ग्लोबल आइएमई बैंकले साना तथा लघु उद्यम/व्यवसायमा कर्जा विस्तारका लागि डिएआई–उदय परियोजनासँग सहकार्य गर्ने भएको छ।
ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका हुन्।
समझदारीपछि कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहज रूपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूको व्यवसाय विस्तार सँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ।
यस सम्झौता अनुसार डिएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरुले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहज रूपमा कर्जा पाउनेछन् ।
नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षिय पहलस्वरुप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरुमा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ।
डिएआई–उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणिय ऊर्जा, कृषि प्रशोधन, आइटी, पर्यटन तथा उत्पादनमूलक उद्योग लगायतका व्यवसायहरूलाई कर्जाको उपलब्धता तथा व्यवसायिक उन्नतिको लागि वित्तीय श्रोतमा सहज वातावरण बनाइरहेको छ ।
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।