राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३-८४ (साउनदेखि भदौसम्ममा) वार्षिक औसत मूल्य वृद्धि ६.१५ प्रतिशत छ।
गत आर्थिक वर्षको यो अवधिमा मूल्य वृद्धि वार्षिक औसत १.७८ प्रतिशत थियो।
यस वर्ष राष्ट्र बैंकले औसत ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ।
तर, वर्ष सुरूदेखि नै यो चुनौतीको रूपमा देखिएको छ। यस साउनमा ५.९६ प्रतिशत मूल्यवृद्धि रहेकोमा भदौमा ६.३४ प्रतिशत मूल्य वृद्धि देखिएको छ।
यो अवधिमा घ्यु तेलमा सबैभन्दा धेरै १६.३८ प्रतिशत, फलफूलमा १५.९९ प्रतिशत, चिनी तथा यस सम्बन्धित वस्तुमा १२.१४ प्रतिशत, माछामासुमा ७.३४ प्रतिशत, तरकारीमा ७.०७ प्रतिशत र मरमसलाको भाउ ६.७१ प्रतिशतले बढेको छ।
गैर खाद्यान्नमा यातायातमा १२.७७ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ८.८३ प्रतिशत, कपडा तथा जुत्ता चप्पलमा ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ६.०१ प्रतिशत र सुर्तीजन्यमा ५.४५ प्रतिशतले मूल्यवृद्धि भएको छ।