उद्योग विभागले आत्मनिर्भर तथा आत्मनिर्भरतर्फ उन्मुख भएका नेपाली उद्योगहरूको सूची बनाउन थालेको छ। त्यस्ता उद्योगहरूको पहिचान गरी थप सुविधा दिन उद्योगहरूको सूची बनाउन थालेको हो।
सरकारले नेपाल धेरै उत्पादनमा आत्मनिर्भर भइसकेको बताएपनि यसको एकिन तथ्याङ्क निजी तथा सरकारी कुनै पक्षसँग पनि नभएपछि यसको अध्ययनमा विभाग जुटेको छ।
चालू आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्रीले आगामी वर्षमा दुई दर्जनभन्दा बढी वस्तुमा आत्मनिर्भर हुने गरी स्वदेशी उद्योगको विकास, विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहन गर्न विशेष सुविधा दिने बताएका थिए।
सोही अनुरूप उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, महिला उद्यमी महासङ्घ तथा उद्योग विभागको सहकार्यमा आत्मनिर्भर भएका तथा हुनसक्ने उद्योगको अध्ययन गर्न थालिएको उद्योग विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले बताए।
सिमेन्ट, फलाम तथा रड, जस्तापाता, जुत्ता, चिनी, पाइप तथा फिटिङ्स, सिटामोल, जीवनजल लगायतका औषधि, कुखुराको मासु, अन्डा, उनीका उत्पादन, पश्मिना लगायतका वस्तुमा नेपाल आत्मनिर्भर भएको सरकारी तथा निजी क्षेत्रले बताउँदै आएको छ।
महानिर्देशक सिटौलाकाअनुसार आत्मनिर्भर भनिएका उद्योगको वार्षिक उत्पादन, अर्थतन्त्रमा योगदान रोजगारी, समस्या तथा समाधानको उपायसहितको प्रतिवेदन तयार पारिनेछ।
उक्त प्रतिवेदन उद्योग मन्त्रालयमा छलफल गरी अन्तिम प्रतिवेदन बनाएर अर्थमा बुझाइने छ।
‘आत्मनिर्भर हुनेसक्ने वस्तुलाई निर्यातमुखी बनाउन अध्ययन थालिएको हो। त्यस्ता उद्योगलाई के–कस्ता सुविधा दिने भन्नेकुरा प्रतिवेदनमै उल्लेख हुनेछ,’ महानिर्देशक सिटौलाले भने।