मयुर यातायात प्रालिले सोमबारदेखि काठमाडौं उपत्यकामा बस चलाउन थालेको छ।
हाल ६ ओटा बसबाट सेवा सुरू गरिएको मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए।
‘लामो समयदेखि ग्यारेजमा थन्किएको भएर सबै गाडी एकैपटक निकाल्न सकिएन। अहिले ६ ओटा गाटी सञ्चालनमा छन्। पर्सिबाट २ भन्दा धेरै रूटमा गुड्छन्,’ उनले सेतोपाटीसँग भने।
गाडीको ब्याट्रीमा केही समस्या भएको र मेकानिक्स थोरैमात्रै भएको कारण केही ढिलाइ भएको उनले जानकारी दिए।
हाल दुइटा रूटमा बस चलाइएको उनले बताए।
‘हामीले काठमाडौं-पनौती रूटमा २ ओटा र रिङरोडमा ४ ओटा गाडी सञ्चालन गरेका छौ। पर्सिबाट यातायात व्यवस्था विभागसँग छलफल गरेर २०-२२ वटा थप्ने तयारी छ,’ उनले भने।
सरकारले काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला सार्वजनिक बस चलाउन नदिने भनेको छ।
काठमाडौं र काभ्रेका सिडिओ कार्यालयसँग समन्वय गरेर धुलिखेलसम्म काठमाडौंबाट बस जाने र त्यहाँबाट पनौतीसम्म अर्को बसले लैजाने व्यवस्था मिलाइएको उनले बताए।
गाडीमा सरकारले निर्धारण गरेको मापदण्ड अपनाइने उनले स्पष्ट पारे।
‘चालकलाई पन्जा, मास्क, सेनिटाइजरर सहचालकलाई थप फेसशिल्ड अनिवार्य गरेका छौं,’ उनले भने,‘त्यसैगरी गाडीमा सामाजिक दूरी र यात्रुलाई मास्क अनिवार्य गरेका छौं।
साझा यातायातले पनि केही दिनभित्रै बस चलाउने तयारी गरेको छ। यही हप्ताबाट केही गाडी सञ्चालन गरिने साझा यातायातले जनाएको छ।
सरकारले असार २६ गतेदेखि जिल्लाभित्र र काठमाडौंको हकमा उपत्यकाभित्र छोटा दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो। केही यातायात व्यवसायी भने विभिन्न माग राख्दै सेवा दिन नसक्ने बताउँदै आएका छन्।