बैंक तथा वित्तीय संस्थाले दुई महिनामै चार गुणा बढी राष्ट्र बैंकबाट पाइने तरलता सुविधा लिएका छन्।
गत वर्ष असोज सात गतेसम्म चार खर्ब ३९ अर्ब स्थायी तरलता सुविधा लिएका बैंकहरूले यस वर्ष असोज ५ गतेसम्ममा १७ खर्ब ४६ अर्ब रुपैयाँ लिइसकेका छन्।
बैंकहरूमा तरलता अभाव भएपछि यस्तो सुविधा लिएका हुन्।
बैंकहरूले ८.५ प्रतिशत ब्याजदर तिरेर राष्ट्र बैंकबाट पाँच दिनको लागि यस्तो सुविधा दिन्छ। हाल बैंकहरूले चलाइ रहेको एक खर्ब तीन अर्ब रुपैयाँबराबरको स्थायी तरलता सुविधा चलाइ रहेकै छन्।
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा बैंकहरूलाई अत्यावश्यक भए १०.५ प्रतिशतसम्ममा अन्तिम ऋणदाता सुविधा समेत दिन सकिने उल्लेख गरेको थियो।
हालसम्म यसको लागि आवश्यक कार्यविधि बनेको छैन भने बैंकहरूले पनि यसको माग नगरेको राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए।
राष्ट्र बैंकले यही बीच यसअघि जारी भएका ४० अर्ब बराबरका ट्रेजरी विल्स बैंकहरूबाट खरिद गर्न लागेको छ।
नेपाल सरकारको नाममा जारी भएका ट्रेजरी विल्स खरिद गर्न लागिएको हो। ट्रेजरी विल्सको आज (बिहीबार) तीन बजेसम्म आवेदन दिनुपर्ने हुन्छ।
यसअघि ट्रेजरी विल्सको लागि बैंकहरूले औसत ९.६६ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए।
पछिल्लो समय भने बैंकहरूको निक्षेपमा सुधार हुन थालेको छ।
नजिकिदो दसैंको कारण रेमिटेन्स भित्रिन थालेको र सरकारको पनि खर्च बढेकोले निक्षेपमा सुधार भएको छ।
एक सातामै वाणिज्य बैंकमा निक्षेप ४१ अर्ब रुपैयाँले बढेर ३१ भदौमा ४४ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।