कांग्रेसका सभापति गगन थापा र काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्य लगायतले नाच अवलोकन गरेका छन्।
यसअघि मंसिर ९ र १० गते काठमाडौंको इन्द्रचोक डबलीमा नाच प्रदर्शन गरिएको थियो। मंसिर ११ र १२ गते नासलचोकमा हुने प्रदर्शनसँगै यसपटकको बाह्रवर्षे नाच विधिवत सम्पन्न हुने नरदेवी देवी नाच संरक्षण समितिले जनाएको छ।
नेपाल भाषामा 'ङतभुलु अजिमा' भनेर चिनिने श्रीश्वेतकाली अर्थात् नरदेवीको यो नाच पौराणिक कथा, तान्त्रिक साधना र काठमाडौंको प्राचीन नगर सभ्यतासँग जोडिएको छ।
बाह्रवर्षे नाच भनिए पनि पात्रोमा १२ वर्ष पुग्दैमा यो नाच सुरू हुँदैन। देवीमा दैवी शक्ति अवतरण भएको संकेत मिलेपछि मात्र विशेष तान्त्रिक विधि पूरा गरी नाच सुरू गर्ने परम्परा छ। यही धार्मिक विश्वास र विधिले नरदेवीको बाह्रवर्षे नाचलाई काठमाडौं उपत्यकामा प्रचलित अन्य जात्रा तथा पर्वभन्दा विशिष्ट बनाएको छ।

नरदेवी देवी नाच संरक्षण समितिका सचिव रामकाजी महर्जनका अनुसार चण्डासुर नामक दैत्यको वध यो नाचको मूल कथा हो। देवी र उनकी छोरी कौमारीले चण्डासुर वध गर्न महादेवबाट शक्ति र वरदान प्राप्त गरेको पौराणिक कथा नृत्यमार्फत् प्रस्तुत गरिन्छ।
महर्जन स्वयं यो नाचमा गणेशको भूमिका निर्वाह गर्छन्।
नरदेवीको कथा चण्डासुर वधमा मात्र सीमित छैन। नरदेवीको उत्पत्ति कसरी भयो र देवीको पूजा गर्ने चलन कसरी बस्यो भन्नेबारे पनि रोचक किम्बदन्ती प्रचलित छन्।
परापूर्वकालमा हालको बनेपा क्षेत्रका एक राजा सिकार खेल्दै काठमाडौंको किलागल आइपुगेका थिए। त्यही बेला रातो वर्णको एउटा विशाल हात्ती उनीमाथि जाइलाग्यो। हात्तीबाट ज्यान जोगाउन राजा पश्चिमतिर भाग्न थाले। भाग्दाभाग्दै उनले नजिकैको चस्वाँ सिमाको रूखको फेददेखि आकाशसम्म फैलिएको तेजस्वी प्रकाश देखे।
हात्तीको आक्रमणबाट भयभीत राजाले त्यहीँ ईश्वरको स्मरण गर्दै आफ्नो रक्षाका लागि पुकार गरे। त्यसपछि उनी बेहोस भए।
होस खुल्दा उनलाई लखेटिरहेको रातो हात्ती त्यहाँ थिएन। केही अघिसम्म भयावह देखिएको जंगल शान्त र मनोरम भइसकेको थियो।
आफू सकुशल रहेको थाहा पाएपछि राजाले त्यहाँ रहेका दैवी शक्तिप्रति कृतज्ञता प्रकट गरे।
किम्बदन्ती अनुसार त्यसै बेलादेखि उक्त स्थानमा विराजमान देवी शक्तिको पूजा गर्न थालिएको हो। अहिले नरदेवी मन्दिरभित्र रहेको गर्भगृह पनि त्यही ठाउँमा रहेको विश्वास गरिन्छ। स्थानीय बूढापाकाहरू अझै पनि देवीको गर्भगृह रूखको फेदमा रहेको बताउँछन्।
श्वेतकालीको पौराणिक भजनमा समेत चस्वाँको रूखमुनि देवीले दर्शन दिएको र देवगणसहित नृत्य गरेको प्रसंग उल्लेख छ।
नेपालका वंशावली तथा जनश्रुतिमा नरदेवीमा श्वेतकालीको स्थापनालाई काठमाडौं नगरको विस्तारसँग जोडिएको पाइन्छ। दसौं शताब्दीतिर राजा गुणकामदेवले खड्ग आकारमा कान्तिपुर नगर विस्तार गर्ने क्रममा नगरको मध्यभागमा शक्तिस्वरूपा श्रीश्वेतकालीको स्थापना गरेको कथन छ।
