वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा सुधार देखाएका छन्।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये अधिकांशको नाफा बढेको छ।
केही बैंक भने गत वर्षको तुलनामा पछि परेका छन्।
पहिलो त्रैमासमा २० बैंकले कुल २० अर्ब २० करोड ३० लाख रूपैयाँ खुद नाफा कमाएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १४ अर्ब ३१ करोड २ लाख रूपैयाँ थियो।
यसरी बैंकहरूको सामूहिक नाफा ५ अर्ब ८९ करोड २८ लाख रूपैयाँ अर्थात् ४१.२ प्रतिशतले बढेको हो।
विशेष खराव कर्जाको असुलीको प्रभाव नाफामा देखिएका बैंकका अधिकारीहरूले बताएका छन्।
केही बैंकको नाफामा आएको उच्च वृद्धिले ठूलो योगदान गरेको छ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा १८०.२ प्रतिशतले बढेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १६२.२ प्रतिशत र सिद्धार्थ बैंकको १६२.८ प्रतिशतले बढेको छ।
सानिमा, कृषि विकास र लक्ष्मी सनराइज बैंकको नाफामा पनि उल्लेख्य वृद्धि भएको छ।
नाफाको आकारका आधारमा नबिल बैंक पहिलो स्थानमा छ।
बैंकले पहिलो तीन महिनामा २ अर्ब ५५ करोड ५१ लाख रूपैयाँ नाफा कमाएको छ।
गत वर्षको सोही अवधिको तुलनामा यो ४५.४ प्रतिशत बढी हो। गत वर्ष पहिलो स्थानमा रहेको ग्लोबल आइएमई बैंक यसपटक दोस्रो भएको छ।
यसको नाफा २४.५ प्रतिशतले बढेर २ अर्ब ३१ करोड ३८ लाख रूपैयाँ पुगेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा उक्लिएको छ। बैंकले १ अर्ब ६४ करोड ९८ लाख रूपैयाँ नाफा कमाएको छ।
गत वर्ष पहिलो त्रैमासमा यसको नाफा ५८ करोड ८७ लाख रूपैयाँ थियो।
यसरी बैंकको नाफा १ अर्ब ६ करोड ११ लाख रूपैयाँले बढेको हो। रकमका आधारमा सबैभन्दा धेरै नाफा बढाउने बैंक पनि यही हो।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख रूपैयाँ नाफा कमाएको छ।
यसको नाफा १६२.२ प्रतिशतले बढेको हो।
सिद्धार्थ बैंकको नाफा १६२.८ प्रतिशतले बढेर ८५ करोड १५ लाख रूपैयाँ पुगेको छ।
सानिमा बैंकको नाफा १३१.१ प्रतिशतले बढेर १ अर्ब ५ करोड १४ लाख रूपैयाँ पुगेको छ।
कृषि विकास बैंकको नाफा ९०.४ प्रतिशतले बढेर १ अर्ब ९ करोड २३ लाख रूपैयाँ पुगेको छ।
लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढेर ६५ करोड ३३ लाख रूपैयाँ पुगेको छ।
प्रभु बैंकको ७७ प्रतिशतले बढेर ६४ करोड ७४ लाख र नेपाल बैंकको ४१.५ प्रतिशतले बढेर ८३ करोड २१ लाख रूपैयाँ पुगेको छ।
माछापुच्छ्रे बैंकको नाफा पनि ३१.९ प्रतिशतले बढेर ५५ करोड ११ लाख रूपैयाँ पुगेको छ।
पहिलो त्रैमासमै एक अर्ब रूपैयाँभन्दा बढी नाफा कमाउने बैंकको संख्या १० पुगेको छ।
गत वर्ष यस्तो नाफा कमाउने बैंक ६ वटा मात्रै थिए। यस वर्ष राष्ट्रिय वाणिज्य, नेपाल इन्भेस्टमेन्ट मेगा, कृषि विकास र सानिमा बैंक थपिएका हुन्।
तर, सबै बैंकको नाफा बढेको छैन।
२० मध्ये चार बैंकको नाफा घटेको छ। एनएमबी बैंकको नाफा सबैभन्दा धेरै ११ प्रतिशतले घटेर १ अर्ब १६ करोड ४२ लाख रूपैयाँमा सीमित भएको छ।
प्राइम कमर्सियल बैंकको नाफा ५.६ प्रतिशतले घटेर १ अर्ब १८ करोड ७६ लाख रूपैयाँ भएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.२ प्रतिशत र हिमालयन बैंकको २.६ प्रतिशतले घटेको छ।
सिटिजन्स बैंक भने घाटाबाट नाफामा फर्किएको छ। गत वर्ष पहिलो त्रैमासमा २२ करोड ४ लाख रूपैयाँ घाटामा रहेको बैंकले यस वर्ष १० करोड २७ लाख रूपैयाँ नाफा कमाएको छ।
यसरी बैंकको वित्तीय नतिजामा ३२ करोड ३१ लाख रूपैयाँको सुधार आएको छ।
तर, नाफाको आकारका आधारमा यो बैंक २० वटै बैंकमध्ये अन्तिम स्थानमा छ।
एनआइसी एसिया बैंकको नाफा भने सामान्य बढेको छ।
बैंकले १२ करोड ७४ लाख रूपैयाँ नाफा कमाएको छ। यो गत वर्षको तुलनामा ४.३ प्रतिशत मात्रै बढी हो।
नाफाको आकारका आधारमा बैंक १९औं स्थानमा छ।
कुमारी बैंकको नाफा १.७ प्रतिशत र एभरेस्ट बैंकको ६.२ प्रतिशत मात्रै बढेको छ।