बजारमा सिमेन्ट र डण्डीको मूल्य पछिल्ला केही दिनमा बढेको छ।
इसराइल–इरानबीचको द्वन्द्वका कारण यस्तो वृद्धि भएको हो।
तीन/चार दिनदेखि बजारमा सिमेन्ट तथा डण्डीको मूल्य बढेको घर बनाउने ठेकेदार सविन मगरले जानकारी दिए।
'सिमेन्ट र डण्डी दुबै १० रूपैयाँले बढेको छ,' उनले भने।
उनका अनुसार तीन/चार दिनअघि सिमेन्टको मूल्य कम थियो।
त्योबेला ओपिसी सिमेन्ट प्रतिबोरा ६८० रूपैयाँ र पिपिसी सिमेन्ट ७८० रूपैयाँमा पाइन्थ्यो।
अहिले भने दुवै प्रकारको सिमेन्टमा प्रतिबोरा १० रूपैयाँ बढेर क्रमशः ६९० र ७९० रूपैयाँ पुगेको छ।
बजारमा डण्डीको मूल्य पनि बढेको छ। पहिले प्रतिकिलो ९५ रूपैयाँमा पाइने डण्डी अहिले १० रूपैयाँ बढेर १०५ रूपैयाँ पुगेको सविनले जानकारी दिए।
'अहिले मूल्य घट्ने सम्भावना देखिँदैन। इसराइल–इरानबीचको द्वन्द्व अझ बढ्दै गयो भने मूल्य अझै बढ्न सक्छ,' उनले भने।
हामीकहाँ निर्माणमा ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट प्रयोग हुन्छन्।
छिटो सुक्ने भएकाले निर्माण चाँडै निर्माण सुक्नुपर्ने वा छिटो फर्मा खोल्नुपर्ने ठाउँमा ओपिसी प्रयोग गरिन्छ।
लामो समय फर्मा नखोली राख्न सकिने ढलानमा पिपिसी प्रयोग गर्न सकिन्छ।