अझै पनि धेरैलाई लाग्छ — सेयर बजारमा लगानी गर्न लाखौं रूपैयाँ चाहिन्छ।
तर होइन। थोरै रकममा पनि सेयर बजारमा लगानी गर्न सकिन्छ।
अहिले बजार घटेको छ। त्यसैले पनि कारोबार प्रक्रिया सिक्न चाहने वा प्रवेश गर्न चाहनेले सक्ने अवस्था छ।
दुई हजार रूपैयाँ मात्रै साथमा छ भने पनि अहिले लगानी सुरू गर्न सकिन्छ।
नेप्सेमा सूचीकृतमध्ये अहिले ११ वटा कम्पनीको सेयर मूल्य प्रतिकित्ता दुई सय रूपैयाँ आसपास छ।
यी कम्पनी हुन् — हिमाल दोलखा हाइड्रो, अप्पर तामाकोशी, शिवश्री हाइड्रो, कुमारी बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज, सिटिजन्स बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, घलेम्दी हाइड्रो र मोदी इनर्जी छन्।
यी कम्पनीको सेयर अहिले प्रतिकित्ता १९४ रूपैयाँदेखि २२३ रूपैयाँसम्म कारोबार भइरहेको छ।
अहिले सेयर बजारमा हुने नियमित कारोबारमा १० कित्ताभन्दा कम सेयर पनि किन्न पाइन्छ। तर त्यस्तो कारोबार निकै कम हुन्छ। न्यूनतम १० कित्तासम्मको सेयर कारोबार भने सजिलै हुन्छ।
सेयर किन्न बजार मूल्य मात्रै तिरेर पुग्दैन। लगानीकर्ताले ब्रोकर सेवा शुल्क, धितोपत्र बोर्ड शुल्क तथा क्लियरिङ शुल्क पनि तिर्नुपर्छ।
हाल दोस्रो बजारमा कारोबार रकमका आधारमा ब्रोकरले ०.२४ प्रतिशतदेखि ०.३६ प्रतिशतसम्म सेवा शुल्क लिन्छन्। त्यसैगरी कारोबार रकमको ०.०१५ प्रतिशत धितोपत्र बोर्ड शुल्क लाग्छ। यो शुल्क कारोबारको क्रममा नै ब्रोकरमार्फत संकलन गरिन्छ।
त्यस्तै प्रत्येक कारोबारमा सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई २५ रूपैयाँ क्लियरिङ (राफसाफ) शुल्क पनि तिर्नुपर्छ।
माथि उल्लिखित कम्पनीहरूमा कसैले लगानी गर्न चाह्यो भने, सबै शुल्क सबै जोड्दा १९७३ रूपैयाँदेखि २२३९ रूपैयाँ भए पुग्छ।
उदाहरणका लागि, अहिले बजारमा उच्चले कारोबार बढिरहेको र यो सूचीमा पनि रहेको लक्ष्मी सनराइज बैंकलाई लिऔं।
यसको प्रतिकित्ता सेयर २२१ रूपैयाँ छ। १० कित्ता सेयर किन्दा दुई हजार २१० रूपैयाँ हुन्छ। यसमा सेवा शुल्क, धितोपत्र बोर्ड शुल्क र क्लियरिङ शुल्क जोड्दा कुल लागत करिब २२१८ रूपैयाँ २८ पैसासम्म पर्न सक्छ।
थोरै रकम साथमा हुने नयाँ लगानीकर्ता पनि अहिले पुँजी बजारमा प्रवेश गर्न सक्ने अवसर बनेको छ। नियमित रूपमा सानो सानो रकम लगानी गर्दै दीर्घकालीन पोर्टफोलियो निर्माण गर्न चाहनेका लागि यो अवसर उपयोगी हुन सक्छ।
केही महिनादेखि नेप्से निरन्तर दबाबमा छ। बजार परिसूचक उच्च विन्दुबाट ओरालो लागिरहेको छ। दैनिक कारोबार रकम पनि पहिलेको तुलनामा घटेको देखिन्छ।
धेरै कम्पनीको सेयर मूल्य उल्लेखनीय रूपमा सस्तिएको छ। यही कारण अहिले २०० रूपैयाँ आसपासमा कारोबार हुने कम्पनीको संख्या पनि बढेको हो।
यो नयाँ लगानीकर्ताका लागि कम मूल्यमा सेयर खरिद गर्ने अवसर हुन सक्छ।
बजारबाटै नाफै हुन्छ भन्ने सुनिश्चितता भने हुँदैन।
बजार घट्दै गइरहेका बेला किनेको सेयरको भाउ घट्न सक्ने भएकाले छोटो अवधिमा नाफा कमाउने उद्देश्यले प्रवेश गर्ने लगानीकर्ताले सावधानी अपनाउनुपर्ने देखिन्छ।
बजारको सही दिशा कसैले पनि अनुमान गर्न सक्दैन। त्यसैले बजार ओरालो लागिरहेका बेला एकै पटक ठूलो रकम लगानी गर्नुको सट्टा चरणबद्ध रूपमा लगानी गर्नु उपयुक्त मानिन्छ।
त्यस्तै, सस्तो मूल्य देखेर मात्रै कुनै कम्पनीको सेयर खरिद गर्नु उचित हुँदैन। मूल्य कम हुनु मात्र राम्रो लगानीको आधार नहुन सक्छ। कम्पनीको नाफा, वित्तीय अवस्था, लाभांश क्षमता, भविष्यको व्यावसायिक सम्भावना र आफ्नो लगानी उद्देश्य मूल्यांकन गरेर मात्रै निर्णय गर्नु उपयुक्त हुन्छ।
यहाँ उल्लेख गरिएका कम्पनीहरू कम मूल्यमा कारोबार भएकाले उदाहरणका रूपमा मात्रै समावेश गरिएको हो।
|
कम्पनी
|
प्रतिकित्ता सेयर मूल्य
|
१० कित्ता सेयर किन्न चाहिने कुल रकम (रूपैयाँमा)
|
|
हिमाल दोलखा हाइड्रो
|
२०६.३
|
२०९५.७३
|
|
अप्पर तामाकोशी
|
१९४
|
१९७२.२७
|
|
शिवश्री हाइड्रो
|
२००
|
२०३२.५
|
|
कुमारी बैंक
|
२१४.९
|
२१८२.०५
|
|
हिमालयन बैंक
|
१९८.३
|
२०१५.४३
|
|
सिटिजन्स बैंक
|
१९९
|
२०२२.४६
|
|
प्रभु बैंक
|
१९४.४
|
१९७६.२६
|
|
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
|
१९५.९
|
१९९१.३४
|
|
लक्ष्मी सनराइज
|
२२१
|
२२१८.२८
|
|
घलेम्दी हाइड्रो
|
२२३
|
२२३८.३६
|
|
मोदी इनर्जी
|
२१८
|
२१८८.१७
|