पछि सोह्रौं शताब्दीमा राजा शिवसिंह मल्लका सिद्ध तान्त्रिक गुरू लब्धकर्ण भट्टले यस स्थानको धार्मिक तथा तान्त्रिक महत्त्व पहिल्याएको जनश्रुति छ।
सम्पूर्ण प्राणीको रक्षा र भयबाट उद्धार गर्न देवी शक्ति यहाँ विराजमान रहेको र समय–समयमा यस क्षेत्रमा गुप्त तान्त्रिक नृत्य हुने गरेको रहस्य उनले थाहा पाएको बताइन्छ।
उनैले श्रीश्वेतकालीको विधिवत स्थापना गरेको र देवीको भक्त बनेपछि राजाबाट नरदेवी क्षेत्रमा बसोबासका लागि जग्गा प्राप्त गरेको विवरण पनि वंशावलीमा उल्लेख रहेको बताइन्छ।
नरदेवीको नाच भने सोह्रौं शताब्दीमा राजा अमर मल्लको शासनकालदेखि सुरू भएको मान्यता छ।
यसरी नरदेवीको इतिहास काठमाडौं नगरको स्थापनादेखि मल्लकालीन राजकीय संरक्षण र तान्त्रिक साधनासम्म जोडिएको छ।

नरदेवीको इतिहाससँग जोडिएको अर्को रोचक प्रसंग नेपाल–भोट युद्धका युद्धबन्दी भोटु पाँडेको हो।
विक्रम सम्बत् १८४५ ताका भएको नेपाल–भोट युद्धमा नेपालका सैनिक अधिकारी तथा कपर्दार शत्रुभञ्जन पाँडे भोटमा युद्धबन्दी बनेका थिए। उनी भोटु पाँडेका नामले परिचित थिए।
भोटको बन्दीगृहमा आफ्नो ज्यान जाने अवस्था आएपछि उनले इष्टदेवी श्वेतकाली अर्थात् नरदेवीको स्मरण गर्दै रक्षाका लागि पुकार गरेको जनश्रुति छ।
कथन अनुसार उनले सपनामा देवीको दर्शन पाए। देवीकै कृपाले १६ पाइला टेकेर सुरक्षित स्थानमा पुग्न सफल भएको विश्वास गरिन्छ।
त्यसैको सम्झनामा उनले काठमाडौंको हालको सोह्रखुट्टे क्षेत्रमा सोह्रखुट्टे पाटी र धर्मशाला निर्माण गर्न लगाएको बताइन्छ।
उनले श्वेतकालीका विभिन्न पर्व तथा धार्मिक कार्य सञ्चालन गर्न आयस्ताको व्यवस्था गरी गुठी स्थापना गरेको इतिहास पनि छ।
पछि तराईको तुलसियाही क्षेत्रमा काजमा खटिएका बेला उनले त्यहाँ नारायण मन्दिर, नरदेवी मन्दिर तथा पाटीपौवा निर्माण गरेको विवरणसमेत उल्लेख छ।
यसरी नरदेवीप्रतिको आस्था काठमाडौं उपत्यकामा मात्र सीमित नरही उपत्यकाबाहिर पनि फैलिएको पाइन्छ।
नरदेवीको बाह्रवर्षे नाच सुरू गर्ने परम्परागत विधि आफैमा रोचक छ। नरदेवी मन्दिर आसपास निख्खर सेतो रङको चरा देखिएपछि दैवी शक्ति अवतरण हुन लागेको मानिन्छ। त्यसको आसपास कुनै मध्यरात नाचका देवगणमध्ये एकमा दैवी शक्ति अवतरण हुने विश्वास छ।
त्यसपछि तीन तहका भोटे ताल्चा लगाएर राखिएको ढुकुटी खोलिन्छ। देवीका आयुध र गरगहनाले सुसज्जित देवगणले मध्यरातमा नरदेवी डबलीमा नृत्यसहित दर्शन दिन्छन्। त्यसपछि ती देवगण मन्दिरभित्र देवीको गर्भस्थानमा अचेत अवस्थामा रहने बताइन्छ।
बिहान उज्यालो भएपछि सर्वसाधारणले उक्त दृश्य देख्छन्। त्यसपछि मात्र देवी अवतरण भएको खबर सार्वजनिक हुन्छ।
