सेयर बजारमा दुई रङको आफ्नै महत्त्व हुन्छ— रातो र हरियो।
रातोले बजार घटेको र हरियोले बढेको संकेत गर्छ। मैनबत्ती चित्र विश्लेषणमा पनि यी दुई रङको विशेष महत्त्व हुन्छ। मैनबत्तीको रङले निश्चित अवधिमा बजारमा खरिदकर्ता बलिया थिए कि बिक्रीकर्ता भन्ने संकेत दिन्छ।
मैनबत्ती हरियो हुँदा उक्त अवधिमा सुरूआती मूल्यभन्दा अन्तिम मूल्य माथि रहेको बुझिन्छ। रातो हुँदा अन्तिम मूल्य सुरूआती मूल्यभन्दा तल रहेको जनाउँछ।
त्यसैले मैनबत्तीको रङले बजारको तत्कालीन दिशा बुझ्न सहयोग गर्छ। रङ हेरेर मात्रै बजारको आगामी दिशा भने निर्धारण गर्न सकिँदैन।
अझ यस्तो चित्रमा यी दुई रङका मैनबत्तीको आकार, माथिल्लो र तल्लो धागो र अघिल्लो दिनको मैनबत्तीसँग बनेको सम्बन्धका आधारमा बजारको आगामी दिनको प्रवृत्ति विश्लेषण गर्न सकिन्छ।
अहिले बनेको रातो मैनबत्तीले के संकेत गर्यो त?

मंगलबार बजार खुल्दा अघिल्लो दिनको भन्दा निकै माथिबाट खुल्यो। सोमबार २५८५ मा बन्द भएको बजार मंगलबार २६७१ बाट खुल्यो। एकदेखि अर्कोबीच ८६ अंकको दुरीसहित बजार खुल्यो।
सरकारले सेयर बजार सुधारका २५ बुँदे कार्यक्रम घोषणा गरेसँगै लगानीकर्ताहरू उत्साहित देखिएका छन्।
सरकारले व्यक्तिगत लगानीकर्ताको सेयर कारोबारमा लाग्ने कर घटाउने, वार्षिक नाफाघाटाको आधारमा घाटा समायोजन गरेर मात्रै कर तिर्नुपर्ने व्यवस्था गर्ने भएको छ।
नयाँ आधारभूत सूचक तयार गर्ने, उच्च मूल्यका सेयरहरू टुक्र्याउने (स्प्लिट गर्ने), संस्थाहरूले आफैले आफ्नो सेयर किन्न सक्ने (सेयर बाइब्याक) गर्न सक्ने लगायतका विभिन्न सुधारका योजनाहरू अगाडि सारेको छ।
यही कारण पहिलो सत्रमा बजार उच्चले बढेको हो। तर कारोबारको केही समयपछि नै माथिल्लो विन्दुमा रहँदा लगानीकर्ताहरूले बिक्री चाप बढाउन थाले र २६१० सम्म आइपुग्यो।
लगानीकर्ताहरू संयम हुँदै गएपछि र खरिददारी बढ्न थालेसँगै बजार केही माथि उक्लियो र बजार बन्द हुँदा २६३३ मा अडियो। नेप्सेले अन्त्यमा ४८.५७ अंक जोड्यो।
बजार सुरू हुँदा माथिबाट खुलेको र त्यो विन्दुभन्दा तल नै रहेर बजार बन्द हुँदा यस्तो रातो मैनबत्ती आकृति बनेको हो।
यसले बजार समग्रमा ४८ अंक बढे पनि यसले सुरूआतको उत्साह टिकाइ राख्न सकेन। यसैको आधारमा अब बजार घट्छ भनेर निष्कर्ष निकाल्नु सही हुँदैन।
आगामी दिनमा बजार २५८५ देखि २६१० को क्षेत्र (अहिलेको दुई मैनबत्तीबीचको दुरी) आएर माथि जान्छ कि तल भन्नेमा आगामी दिशा निर्धारण हुन्छ।
यो क्षेत्रमा आएर नेप्से पुनः माथि फर्कियो भने यसले बलियो टेवाको काम गर्नेछ। तर यदि बजार सोभन्दा पनि तल झर्यो भने मंगलबार देखिएको बिक्री चाप बलियो भएको मान्न सकिन्छ। यसले बजार थप कमजोर हुन सक्ने संकेत गर्छ।
अब प्रश्न आउँछ, यस दिन लगानीकर्ताले धेरै किने कि बेचे त?
यस दिन बजारको एकुमुलेसन र डिस्ट्रिब्युसन सूचक (एडी) ले ६३ लाख बराबर डिस्ट्रिब्युसन भएको देखाएको छ।
तर एक महिनामा यस्तो एडी सूचक ४४ लाखले धनात्मक छ। यो अवधिमा चार करोड ९४ लाख डिस्ट्रिब्युसन हुँदा ५ करोड ३८ लाख एकुमुलेसन भएको छ।
मंगलबार बजारबाट पैसा केही बाहिरिए पनि एक महिनायता बजारमा पैसा भित्रिने क्रम नै रहेको संकेत गरिरहेको छ।