हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रूपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रूपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १६ करोड ९० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
सोमध्ये १० लाख १४ हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुबै गाउँपालिकाका अन्य वडाहरुका स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ करोड २२ लाख ५० हजार रूपैयाँ बराबरको प्रति सेयर १०० रूपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा कात्तिक २५ गते हुनेछ भने ढिलोमा मंसिर १० गते हुनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कात्तिक १६ गतेसम्म आवेदन दिन सक्नेछन् सो अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि कात्तिक २५ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ' डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा कार्यालय तथा लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।