ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टरमाथि कुटपिट भएको घटनापछि असईसहित पाँच जना काठमाडौं उपत्यका ट्राफिक कार्यालय बग्गीखाना तानिएका छन्।
डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जवान राजेन्द्र थापासहित पाँच जनालाई मंगलबार कार्यालयले तानेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए।
आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका घिसिङमाथि ट्राफिक प्रहरी जवान थापाले कुटपिट गरेका थिए। सो समयमा ट्राफिक चेकिङ भइरहेको थियो।
कार्यालयले कारबाही प्रक्रियाको लागि चेकिङमा उपस्थित पाँचै जनालाई त्यहाँ तानेको हो।
‘एकान्तकुनामा चेकपोइन्टमा बसेका असईसहित पाँचै जनालाई उता बग्गीखाना तानिएको छ। प्रहरी नियमावली अनुसार विभागीय कारबाही प्रक्रिया सुरू भएको छ,’ प्रहरी उपरीक्षक शाहले भने,‘त्यसबाहेक कानुनी कारबाहीको लागि घाउ जाँच गराउन दिदीले निवेदन दिनुभएको छ हामीले त्यो गराएका छौं।’
यदी प्रहरीको कारबाही चित्त नबुझेको भएमा जाहेरी लिएर पनि आउन सकिने उनले बताए।
‘जाहेरी लिएर आउनुभयो भने त्यसअनुसार कारबाही अगाडि बढ्छौं। के गर्नुहुन्छ,’ उनले भने,‘यस सम्बन्धमा हामी स्पष्ट छौं। थप कारबाही हुनुपर्छ भन्ने लाग्छ भने कानुन बमोजिम जाहेरी दिन सक्नुहुन्छ।’
घिसिङ कुसुन्तीमा बस्छन्। पुल्चोकस्थित प्रतिष्ठानमा काम गर्ने उनी दिनहुँ ड्युटी सकेर पैदल घर फर्किन्छन्। त्यो दिन पनि उनी यातायात व्यवस्था विभाग एकान्तकुनाबाट घरतर्फ जाँदै थिए।
‘रिङरोडको फुटपाथ बाटो हुँदै म एक्लै घर जाँदै थिएँ,’ उनले भनेका थिए, ‘उताबाट ट्राफिक दाइ आइरहनुभएको थियो। त्यही बेला उहाँले झर्केर भाइ तिमी किन टाँसिएर हिँडिरहेको भन्ने कुरा गर्नुभयो।’
नजिकै ट्राफिक प्रहरी चेकिङ भइरहेको थियो भने ट्राफिक प्रहरी जवान थापा एक्लै हिँडिरहेका थिए। थापाले त्यसरी झर्केर बोलेपछि घिसिङले पनि भने, ‘हैन सर, म आफ्नै बाटो हिँडिरहेको हो।’
त्यसपछि थापाले बढीबढी कुरा गर्ने भन्दै मुखमा एक मुक्काले हिर्काएको घिसिङले बताए।
त्यसरी मुक्काले हिर्काएपछि उनको नाकबाट रगत बग्न थाल्यो। उनी बेहोस जस्तै भए।
‘मेरो नाकबाट रगत पनि बग्न थालेको थियो। म बेहोस जस्तै भएको थिएँ। त्यसपछि मैले म डाक्टर हुँ भनेर आइडी कार्ड पनि देखाएँ,’ उनले भनेका थिए,‘त्यसपछि पनि उहाँले आक्रोशित भएर तिमी यहाँबाट जाने कि नजाने भनेर लखेटे।’
त्यसरी कुटपिट भएपछि नजिकै रहेका अर्का ट्राफिक प्रहरी पनि त्यहाँ पुगेका थिए। घटनाबारे बताएपछि घिसिङको उपचारको लागि नजिकैको अल्का अस्पताल लगिएको छ।
घिसिङको अहिले उपचार भइरहेको छ। नाकमा फ्याक्चर भएको बताए पनि अपरेशन नै गर्नुपर्ने अवस्था नभएको उनले बताए।
अस्पतालमा भर्ना भएपछि जावलाखेल ट्राफिक प्रहरीका इन्चार्ज आएर पनि भेटेको र कारबाहीको आश्वासन दिएको उनले बताए।
यो पनि: बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले