बुद्धभूमि नेपाल हाइड्रोपावरले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत अर्थात हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले ४० करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
उक्त हकप्रद निष्कासन प्रयोजनको लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा माघ २९ गतेसम्मका कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
यो हकप्रद सेयरमा वैशाख १३ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले 'आइआरएन डबल बी इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक, नुवाकोट र एनआइसी एसिया बैंकको विराटनगर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।