कोशी प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०८२–८३ को वार्षिक बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा प्रदेश स्थापना भएयताका मुख्य आर्थिक उपलब्धिहरु समावेश गरिएको छ।
नयाँ बजेट अनुसार कोशी प्रदेशको औसत आर्थिक वृद्धि ४ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/०७७ मा कुल गार्हस्थ्य उत्पादन ५ खर्ब ९६ अर्ब रहेको थियो भने आर्थिक वर्ष २०८१/८२ सम्म ९ खर्ब ७० अर्ब ७४ करोड पुग्ने अनुमान सरकारको छ।
‘आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ं.०५ प्रतिशत रहेको छ भने सेवा र उद्योग क्षेत्रको योगदान क्रमशः ४९ प्रतिशत र १६.०५ प्रतिशत रहने अनुमान छ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘ आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय अमेरिकी डलर १०२४ रहेकोमा आर्थिक वर्ष २०८१/८२ सम्म अमेरिकी डलर १४०१ पुगेको छ।’
सरकारका अनुसार प्रदेशमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या राष्ट्रिय औसतभन्दा पनि कम छ। अहिले राष्ट्रिय औसत २०.२७ छ भने प्रदेशमा १७.२ प्रतिशत रहेको सरकारले उल्लेख गरेको छ।
प्रदेशमा धनी र गरिबबीचको खाडल मापन गर्ने सम्पत्तिमा आधारित गिनी गुणक आर्थिक वर्ष २०७५/०७६ मा ०.३५ रहेकोमा आर्थिक वर्ष २०८१/०८२ सम्ममा ०.३० पुगेको छ। यसले कोशी प्रदेशमा आय असमानता क्रमशःकम हुँदै गएको सङ्केत गरेको सरकारको भनाइ छ।
आर्थिक वर्ष २०७५/७६ मा जलविद्युत उत्पादन १६२.३ मेगावाट रहेको र आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म ६३१ मेगावाट पुगेको सरकारले बजेटमा उल्लेख गरेको छ।
आर्थिक वर्ष २०७४/७५ मा वन क्षेत्रले ओगटेको क्षेत्रफल ४४.७४ प्रतिशत रहेको र हाल ४६.२४ प्रतिशत वन र ४.२४ प्रतिशत बुट्यानसहित कुल ५०.४८ प्रतिशत पुगेको बजेट वक्तव्यमा उल्लेख छ।
प्रदेश सरकार स्थापना भएदेखि हालसम्म कालोपत्रे सडक ६१२.२३ किलोमिटर, ग्राभेल सडक १४२०.५७ किमी, कच्ची १२००.९३ किमी, मर्मत १११९ किमी, आरसिसी र पिसिसी २४.८५ किमी, सोलिङ ९३.०३ किमी, ट्रयाक ओपन ३९९.८५ किमि, सडक पुल ९३ वटा र झोलुङ्गे पुल २२४ वटा निर्माण सम्पन्न भएको छ।
त्यसैगरी जनता आवास कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ देखि छनौट भएका ८ हजार ६६९ लाभग्राहीमध्ये २०८१ चैत्रसम्म ७ हजार २८४ लाभग्राहीको आवास निर्माण सम्पन्न भएको बजेटमा उल्लेख छ।
कोशी प्रदेशको ३ लाख ५९ हजार ९६० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको दाबी गर्दै सरकारले भनेको छ ‘ प्रदेशको कुल कृषियोग्य जमिनमध्ये ३७.३ प्रतिशतमा वर्षैभरि सिँचाइ सुविधा पुगेको छ।’
२०८१ चैतसम्म कोशी प्रदेशका ९३.६ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सुविधा पुगेको छ भने ९७.८३ प्रतिशत जनसंख्यामा आधारभूत सरसफाइ सुविधा पुगेको बजेटमा उल्लेख छ।
कोशी प्रदेशको कुल जनसंख्यामध्ये ९९.३ प्रतिशतमा विद्युतको पहुँच पुगेको, सबै तहका अस्पताल २२५ र आधारभूत स्वास्थ्य सेवा केन्द्र १४५७ गरी जम्मा १६३५ वटा स्वास्थ्य संस्था रहेको सरकारले जानकारी दिएको छ।
कोशी प्रदेशका १४ वटै जिल्लाहरु पूर्ण खोप सुनिश्चित भएको, २०८१ चैतसम्ममा कोशी प्रदेशका २६ लाख १२ हजार ७९६ जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएको, २०८१ चैत्र मसान्तसम्म ठूला, मझौला र साना गरी कुल ८५ हजार ९ सय १९ उद्योग दर्ता भएको सरकारले बताएको छ।
त्यसैगरी प्रदेश सरकारअन्तर्गत पर्यटन विकास आयोजनाबाट आर्थिक वर्ष द्दण्ठछरठट २०७५/७६ देखि २०८०/८१ सम्म जम्मा १ हजार ७४ वटा पर्यटकीय पूर्वाधार निर्माण सम्पन्न भएको छ भने ९६ वटा आयोजनाको विस्तृत अध्ययन गरिएको बजेटमा उल्लेख छ।
प्रदेशको खुद विद्यालय भर्ना दर राष्ट्रिय औसतभन्दा बढी रहेको सरकारको भनाइ छ।
कोशी प्रदेशको भर्नादर कक्षा १–५ को ९४.६ प्रतिशत र कक्षा ११–१२ को ३८.३ प्रतिशत रहेको उल्लेख छ।
कोशी प्रदेशमा विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१९ वटा क्याम्पस तथा उच्च शिक्षा प्रदान गर्ने संस्था र मनमोहन प्राविधिक विश्वविद्यालय सञ्चालनमा रहेका छन्।
कोशी प्रदेशका १३७ स्थानीय तहका २७४ वटा विद्यालयमा बाल विवाह विरुद्ध सचेतनाका लागि किशोरी सशक्तीकरण कार्यक्रम सञ्चालनमा रहेको उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाका शाखा सञ्जालमा भएको विस्तारका कारण बैंकिङ सेवामा जनताको पहुँच क्रमशः बढ्दै गएको उल्लेख छ। मोबाइल बैंकिङ सेवा लिने ग्राहकको संख्या आर्थिक वर्ष २०७६/७७ मा १६ लाख ११ हजार रहेका र क्रमशः वृद्धि हुँदै २०८१/८२ को चैतसम्म ३८ लाख ५८ हजार पुगेको उल्लेख छ।
प्रदेश स्थापना भएदेखि २०८१ चैत्र मसान्तसम्म जम्मा ६७ वटा ऐन, ३३ वटा नियमावली, छ वटा गठन आदेश, ३ वटा नीति र ८८ वटा अन्य कानुन तर्जुमा भएको बजेट वक्तव्यमा उल्लेख छ।