ब्लू–चिप कम्पनी भन्नाले यस्ता कम्पनी बुझिन्छन्, जसको सेयर मूल्य दीर्घकालीन रूपमा तुलनात्मक रूपमा स्थिर रहन्छ।
अर्थात् अत्यधिक उतार–चढाव नहुँदै क्रमिक रूपमा वृद्धिको बाटोमा अगाडि बढ्ने कम्पनीहरू ब्लू–चिप श्रेणीमा पर्छन्।
यस्ता कम्पनीहरूको साख र प्रतिष्ठा समयसँगै मजबुत हुँदै गएको हुन्छ।
ब्लू–चिप कम्पनीहरू प्रायः आफ्ना–आफ्ना क्षेत्रमा बजार अग्रणी स्थानमा रहेका हुन्छन्।
यिनको वित्तीय अवस्था बलियो, व्यवस्थापन सक्षम र व्यवसायिक मोडेल टिकाउ हुन्छ। सेयर बजारमा ब्लू–चिप कम्पनीका सेयरलाई तुलनात्मक रूपमा सुरक्षित तथा कम जोखिमयुक्त मानिन्छ।
किनभने यस्ता कम्पनीहरूको वित्तीय अवस्थामा ठूलो उतार–चढाव हुँदैन।
सेयर बजारमा आउने संकट वा अस्थिरताका बेला पनि यस्ता कम्पनीको मूल्य तुलनात्मक रूपमा टिकिरहन सक्छ।
वर्षौंदेखि राम्रो नाफा कमाइरहेका, नियमित रूपमा लाभांश वितरण गर्दै आएका, विश्वसनीय ब्रान्ड छवि बनाएका तथा सुदृढ वित्तीय अवस्था भएका र दीर्घकालीन वृद्धिको सम्भावना रहेका कम्पनीहरूलाई सेयर बजारमा 'ब्लू–चिप' कम्पनी भनिन्छ।
बैंक, बीमा, दूरसञ्चार, ऊर्जा तथा ठूला औद्योगिक समूहहरू प्रायः ब्लू–चिप श्रेणीमा पर्छन् ।
लामो समयदेखि नाफामा रहेका, राम्रो संस्थागत सुशासन अपनाएका र नियामक मापदण्ड पालना गर्ने कम्पनीहरूलाई नेपाली लगानीकर्ताले ब्लू–चिप कम्पनीका रूपमा लिने गरेका छन् ।
यस्ता कम्पनीहरूमा लगानी गर्नुको प्रमुख फाइदा जोखिम कम हुनु र पुँजी सुरक्षित रहनु हो ।
सेयर मूल्य अत्यधिक घट्ने सम्भावना कम हुनुका साथै नियमित लाभांशले लगानीकर्तालाई स्थिर आम्दानी प्रदान गर्छ।
यद्यपि, ब्लू–चिप कम्पनीको सेयर मूल्य प्रायः पहिले नै उच्च हुने भएकाले छोटो अवधिमा धेरै नाफा कमाउने सम्भावना कम हुन सक्छ ।
त्यसैले ब्लू–चिप लगानीलाई 'छिटो नाफा कमाउने' भन्दा पनि 'ढुक्क भएर दीर्घकालीन लगानी गर्ने' माध्यमका रूपमा बुझ्नुपर्छ ।
ब्लू–चिप कम्पनीमा लगानी गर्दा ध्यान दिनुपर्ने कुरा
कुनै पनि कम्पनीको वित्तीय अवस्था सधैं महत्वपूर्ण हुन्छ। ब्लू–चिप कम्पनीमा लगानी गर्दा पनि यस पक्षलाई बेवास्ता गर्न हुँदैन।
कम्पनीको नाफा, आम्दानीको वृद्धिदर, ऋणको स्तर, नगद प्रवाह र पुँजी संरचना ध्यानपूर्वक हेर्नुपर्छ। बलिया वित्तीय सूचक भएका कम्पनीहरू दीर्घकालीन रूपमा सुरक्षित मानिन्छन्।
संस्थागत सुशासन र व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण पक्ष हुन्।
पारदर्शी निर्णय प्रक्रिया अपनाउने, समयमै वित्तीय विवरण सार्वजनिक गर्ने तथा अल्पसंख्यक सेयरधनीको हित संरक्षण गर्ने कम्पनीमा गरिएको लगानी तुलनात्मक रूपमा सुरक्षित मानिन्छ।
त्यसैगरी, सम्बन्धित क्षेत्र र समग्र अर्थतन्त्रको अवस्थाबारे पनि बुझ्नुपर्छ।
समग्र अर्थतन्त्र मन्दीमा गए पनि कम प्रभावित हुने क्षेत्र पहिचान गरेर लगानी निर्णय लिन सकिन्छ।
राम्रो कम्पनी भए पनि अत्यधिक महँगो मूल्यमा सेयर किनेमा अपेक्षित प्रतिफल नआउन सक्छ। त्यसैले सेयर मूल्यको उचित मूल्यांकन पनि आवश्यक हुन्छ ।
लगानी गर्दा आफ्नो लगानी अवधि स्पष्ट गर्नुपर्छ। ब्लू–चिप कम्पनीमा लगानी गर्दा धैर्य आवश्यक हुन्छ।
दीर्घकालीन सोचका साथ गरिएको लगानीले यस्ता कम्पनीहरूबाट स्थिर र अपेक्षित प्रतिफल प्राप्त हुने सम्भावना रहन्छ ।