बुधबार नेप्से परिसूचक ७.७२ अंकले घटेको छ।
आज नेप्से ०.४० प्रतिशतले घटेर १९२१.९९ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि कमी आएको छ।
अघिल्लो कारोबार दिन अर्थात् मंगलबार १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँ पुगेको छ।
यस दिन २२३ वटा धितोपत्रको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर किनबेच भएको छ।
बुधबार सिभिल बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएसँगै सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता मूल्य २३४ रुपैयाँ ३० पैसामा बन्द भएको छ।
हिमालयन बैंकसँग मर्जरमा जान लागेको सिभिल बैंकको मंगलबार कारोबार खुला भएको थियो। धितोपत्र बोर्डले जारी गरेको नयाँ निर्देशिका अनुसार कम्पनीको कारोबार खुला भएको हो।
हिमालयन बैंकको भने ७ प्रतिशतले सेयर मूल्य घटेर ३२६ रुपैयाँमा कारोबार बन्द भएको छ।
त्यस्तै, घलेम्दी हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २०५ रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४१८ रुपैयाँमा झरेको छ।
त्यस्तै, नबिल ब्यालेन्सड् फण्डको इकाई मूल्य ४.७४ प्रतिशतले घटेर प्रति इकाई मूल्य ७ रुपैयाँ ४३ पैसा कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री नेपाल बैंकको भएको छ। कम्पनीको २८६ रुपैयाँमा १२ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.०६ प्रतिशतले बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेकोे छ। उक्त कम्पनीको ३ हजार ८९२ रुपैयाँमा ११ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक ०.८० र ०.२९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक ०.७८ प्रतिशतले घटेको छ।