नाचका प्रमुख नाइके तथा गुरूहरूले विशेष तान्त्रिक विधि अनुसार पूजा र स्वस्तिशान्ति सम्पन्न गर्छन्। त्यसपछि बाह्रवर्षे देवी नाच सुरू भएको औपचारिक घोषणा गरिन्छ।

नाच सुरू भएपछि दरबार, गुठी संस्थान लगायत सम्बन्धित निकायलाई जानकारी गराई विभिन्न स्थानमा देवी नाच प्रदर्शन गर्ने परम्परा छ।
गुठीको विवरण अनुसार २०३६ सालसम्म यही विधि र प्रक्रियाबाट बाह्रवर्षे नाच सञ्चालन हुँदै आएको थियो। त्यसपछि भने करिब तीन दशक यो नाच रोकियो।
२०३६ सालपछि परम्परागत मान्यता अनुसार दैवी शक्ति अवतरणको संकेत नमिलेपछि बाह्रवर्षे नाच सञ्चालन हुन सकेन।
एक वर्ष, दुई वर्ष गर्दागर्दै ३० वर्ष बित्यो।
यसबीच नाचका विधि जान्ने गुरू, नायः र अन्य जानकारहरूको संख्या घट्दै गयो। पुरानो पुस्ताका जानकारहरू घट्दै जाने, नयाँ पुस्ताले नाच सिक्न नपाउने अवस्था सिर्जना भयो।
शताब्दीयौंदेखि चल्दै आएको परम्परा कतै आफ्नै पुस्तामा लोप हुने त होइन भन्ने चिन्ता गुठियारहरूमा बढ्न थाल्यो।
नाचगुठीका थकाली, गुरू र गुठियारहरूले यसबारे व्यापक छलफल गरे। परम्परा जोगाउन र नयाँ पुस्तामा नाचको ज्ञान तथा सीप हस्तान्तरण गर्न पनि बाह्रवर्षे नाच पुनः सञ्चालन गर्नुपर्ने निष्कर्षमा उनीहरू पुगे।
त्यही निर्णयअनुसार २०६६ सालमा नरदेवीमा बृहत् क्षमापूजा गरी बाह्रवर्षे नाच पुनः सुरू गरिएको रामकाजी महर्जन बताउँछन्।
त्यसका लागि दुई रात र दुई दिनसम्म विभिन्न धार्मिक विधि तथा पूजा सम्पन्न गरिएको थियो। नयाँ पुस्तालाई नाचको प्रशिक्षण दिइयो। जिम्मेवारी हस्तान्तरण गरियो। नाच सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत गुठियार, स्थानीय बासिन्दा र भक्तजनबाट जुटाइयो।
गुठीको विवरण अनुसार २०६६ सालमा सुरू भएको बाह्रवर्षे नाच २०७४ सालमा विधिवत सम्पन्न भयो।
त्यसको चार वर्षपछि, २०७८ सालमा फेरि अर्को बाह्रवर्षे नाच सुरू गरियो।
पुरानो पुस्तासँग भएको ज्ञान र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्दै परम्परालाई निरन्तरता दिन यो नाच सञ्चालन गरिएको महर्जनको भनाइ छ। २०७८ सालमा सुरू भएको बाह्रवर्षे नाच अहिले समापनको चरणमा छ।
यस अवधिमा नरदेवी डबली, तलेजु भवानी, कुमारीघर, हनुमानढोका दरबार क्षेत्रका श्वेतभैरव र कालभैरवअगाडिका डबलीमा नाच प्रदर्शन भइसकेको छ। यसबाहेक ललितपुर, कीर्तिपुर, बनेपा र भक्तपुरका प्राचीन डबलीहरूमा पनि नरदेवीको नाच देखाइएको छ।
विगतमा नाचको व्यवस्थापनका लागि दरबारबाट सहयोग प्राप्त हुने गरेको थियो। पछिल्लो समय त्यस्तो सहयोगले निरन्तरता नपाएपछि गुठियारहरूले विभिन्न निकायसँग सहयोग जुटाउँदै आएका छन्।
काठमाडौं महानगरपालिकासँग गरिएको पहलपछि भने नाच व्यवस्थापनका लागि महानगरको वार्षिक कार्यक्रममा बजेट विनियोजन हुन थालेको महर्जन बताउँछन्। यसले नाच सञ्चालनमा केही सहज भएको उनको भनाइ छ।
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी















