सेयर बजारले स्पष्ट दिशा नसमात्दा पछिल्लो केही समयदेखि सस्ता सेयर मूल्य भएका कम्पनीहरूमा लगानीकर्ताहरू आकर्षित भइरहेका छन्।
नयाँ सरकार गठन जस्ता राजनीतिक, सामाजिक परिघटनापछि सेयर बजार बढ्यो भने यस्ता कम्पनीमा धेरै लाभ हुन सक्छ भन्ने सोचले यस्ता कम्पनीमा कारोबारीको चासो बढेको देखिन्छ।
यस्तै कम्पनी हुन्, नेसनल हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर।
गत फागुन १२ मा नेसनल हाइड्रोपावको सेयर मूल्य प्रतिकित्ता २१५ रूपैयाँ थियो। मंगलबारसम्म आइपुग्दा ४५ प्रतिशत बढेर ३१३ रूपैयाँसम्म पुग्यो। बजार बन्द हुँदा भने मूल्य केही घट्यो र २९९ रूपैयाँमा आयो।
फागुन १२ को तुलनामा मंगलबारको वृद्धि करिब ४० प्रतिशत हो।
नेसनलको मूल्य २०७८ चैतपछिको सर्वाधिक उच्च विन्दुमा आएको हो। २०७८ चैतमा मूल्य ३०५ रूपैयाँ थियो।
गत फागुन २८ देखि यसको सेयर कारोबार पनि बढेको छ। दैनिक ४८ करोडदेखि ६७ करोड रूपैयाँसम्म सेयर कारोबार भएको छ।
२०६० असारबाट सेयर कारोबारमा आएको नेसनल हाइड्रोको पछिल्लो चार वर्षको उच्च मूल्य ५२० रूपैयाँ हो। यसको सेयर मूल्यले यो उचाइ छोएको २०७८ साउनमा हो।
यसले आफ्नो इतिहासमै पहिलो पटक २०७७–२०७८ मा नाफाबाट लाभांश दिएको थियो। सञ्चालनमा आएको करिब २२ वर्ष पुग्दा नेसनलले यसरी एक पटक मात्रै लाभांश दिन सफल भएको थियो।
यही सम्भावनाका कारण २०७८ साउनमा मूल्य उच्च भएको थियो।
यसले चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमास (साउनदेखि पुससम्म) नाफा दोब्बरले बढाएको छ। दोस्रो त्रैमासमा नाफा दुई करोड ५९ लाख रूपैयाँ छ। यसअघि एक करोड पाँच लाख रूपैयाँ नाफा थियो।
त्यस्तै विद्युत बिक्रीबाट भएको आम्दानी नौ करोडबाट बढेर ११ करोड रूपैयाँ पुगेको छ। सञ्चित आम्दानी करिब ६ करोड रूपैयाँले ऋणात्मक छ।
नेसनलको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी दुई रूपैयाँ ११ पैसा छ। यसरी यसले कमाएको एक रूपैयाँलाई लगानीकर्ताले १४१ गुणा मूल्य हालिरहेको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ले देखाउँछ।
यही साल पुसमा नेसनलको ५८ करोड रूपैयाँ लगानी रहने गरी बनेको लोअर इखुवा हाइड्रोले चाँडै उत्पादन सुरू गर्न लागेको भनिएको थियो। त्यसयता यस सम्बन्धमा थप जानकारी आएको छैन।
१४.१५ मेगावाटको लोअर इखुवाले आइपिओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ। यसले पनि लगानीकर्तामा केही सकारात्मक प्रभाव पारेको हुन सक्छ।
नेसनलको सेयर मूल्य २०७८ चैतपछिकै उच्च विन्दुमा रहेकाले लगानीकर्ताहरू अनिर्णित पनि हुन थालेका छन्। मंगलबार यसको सेयर मूल्यले बनाएको दोजी आकृतिले पनि यस्तै देखाएको छ। यसले माथिल्लो धागो लामो भएको सानो शरीरको दोजी आकृति बनाएको हो।
त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको फागुन १७ मा सेयर मूल्य १९४ रूपैयाँ थियो। मंगलबार अन्तिम कारोबार २५५ रूपैयाँमा भयो। मूल्य करिब ३२ प्रतिशत बढ्यो।
२०७८ भदौमा यसको सेयर मूल्य ४७८ रूपैयाँसम्म पुगेको थियो। अहिले २०८१ साउनमा भएको उच्च मूल्य बराबर, अर्थात् २२६ रूपैयाँ नजिक छ।
२०७६ सालबाट सेयर कारोबारमा आएको हिमाल दोलखाले हालसम्म लाभांश दिएको छैन। यसले एक पटक हकप्रद सेयर दिएको छ।
२०७८ सालदेखि नै हिमाल दोलखा प्रायः जसो त्रैमासमा नोक्सानमा देखिने गरेको छ। आर्थिक वर्ष २०८१–८२ मा चार करोड रूपैयाँ नोक्सानमा थियो। चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासमा एक करोड रूपैयाँ नाफामा देखिएको हिमाल दोलखा दोस्रो त्रैमासमा पुनः ६ करोड रूपैयाँ नोक्सानमा छ।
यसको सञ्चित नोक्सानी ६९ करोड रूपैयाँ पुगेको छ।
प्रतिसेयर आम्दानी चार रूपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ २६२ रूपैयाँले ऋणात्मक छ।
केही समयअघि यसले ९७.२ मेगावाटको केबिएनआर इसुवामा रणनीतिक लगानी गर्न लागेको उल्लेख गरेको थियो। हाल कम्पनीको हाल ४.५ मेगावाटको माई खोला स्मल हाइड्रो, ८ मेगावाटको माई स्कल क्यासकेड आयोजना सञ्चालनमा छ।
बजार बुलिस प्रवृत्तिमा जाँदा सबैजसो कम्पनीका सेयर पनि माथि जाने भएकाले लगानीकर्ताहरूमा यस्तो सोच आएको देखिन्छ। यही कारण सञ्चित नोक्सान उच्च भएको यी कम्पनीमा पनि लगानीकर्ताहरू आकर्षित देखिएका छन्।
तर कम्पनीका आधारभूत पक्ष पूर्ण बेवास्ता गरेर लगानी गर्दा बजार घटेको समयमा यसले नोक्सान हुन सक्छ।