चालु आर्थिक वर्ष २०८३-८४ को दुई महिना (साउनदेखि असोज) सम्ममा कुल चार खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
गत आर्थिक वर्ष २०८३-८४ को यही अवधिमा तीन खर्ब ५२ अर्ब रेमिटेन्स भित्रिएको थियो। २४ प्रतिशतले रेमिटेन्स बढी भित्रिएको हो।
मासिक करिब दुई खर्ब २१ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो।
करिब ३८ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
पछिल्लो ६ महिनादेखि निरन्तर मासिक दुई खर्ब रूपैयाँ रेमिटेन्स भित्रिरहेको छ।
तुलनात्मक रूपमा दसैं तिहारजस्ता चाडपर्व नजिकिँदा समेत रेमिटेन्स भित्रिने दर बढ्ने गर्छ।
यो अवधिमा एक अर्ब ५१ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा दुई अर्ब ४१ करोड रूपैयाँ बाहिरिएको थियो।
दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या भने ४.११ प्रतिशतले घटेको छ।
यसअघि एक लाख ३६ हजार जनाले नयाँ र पुन: श्रम स्वीकृति लिएकोमा यस वर्ष यो अवधिमा एक लाख ३० हजारले यस्तो स्वीकृति लिएका छन्।
रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।
विदेशी मुद्राको सञ्चिति ४० खर्ब ६५ अर्ब रूपैयाँ पुगेको छ।
हालको सञ्चिति ऐतिहासिक उच्च हो। डलरको आधारमा पनि यस्तो सञ्चिति हालसम्मकै उच्च छ। यस्तो सञ्चिति २६ अर्ब ४८ करोड डलर छ।
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १७ महिना २४ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।
यो पर्याप्तता सूचक उच्च हो। नेपालमा सात महिनासम्मको आयात धान्ने सञ्चिति भए पर्याप्त भएको मानिन्छ।
तर, पछिल्लो समय यो सञ्चिति सूचक घट्ने क्रममा छ। गत असारमा १९ महिनाभन्दा बढीको आयात धान्ने अवस्था रहेकोमा अहिले केही घटेको हो।
दसैं तिहार लगायतका चाडपर्वमा आयात पनि बढ्ने भएकोले पनि यस्तो क्षमता केही घटेको देखिन्छ।
चालु आर्थिक वर्षको यो दुई महिनामा मात्रै आयात अघिल्लो पटकको यही अवधिभन्दा ३१.६ प्रतिशतले बढेर चार खर्ब एक अर्ब रूपैयाँ पुगेको छ।
त्यसअघि तीन खर्ब पाँच अर्ब रूपैयाँको आयात भएको थियो।