आज (बुधबार) बसेको मन्त्रिपरिषदको बैठकले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर घटाएको छ।
अब एक वर्षभन्दा कम अवधिमै बेच्ने व्यक्तिगत लगानीकर्तालाई नाफामा ३.५ प्रतिशत र सो समयपछि बेच्नेलाई ५ प्रतिशतमा कर लाग्ने सरकारका प्रवक्ता तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए।
यो अग्रिम करको रूपमा लाग्ने भएको हो। सरकारले यसअघि लगानीकर्ताहरूको वार्षिक नाफा घाटाको आधारमा कर समायोजन गर्न पाउने व्यवस्था गर्ने समेत उल्लेख गरेको छ।
अर्थ मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको २१ बुँदे कार्य योजनामा लाभकर घटाउने बताएको थियो।
यसै अनुसार मन्त्रिपरिषद्को बैठकले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाएको हो।
सरकारले मन्त्रिपरिषदको बैठकबाट गरेको यो निर्णय राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनमा आउनेछ।
सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को बजेटमा सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि गरेको थियो।
सेयर किनेर एक वर्षभन्दा कम अवधिमै बेच्नेलाई १० प्रतिशत र एक वर्ष कटेपछि बिक्री गर्नेलाई ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गर्यो।
त्यसअघि एक वर्षभन्दा कम अवधिमै बेच्नेलाई यस्तो दर ५ प्रतिशत र सो समयपछि बेच्नेलाई ७.५ प्रतिशत कर लाग्दै थियो।