सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत (ब्रान्ड एम्बेस्डर)मा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ। कम्पनीको स्थापना कालदेखि नै ब्रान्ड एम्बेस्डरको रूपमा मह जोडी सिटिजन लाइफसँग आवद्ध थिए।
सोमबार भएको नयाँ सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्ताक्षर गरेका छन्। उक्त सम्झौता पछि ब्रान्ड एम्बेस्डर मह-जोडीले सिटिजन लाइफका सेवाहरूको प्रचारात्मक कार्य, ब्रान्ड प्रबन्धन तथा ब्रान्ड संरक्षण सम्बन्धी कार्यहरूमा निरन्तरता दिनेछन्।
हस्ताक्षर समारोहमा मह जोडीले सिटिजन लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर हुन पाएकोमा आफूहरूले गौरवान्वित महशुस गरेको बताए। साथै, जीवन बीमा सेवालाई हरेक नेपालीको पहुँचमा पुर्याई सबैभन्दा विश्वासिलोे र ग्राहक वर्गको रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यमा सधैँ साथ दिने प्रतिवद्दता जनाएको संस्थाले बताएको छ।
सिटिजन लाइफले हाल देशभर रहेको १४० भन्दा बढी शाखा र उप-शाखा कार्यालयहरू मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकहरूलाई सेवा दिइरहेको छ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८, ०६:१७:००