बुधबारदेखि नेपाल उद्योग परिसंघले पूर्वाधार सम्मेलनको आयोजना गर्दै छ। पूर्वाधारमा विदेशी तथा स्वदेशी लगानी जुटाउने भन्दै निजी क्षेत्रको संस्थाले आयोजना गर्न लागेको यो सम्मेलनमा सरकारको पनि साझेदारी हुने भएको छ।
एकातिर लगानी आकर्षित गर्न सम्मेलन आयोजना गर्नै लाग्दा २ हप्तादेखि एउटा उद्योग ठप्प भएको छ। त्यो पनि बजारमा प्रतिस्पर्धा गर्न नसकेर वा गुणस्तरको कारबाहीले होइन। असुरक्षाको कारण देखाउँदै तनहुँको आबुखैरेनीमा रहेको अरनिको सिमेन्ट फ्याक्ट्री बन्द भएको हो।
एड्भान्स्ड सिमेन्ट उत्पादन गर्ने यो फ्याक्ट्री २ हप्तादेखि बन्द भएपनि खुलाउनका लागि कसैले पनि पहल गरेका छैनन्।
उक्त सिमेन्ट फ्याक्ट्रीका मानव संसाधन विभाग प्रमुख पंकज मल्लिकले भदौ ८ गतेदेखि फ्याक्ट्री पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए। कर्मचारीहरुले सामूहिक राजिनामा दिएकाले फ्याक्ट्री बन्द गरिएको उनको भनाइ छ।
उनका अनुसार पहिलेदेखि नै केही स्थानीयहरुले चन्दा तथा अन्य सहयोगको नाममा आतंकित पार्ने गरेका थिए। तर व्यवस्थापनले दिन नमानेपछि फ्याक्ट्रीको क्यान्टिनमै आएर कामदारमाथि नै डर धाक देखाउने गरेका थिए।
यस्तो प्रक्रिया लामो समयसम्म चलेपछि त्यहाँ कार्यरत प्राविधिक तथा अन्य कर्मचारीहरुले असुरक्षा भएको भन्दै सामूहिक राजिनामा दिएको उनको भनाइ छ।
'उद्योग हाताभित्र अनुमित बिना स्थानीय केही व्यक्तीहरु आएर व्यवस्थापनका कर्मचारीलाई डर धाक धम्कीमात्र होइन पिट्नेसमेतका काम भए,चन्दा माग्नेदेखि आपूर्तिमै अवरोध भएको अवस्थामा कर्मचारीहरुको राजिनामा आयो, हामीले राजिनामा फिर्ता लिएर काममा फर्कन आग्रह पनि गरेका हौ तर उहाँहरुले मान्नुभएन। अन्तत:हामिले राजिनमा स्वीकृत गरेर उद्योग नै अर्को सूचना नभएसम्मका लागि बन्द गरिदिएका छौ' मल्लिकले सेतोपाटीसँग भने।
उद्योगमा असुरिक्षत वातावरण भएपछि चलानैनसक्ने अवस्था आएको उनको भनाइ छ।
उक्त उद्योगमा २८ जना कर्मचारी तथा २० जना ज्यालादारीमा काम गर्नेहरु थिए।
असुरिक्षत वातावरण भएपछि प्रहरी तथा स्थानीय सरकारलाई खबर गरिए पनि सुरक्षाको कुनै ग्यारेन्टी नभएपछि उद्योग बन्द गर्ने निष्कर्षमा पुगेको मल्लिकले जानकारी दिए।
'हामीले यसबारेमा प्रहरीलाई खबर पनि गरेका थियौ। उहाँहरुले सहयोग गर्नुभएको पनि हो। तर २४ घण्टा सुरक्षा उहाँहरुले पनि दिन सक्ने कुरा भएन। यसबारेमा स्थानीय सरकारलाई पनि हामिले जानकारी गराएका छौ' उनले भने।
सुरक्षाको ग्यारेन्टी भएमा फ्याक्ट्री पुन: सञ्चालन गरिने मल्लिकले जानकारी दिए। तर यसका लागि कर्मचारीको भर्ना प्रक्रिया भने नयाँ हुने छ।
एड्भान्स्ड ग्रुपले बाराको जितपुर, रोल्पा र आबुखैरेनीमा फ्याक्ट्री राखेको छ। आबुखैरेनीबाट महिनामा २ लाख बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो।