नेपाल बैंकर्स संघले बैंकर उपेन्द्र पौड्याललाई सम्मान गरेको छ।
संघले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र सुधारमा पुर्याएको योगदानको कदर गर्दै यो सम्मान दिएको जनाएको छ।
पौड्याल नेपाल बैंकर्स संघका अध्यक्ष, नबिल बैंकका अध्यक्ष, एनएमबि बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको एसिया प्रशान्त क्षेत्रका प्रतिनिधिसमेत हुन्।
सन् १९८० को दशकमा नेपालको बैंकिङ क्षेत्रमा उदारीकरण सुरु भएयता पौड्याल यस क्षेत्रमा सक्रिय छन्।
उनले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा १४ वर्ष र एनएमबि बैंकमा १७ वर्ष काम गरेका थिए।
एनएमबि बैंकमा उनले प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरेका थिए। त्यसपछि नबिल बैंकको सञ्चालक समितिमा आठ वर्ष काम गरेका उनले पाँच वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
सम्मान ग्रहणपछि बोल्दै पौड्यालले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि बैंकिङ क्षेत्रको रूपान्तरणमा योगदान गर्ने आफ्नो पुस्ताका सबै बैंकरको सम्मान भएको बताए।
‘यो सम्मानमा मेरो नाम जोडिए पनि म यसलाई नेपालको वित्तीय क्षेत्र उदारीकरणपछिका परिवर्तनकारी वर्षमा बैंकिङ पेसामा प्रवेश गरेको सम्पूर्ण पुस्ताको सम्मानका रूपमा लिन्छु,’ उनले भने।
पौड्यालले आफ्नो पुस्ताले बैंकिङ क्षेत्रमा व्यावसायिकता, आधुनिक प्रणाली र प्रविधि भित्र्याउन, सुशासन तथा जोखिम व्यवस्थापन सुदृढ गर्न र उद्यमीलाई वित्तीय सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले बैंकिङ क्षेत्रको वास्तविक उपलब्धि पद र संस्थाको आकारमा मात्र नभई आफूहरूले तयार पारेको नयाँ पुस्ताको नेतृत्वमा रहेको बताए।
‘नेतृत्वको वास्तविक मापन आफूले के हासिल गर्यो भन्नेमा होइन, आफू पछिको पुस्ताले के हासिल गर्छ भन्नेमा हुन्छ,’ उनले भने।
पौड्यालले बैंकिङ क्षेत्रको आगामी नेतृत्वले संस्थाको दीर्घकालीन हित, वित्तीय प्रणालीको स्थायित्व र अर्थतन्त्रको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए। वृद्धि र नाफासँगै अनुशासन, सुशासन, जोखिम व्यवस्थापन र विश्वासलाई पनि उत्तिकै महत्व दिनुपर्ने उनको भनाइ थियो।
उनले बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिको ज्ञान र अनुभवलाई नीति निर्माता, नियामक तथा संस्थाहरूले उपयोग गर्नुपर्नेमा पनि जोड दिए। अवकाशसँगै दशकौँको संस्थागत अनुभव हराउन नदिनुपर्ने उनको भनाइ थियो।
‘बैंकिङ क्षेत्र निर्माण गर्न दशकौँको सिकाइ, सफलता, गल्ती र अनुभव लागेको छ। यो सामूहिक ज्ञान राष्ट्रको महत्वपूर्ण सम्पत्ति हो,’ उनले भने।