बैंकले बैंक अफ काठमाण्डूसँग मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो।
साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डिडिए) का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रकृया पूरा भइसकेको छ।
साथै, साधारणसभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रूपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ।
साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।
बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।