कपिलवस्तुमा शनिबारदेखि लगाइएको निषेधाज्ञा अहिले पनि जारी छ।
शनिबार जिल्लाको महाराजगंज नगरपालिका वडा नं. २ वर्गदामा भएको घटनालाई लिएर उत्पन्न भएको विवादपछि निषेधाज्ञा लगाइएको थियो।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार महाराजगन्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनावपछि अवस्था नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको हो।
प्रमुख जिल्ला अधिकारी गौतमले सबै धर्म, संस्कृति र जातजाति मिलेर बसेको समाजमा कतिपय उच्छृङ्खल एवं अराजक तत्वहरूले धार्मिक एवं सामाजिक सद्भाव भड्काउने उद्देश्यले कृयाकलाप गरेकोले स्थानीय प्रशासनले नियन्त्रणको प्रयास गरिरहेको बताए।
महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि दुई समूहबिच झडप भएको थियो। झडपमा प्रदर्शनकारी र सुरक्षाकर्मी गरी करिब २० जना घाइते भएका थिए। ती मध्ये ३ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य छ।
प्रहरी प्रशासनले ७ राउन्ड अश्रुग्याँस प्रहार गरी घटनालाई नियन्त्रणमा लिएर थप घटना हुन नदिन निषेधाज्ञा लगाएको थियो।
उक्त घटनामा संलग्न केहिलाई प्रहरीले पक्राउ गरिसकेको र अन्यको खोजी कार्य जारी रहेको जनाएको छ।
घटनाको सम्बन्धमा आइतबार बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार अर्को निर्णय नहुँदा सम्म निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी गौतमले घटनामा परी घाइते भएका सबै नागरिकको उपचार भइरहेको र बाहिर प्रचारमा आए जस्तो कसैको निधन भने नभएको जानकारी दिए।
जिल्ला प्रशासनले जिल्लामा शान्ति सुरक्षा र सद्भाव कायम राख्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको व्यहोरा जानकारी गराउँदै जिल्लाका सबै राजनैतिक दल, जन प्रतिनिधि, नागरिक समाज, संघ संस्था, संचार क्षेत्र लगायत सबै पक्षलाई शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा जिम्मेवार भूमिका निर्वाह गर्नुहुन र अनावश्यक भिडभाड नगरी सहयोग गरिदिनु हुन समेत अपिल गरेको छ।
जिल्ला प्रशासन कार्यालयको सूचना अनुसार महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन।
उक्त घटनापछि कपिलवस्तुमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ।
निषेधाज्ञा जारी पछि बहादुरगन्ज, महाराजगन्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।