नेपाल लाइफ इन्स्योरेन्स वित्तीय पारदर्शिता तथा संस्थागत सुशासनका क्षेत्रमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स–साफाद्वारा प्रदान गरिएको 'सर्टिफिकेट अफ मेरिट' प्राप्त गरेको छ।
यस्तो अवार्ड पाउनेमा नेपाल लाइफ इन्स्योरेन्स नेपालकै पहिलो जीवन बीमा कम्पनी बनेको कम्पनीको दाबी छ।
साफाद्वारा आयोजित प्रतिष्ठित 'साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२५' अन्तर्गत जीवन बीमा विधामा नेपाल लाइफले उक्त सम्मान प्राप्त गरेको हो।
बंगलादेशको ढाकास्थित रेडिसन ब्लु वाटर गार्डेनमा शनिबार आयोजित पुरस्कार वितरण समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
सम्मान ग्रहण गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी समारोहमा सहभागी भएका थिए।
यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट नेशनल बेस्ट प्रिजेन्टेड एनुअल (बिपिए) रिपोर्ट अवार्ड २०२५ अन्तर्गत 'गोल्ड अवार्ड' प्राप्त गरेको थियो।
अहिले कम्पनीले आइक्यानको सिफारिस र वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो।
साफाले दक्षिण एसियाली मुलुकका विभिन्न संस्थाको वार्षिक प्रतिवेदनमा वित्तीय सूचनाको गुणस्तर, विश्वसनीयता, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना लगायतका पक्षको मूल्यांकन गरी उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्दै आएको छ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सम्मान नेपाल लाइफको मात्र नभई समग्र नेपाली जीवन बीमा क्षेत्रकै लागि गौरवको विषय भएको बताए।
उनले भने, 'पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत सुशासनप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताको प्रतिफलका रूपमा हामीले यस उपलब्धिलाई लिएका छौं । यस सम्मानले हामीलाई थप जिम्मेवार, उत्तरदायी र उत्कृष्ट बन्न प्रेरित गरेको छ । यो हामी सबैको जीत हो। यस यात्रामा निरन्तर विश्वास र सहयोग प्रदान गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।'
विश्वास र उत्कृष्टताको २५ वर्षे यात्रामा नेपाल लाइफले हासिल गरेको यस अन्तर्राष्ट्रिय उपलब्धिले कम्पनीको वित्तीय पारदर्शिता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ।
कम्पनीले आगामी दिनमा पनि वित्तीय पारदर्शिता, संस्थागत सुशासन, वित्तीय सुदृढता तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नेपालको जीवन बीमा क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।